एनआरएन अमेरिकामा १०३ पदमा उम्मेद्वारी नै परेन !

एनआरएन अमेरिकाकामा २५१ पदमा निर्वाचन हुन लागेकोमा यसपटक १०३ पदमा त कुनै उम्मेद्वारी नै परेन। यो भनेको ४१ प्रतिशत पदमा उम्मेद्वारी नै नपर्नु हो।

एनआरएन अमेरिकाको निर्वाचन आयोगले उपलव्ध गराएको तथ्यांकअनुसार अमेरिकाका विभिन्न २० च्याप्टरका ७ उपसभापति, ७ सचिव, ८ कोषाध्यक्ष, १३ युवा संयोजक, ११ महिला संयोजक र ५७ बोर्ड अफ डाइरेक्टरमा एकजनाले पनि उम्मेद्वारी दिएनन्। चार स्टेट च्याप्टरमा त सभापतिका लागि मात्र उम्मेद्वारी परेको छ भने अन्य सबै पदका लागि कुनै उम्मेद्वारी नै परेको छैन। यसरी सभापतिका लागि मात्र उम्मेद्वारी पर्नेमा आइवा, वासिङ्टन, कान्सास र कनेक्टिकट रहेका छन्। बाँकि तीनमा एक एकजनाको उम्मेद्वारी परे पनि कनेक्टिकटमा भने सभापतिका लागि मात्र दुईजनाले उम्मेद्वारी दिएका छन्। 

स्टेट च्याप्टरमा पूरै उम्मेद्वारी पर्ने पाँच च्याप्टर मात्र रहेका छन्। यी च्याप्टरहरूमा कोलोराडो, मासाचुसेट्स, मेरिल्याण्ड, न्युयोर्क र ओरेगन रहेका छन्। ओरेगन र कोलोराडोले सबै पदमा उम्मेद्वारी पारेर निर्विरोध बनाएका छन् भने मासाचुसेट्स, मेरिल्याण्ड र न्युयोर्कमा चुनाव हुने भएको छ।  

यसपटक चुनाव नहुने अन्य स्टेट च्याप्टरहरूमा क्यालिफोर्निया, इण्डियाना, आइओवा,कान्सास, न्य ह्याम्पसायर, न्यु मेक्सिको र वासिङ्टन रहेका छन्। अन्य स्टेटमा कुनै पदमा चुनाव हुनेछ भने कुनै पदमा निर्विरोध पनि हुने देखिन्छ।

समग्रमा अमेरिकाको एनआरएन भनेको केही सिमित राज्यमा मात्र साँघुरिदै गएको जस्तो देखिएको छ। आइसीसी मेम्बर, राष्ट्रिय संयोजन समिति र नेपालीको घना बस्ती भएका केही राज्यमा मात्र चुनाव हुनु र अधिकांश च्याप्टरमा उम्मेद्वार पनि नपुग्नुले एनआरएन अमेरिकाप्रति वितृष्णा जागेको देखिन्छ। 

एनआरएन अमेरिकामा ४१ प्रतिशत पदमा उम्मेद्वारी नै नपर्नु भनेको व्यक्ति नभएर हैन, यसमा जाने चाहना नभएर हो वा बहिष्कार गरेर पनि हुन सक्छ। झट्ट हेर्दा यसमा केही नदेखिए पनि यसको बहुआयामिक अर्थ हुन सक्छ।

 

 

प्रकाशित मिति: : 2019-04-22 05:44:07

प्रतिकृया दिनुहोस्