टोरन्टोमा निस्किदैछ नेपालीको र्याली

फोटो: बीएल

आप्रवासीको बाक्लो जमघट र ओहोरदोहोर हुने टोरन्टोस्थित डाउनटाउनमा २५६३औं बुद्ध जयन्तीको अवसर पारेर नेपाली समुदायको र्याली निस्किने भएको छ।विगत बर्षजस्तै ‘क्यानडामा नेपाल प्रवर्द्धन गर्ने’ उद्देश्यले क्यानडाको सबैभन्दा ठूलो शहर टोरन्टोको केन्द्रविन्दुमा नेपाली समुदायको र्याली निस्किन लागेको हो। 

र्याली आगामी मे १९ मा टोरन्टोस्थित डाउनटाउन (योङ एण्ड डन्डास) मा निकाल्ने तयारी भइरहेको कन्सर्न नेपाल क्यानडाका संयोजक तुलसी धरेलले बताए।र्यालीमा चन्द्र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराई नेपालीहरु मौलिक पोशाकमा सहभागी हुनेछन्।

‘क्यानडामा नेपाल चिनाउने र प्रवर्द्धन  गर्ने उद्देश्यले विगत बर्षजस्तै यसपल्ट पनि बुद्ध जयन्ती अवसरमा हामी र्याली निकाल्दैछौं’ संयोजक धरेलले भने, ‘र्यालीमा नेपाली संस्थाका प्रतिनिधि र क्यानडामा बस्ने नेपालीको सहभागिता हुनेछ।’ विगत बर्षका र्यालीमा उल्लेख्य संख्यामा नेपालीको सहभागिता हुन्थ्यो।

सन् २००८ देखि बुद्ध जयन्ती अवसर पारेर टोरन्टोमा नेपाली समुदायले यस्तो र्याली निकाल्न थालेको उल्लेख गर्दै संयोजक धरेलले २०१२ देखि एकै ठाउ 'अर्थात् डाउनटाउनबाटै र्याली निकाल्नेक्रम निरन्तर रहेको बताए।डाउनटाउनबाट निस्कने र्यालीमा सहभागी नेपालीले करिव चार किलोमिटर हिँडेर शहर परिक्रमा गर्नेछन्।'

स्थानीय सेन्टेनियल कलेजमा प्राध्यापकसमेत रहेका संयोजक धरेलका अनुसार, र्याली नाथन फिलिप स्क्वायरस्थित सिटी हलमा पुगेर समापन हुनेछ।

‘यहाँ छरिएर रहेका नेपालीलाई एकै ठाउँ उपस्थित गराउने र उनीहरुमार्फत् क्यानडामा नेपाल प्रवर्द्धन गर्ने मुख्य उद्देश्य हो’ र्यालीको महत्वबारे संयोजक धरेलले थपे, ‘टोरन्टोको सडकमा नेपाली र्यालीमा हिँडिरहँदा नियाल्ने धेरै हुन्छन्।’

संसारका सबैजसो राष्ट्रबाट आएका मानिसको बसोबास रहेकाले टोरन्टोलाई बहुसांस्कृतिक सहरका रुपमा चिनिन्छ। डाउनटाउनमा हुने जमघट र ओहोरदोहोरमा भिन्न भिन्न लवज र भेषभुषा देखिन्छ। क्यानडामा नेपालीको संख्या ४० देखि ५० हजार हाराहारी रहेको अटोवास्थित नेपाली राजदूतावासले जनाउँदै आएको छ।

प्रकाशित मिति: : 2019-04-20 01:51:14

प्रतिकृया दिनुहोस्