अमेरिकामा म्युलर रिपोर्ट सार्वजनिक: राष्ट्रपति ट्रम्पलाई 'क्लिन चिट'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले क्लिन चिट दिएका छन्।

अमेरिकाका महान्यायाधिवक्ताले सार्वजनिक गरेको म्युलर रिपोर्टमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्प र उनको अभियानका कोहीले रुसी साठगाँठ गरेको प्रमाण फेला नपरेको जनाइएको छ।

प्रतिवेदनमा कोहीले पनि षडयन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण पनि फेला नपरेको उल्लेख छ। 

म्युलर प्रतिवेदन सार्वजनिक गर्नु अघि महान्यायाधिवक्ता विलियम बारले आयोजना पत्रकार सम्मेलन आयोजना गरेर भने,-'विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडीएका कसैसँग मिलेर अमेरिकी कानून तोड्ने कुनै षडयन्त्र भएको प्रमाण फेला पारेनन्।'

उनले सन् २०१६ को चुनावमा डेमोक्र्याटिक पार्टी तर्फकी प्रत्याशी हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण पनि नभएको बताए।

राष्ट्रपति ट्रम्पले राष्ट्रपति पदमा भएको आफ्नो जितलाई अवमूल्यन गर्न विपक्षीले षड्यन्त्र गरेको र त्यसै क्रममा यो अनुसन्धान थालिएको बताएपनि मामिला त्यस्तो नभएको पनि महान्यायाधिवक्ता बारले बताएका थिए।

राष्ट्रपति ट्रम्पको साँठगाँठ नदेखिए पछि उनलाई क्लिन चिट दिन प्रतिवेदन सार्वजनिक गरिएको भन्ने आरोपका बारेमा उनले भने-' प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मैले आफैले गरेको हुँ।'

प्रतिवेदनमा राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो बयानमा आफू कुनै गोप्य भेटघाटहरूमा संलग्न भएको आफूलाई स्मरण नभएको बताएको उल्लेख गरिएको छ। 

प्रतिवेदनबारे प्रतिक्रिया दिदै राष्ट्रपति ट्रम्पले आफूले सफाइ पाएको दाबी गरेका छन्। उनले अगाडि भनेका छन्- "यो लज्जाको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्‍यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो।"

प्रकाशित मिति: : 2019-04-19 03:23:29

प्रतिकृया दिनुहोस्