तल्लो बाटो अमेरिका छिर्नेले जेलबाटै मुद्दा लड्नुपर्ने: नेपाली 'अमरिकी सपना' पनि प्रभावित

तस्वीर: गेट्टी इमेज

तल्लो बाटो भएर मेक्सिकोको सिमा हुँदै अमेरिका छिर्ने आप्रवासीलाई निरूत्साहित गर्न ट्रम्प प्रशासनले अर्को एक निर्णय गरेको छ। 

नयाँ निर्णयअनुसार अमेरिका छिर्ने क्रममा वा छिरेपछि पक्राउ पर्ने आप्रवासीले धरौटीमा छुटेर मुद्दा लड्न नपाउने भएका छन्। अव उनीहरूले जेल भित्रैबाट शरणार्थी आवेदन दिएर मुद्दा लड्नु पर्ने भएको छ। यसैगरी धरौटी बुझाएर  जेलबाहिर रहेरै एसाइलमको निर्णय पर्खिरहेकालाई जेलमा लैजान सकिने छ र उनीहरूले जेलभित्रै बसेर एसाइलमको सुनुवाइ पर्खनुपर्ने हुन्छ।

केही समयअघि मात्र राष्ट्रपति ट्रम्पले महान्याधिबक्तामा नियुक्त गरेका विलियम बरको यो अन्तरिम निर्णयले अमेरिकाको सीमाबाट प्रवेश गरेपछि क्रेडिवल फेयर अन्तर्वार्ता हुने र त्यसमा पास भएपछि धितोरकम राखी जेल बाहिर निस्केर शरणार्थी आवेदन प्रक्रिया अगाडि बढाउन सकिने लचिलो प्रावधान उल्टिएको छ।

यो  बण्ड प्राप्त गरेर जेलबाहिर रहेरै एसाइलमको निर्णय कुरिरहेकाहरुलाई पनि अब अध्यागमन जेलमा राखिनेछ । र उनीहरुले जेलभित्रै बसेर आफ्नो एसाइलमको सुनुवाई प्रतिक्षा गर्नुपर्नेछ । एसाइलम सुनुवाईका लागि चर्को ब्याकलगका कारण महिनादेखि बर्षौ कुनुपर्ने अवस्था रहेको छ ।

ट्रम्प प्रशासनको यो नयाँ निर्णय ९० दिनपछिबाट कानुनत: लागु हुने छ। 

यो निर्णयबाट मेक्सिकोको सीमा हुँदै अमेरिका छिर्ने र अमेरिका छिरेर जेलमा रहेका थुप्रै नेपालीको 'अमेरिकी सपना' प्रभावित हुने भएको छ। अहिले अमेरिकाको जेलमा तीनसय २४ नेपाली रहेको बताइएको छ। यसैगरी हजारौंको संख्यामा धरौटीमा छुटेर मुद्दा लडिरहेका नेपाली पनि अमेरिकामा रहेका छन्। यो निर्णयबाट उनीहरू प्रभावित हुनेछन्।  

यसैबीच अमेरिकन सिभिल लिबर्टी युनियनले महान्यायाधिवक्ताको कदमलाई असंवैधानिक भन्दै यो निर्णयले उत्पीडनबाट भागेका र अमेरिकामा शरण खोजेका माथि ट्रम्प प्रशासनले आक्रमण गरेको जनाएको छ।उसले यो निर्णयविरूद्ध कानुनी उपचार खोजिने पनि जनाएको छ।

 

प्रकाशित मिति: : 2019-04-18 22:09:46

प्रतिकृया दिनुहोस्