लिंकन एभरेष्ट: देशको पहिचानका लागि आफ्नै नाम-थर छोडेका नेपाली !

फोटो: बिएल

नेपालको पर्यटन प्रवर्द्धनमा सरकारले अबौं रुपिँया खर्च गरिरहेको छ। नेपाल पर्यटन वोर्डले पर्यटन प्रवर्द्धनको नाममा बार्षिक रुपमा अन्तर्राष्ट्रियस्तरमा सञचालन हुने थुप्रै ‘ट्राभल फेयर’मा सहभागिता जनाउने गर्छ।त्यतिमात्र हैन, बोर्डले प्रचारप्रसारको नाममा अन्तराष्ट्रिय सञ्चारमाध्यममा पनि बर्षेनी करोडौ रुपिँया खर्च गरिरहेको छ। यद्यपि, अझै पनि पूरै संसारलाई सगरमाथाको देश नेपाल भनेर पर्याप्त मात्रामा चिनाउन सकिएको छैन।

सगरमाथाको देश नेपाल हो, भनेर संसारका कतिपय राष्ट्रका मानिसलाई पत्तो नभएको देखेर एक नेपाली मुलका अमेरिकी नागरिकले आफ्नो नाम नै परिवर्तन गरेर अमेरिकी पासपोर्टमा नै एभरेष्ट लेखाएको खुल्न आएको छ। ती नेपालीले अमेरिकी पासपोर्टमा एभरेष्ट मात्र लेखाएनन्, अगाडि लिंकन पनि जोडे। 

अमेरिका र नेपालको पर्यटन प्रवर्द्धन सेतुका रुपमा काम गर्ने उदेश्यले अमेरिकी पूर्वराष्ट्रपति अब्राहन लिंकनको नाम अगाडि राखे र आफ्नो थर एभरेष्ट बनाए।अहिले अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गरिरहेका पौडेल थरका ती नेपालीलाई सबैले लिंकन एभरेष्टको रुपमा चिन्छन्। 

सिटी अफ मिडलटाउन कनेक्टिकटका मेयरले कमिश्नरको रुपमा नियुक्त लिंकन एभरेष्टलाई नेपाली रहेको पत्तो पाएपछि बीएल संबाददाताले तपाईको सही नाम के हो भनेर प्रश्न गर्दा उनी भन्छन्, “मेरो सही नामनै लिंकन एभरेष्ट हो। किनभने म यही नामबाट चिनिन चाहन्छु र मेरो पहिचाननै यही भइसहेको छ। त्यसैले मेरो अर्को नाम भनेर म आफ्नो पहिचानलाई छाँयामा पार्न चाहन्न। यतिमात्र बुझ्नुस् मेरा थर पौडेल हो।'

नेपालको पर्यटन प्रवर्द्धन गर्न र सगरमाथाको पहिचान झल्काउने उदेश्यसहित आजभन्दा १५ बर्ष अगाडि नै अमेरिकी पासपोर्टमा आफूले लिंकन एभरेष्ट लेखाएको उनले बीएल संवादातासँगको भेटमा जनाए। 

अमेरिका आउनुअघि नेपालका अधिकाशं पाँचतारे होटलमा काम गरेको अनुभव संगालिसकेका रहेछन् कमिश्नर लिंकन एभरेष्टले। सन् १९८९ मा अमेरिका पुग्नुअघि लिंकन एभरेष्टले अन्नपूर्ण, याक एण्ड यति, एभरेष्ट र मल्ल होटलमा काम गरिसकेको बताए। 

नेप्लिज वर्ल्डवाइड सेफ एसोसियसनका अध्यक्षसमेत रहेका उनले अमेरिकामा नेपाली खानाको पहिचान झल्काउन केही राज्यमा रेष्टुरेष्ट समेत सञ्चालन गरे। वि.स २०३४ सालमा रहस्य साप्ताहिकमा समेत कामको अनुभव संगालेका लिंकन एभरेष्टले सन् १९९३ मा अमेरिकाकाको मिचिगन राज्यको फरमेण्टनमा न्यु डाउनटाउन क्याफे सञ्चालन गरेका रहेछन्।त्यसपछि सन् १९९९ मा हिल्समा एभरेष्ट एक्सप्रेस रेष्टुरेष्ट संचालनमा ल्याए। सन् २००८ मा मिचिगन राज्यको फारमेण्टन हिल्समा नेप्लिज क्यूजिन चलाए। त्यतिमात्र नभएर नेपाली खानाको पहिचान दिन उनले सन् २००४ मा रोयल अफ मिचिगनमा काठमाडौं चुल्होसमेत सञ्चालन गरे।

सन् २००७ पछि लिंकन एभरेष्टको जीवनमा धेरै उतार-चढाव आयो।त्यो समय क्यान्सरबाट आफ्नी श्रीमतीको निधन भएपछि मिचिगन राज्य छोडेर लसभेगस, न्युयोर्क हुदै अहिले उनी कनेक्टिकट राज्यको सिटी अफ मिडलटाउनमा पुगेका छन्। 

सन् २०२० को पर्यटन बर्षलाई सहयोग गर्न कनेक्टिकटमा खाना महोत्सव गर्ने र नेपाली खानालाई अमेरिकामा पहिचान दिलाउन ५० राज्यमा नै यस्तो उत्सव गर्ने योजना रहेको उनले बताए। मानिसको जीवनमा स्वस्थ रहन खानाको निकै महत्व रहेकोले विश्वब्यापी नेपाली खानाको पहिचान दिलाउन नेप्लिज वर्ल्डवाइड सेफ एसोसियसन लागिरहेको पनि लिंकन एभरेष्टले जानकारी दिए।

प्रकाशित मिति: : 2019-03-28 09:58:55

प्रतिकृया दिनुहोस्