अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का: गृहमन्त्रीले दिइन् राजीनामा

अमेरिकी गृहमन्त्री किर्स्ट्जेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरूबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन्।

‘जिम्मेवारीबाट बाहिरिने अहिले सबभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,’ निल्सनको अवकाशपत्रमा उल्लेख छ,‘अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरू फुक्दै जाने मैले विश्वास लिएकी छु।’

राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन्। त्यहाँ अमेरिकी सीमा अधिकारीहरू र स्थानीय कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरूसँग बैठक समेत गरेकी थिइन्। ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर समेत निस्किएकी थिइन्।

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन्। उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन्।

निल्सनका नजिकका व्यक्तिहरूका अनुसार निल्सनले अरु विभागबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेको तथा कठिन आप्रवासन मामिलामा ट्रम्पका सहयोगी एवं सल्लाहकारबाट अनावश्यक दबाब दिएको अनुभव गरेकी थिइन्। आइतबार उनी ह्वाइटहाउस पुगेर राजीनामा बुझाएकी थिइन्, तर जानकारहरूका अनुसार यो राजीनामा स्वेच्छिक थियो। (रासस-एपी)

प्रकाशित मिति: : 2019-04-08 18:00:21

प्रतिकृया दिनुहोस्