अमेरिकाका लागि नेपाली राजदूत महामहिम डाक्टर अर्जुनकुमार कार्की "सुप्रवल जनसेवा श्री" बाट विभूषित भएका छन्।
उनी कूटनीतिको क्षेत्रबाट राष्ट्रलाई योगदान गर्ने एक महान छोराका रूपमा सम्मानित भएका हुन्। उनले विगत चार वर्षदेखि अमेरिकाका लागि नेपाली राजदूतका रूपमा नेपालको मान, सम्मान र प्रतिष्ठा बढाउँन पुर्याएको अतुलनीय योगदानको सम्मान गर्दै यो विभूषण प्रदान गरिएको बताइएको छ।
महामहिम डाक्टर कार्कीलाई नेपालको राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको करकमलबाट विभूषित गरिएको हो।
उनीजस्तै नेपाललाई महान राष्ट्र बनाउँन योगदान दिने तीनसय ४३ जना नेपालका महान छोराछोरी यस वर्ष विभूषित भएका छन्।
हरेक वर्ष नेपालीलाई अझ महान देश बनाउँन योगदान दिने यो देशका सयौं महान छोराछोरी विभूषित हुदै आएका छन्। यो विभूषण पनि बढुवा हुने रोलक्रममा हुन्छ, मरेपछि पाइने बाहेकले भने तलैदेखि विभूषण पाउँन सुरू गर्नुपर्छ। जति पद र विभूषणको खात बढ्दै जाँदा तब माथिल्लो दर्जाको विभूषण पाइन्छ।
अमेरिकाका लागि नेपाली राजदूत डाक्टर कार्की यतिबेला मन्त्रिस्तरका राजदूत भए पनि यो सम्मान घोषणा गर्दा विशिष्ट श्रेणीका मात्रै भएकाले उनले यसपटक "सुप्रवल जनसेवा श्री" बाट चित्त बुझाउनु परेको हो। अर्कोपटक पाउँदा योभन्दा माथिल्लो तहको तक्मा उनले पाउक्ने छन्।
उनले "सुप्रवल जनसेवा श्री" तक्मा पाएकोमा अमेरिकामा रहेका नेपालीहरू भने प्रतिक्रियाविहीन भएका छन्। हामीले केहीलाई सोध्दा पाएको प्रतिनिधिमुलक प्रतिक्रिया यस्तै थियो-
प्रतिक्रिया १: अरू पाउँने पनि यस्तै हुन्, उनले मात्र नपाउँनु भन्ने के छ र ?
प्रतिक्रिया २: आफ्नै हात जगन्नाथ।
प्रतिक्रिया ३: म्याद सकिएको बेला गुड फेयरवेल ।
प्रतिक्रिया ४: के योगदान गरें र पाएँ, उनी आफैलाई पनि लाज लाग्नुपर्ने हो ।
प्रतिक्रिया ५: यो पनि नयाँ राजाहरूले आफ्नालाई लिने नयाँ गोदबा (गोरखा दक्षिण बाहू) नै त भयो।
प्रतिक्रिया ६: हरेक वर्ष राष्ट्रलाई योगदान दिएर महान बनाउँनेहरू सम्मानित हुने क्रम छ, नेपाल र नेपालीको अवस्था भने झन दयनीय छ। यी तक्मेहरूको यगदान यसैमा त छ।
प्रतिक्रिया ७: वधाई छ।
हामीले यो समाचार एउटा पृथक शैलीमा बनाएका हौं, यसमा हाम्रो भने कुनै प्रतिक्रिया छैन, न समाचारको कोण नै।