नेपालको पहिलो स्याटलाइट प्रक्षेपणको तयारी पूरा : अपरान्ह ४ बजेर ४६ मिनेटमा नासाबाट प्रक्षेपण

तस्वीर सौजन्य: नासा

नेपालको पहिलो न्यानो स्याटलाइट 'नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण गर्ने तयारी पूरा भएको छ। अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट अमेरिकी पूर्वी समयअनुसार अप्रिल १७ अपरान्ह ४ बजेर ४६ मिनेटमा 'नेपाली क्यूबसेट स्याट–१’ उड्ने छ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालको पहिलो स्याटलाइट बनाइएको हो।

जापानमा बनाइएको यो स्याटलाइटको प्रक्षेपण चाहिँ अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट गर्न लागिएको हो ।

‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका अतिरिक्त जापान र श्रीलंकाको न्यानो स्याटलाइट पनि एकसाथ प्रक्षेपण गर्न लागिएको छ। श्रीलङ्काको न्यानो स्याटलाइटको नाम ‘रावण–१’ राखिएको छ भने जापानको न्यानो स्याटलाइटको नाम ‘यु–बिसु’ राखिएको छ।

'नेपाली क्यूबसेट स्याट–१’मा  नेपालको झण्डाका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को प्रतीकचिह्न अङ्कित हुने छ

यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ। त्यसपछि त्यसलाई नेपाली आकाशमाथि ल्याइने बताइएको छ।

प्रकाशित मिति: : 2019-04-17 23:40:32

प्रतिकृया दिनुहोस्