अरूको भरमा उभिने सीता लट्ठीको भरमा उभिने भएर गइन्

फोटो: गंगा दाहालको फेसवुकवाट

आफन्तको सहारामा मात्र उभिनसक्ने अवस्थामा नेपाल छोडेकी प्रचण्ड पत्नी सीता १० दिनपछि अमेरिका छोडदा लट्ठीको सहारामा उभिने भएकी छिन्।

प्रचण्ड पत्नी सीताको देखिने पछिल्लो स्वास्थ्य रिपोर्ट यही हो।

अस्पतालमा के के गरियो र डाक्टरले के भन्यो, त्यो त सीता र प्रचण्डलाई मात्र थाहा होला वा उनीहरूसँगै आएकी नर्स अम्बिका पुडासैनीलाई। डाक्टरलाई भेट्ने मौका पाए भने छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई पनि थाहा हुन सक्छ। त्योभन्दा बाहिर भ्रमणका क्रममा सबैभन्दा बढी भूभिका भएका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीलाई पनि जानकारी हुन सक्छ।

अमरिकामा कुनै पनि ब्यक्तिको स्वास्थ्य अवस्थासम्बन्धी सूचनाहरू कानुनी हिसाबले अत्यन्तै संरक्षित हुन्छन्। सम्बन्धित व्यक्तिको अनुमति बिना परिवारका सदस्यको त कुरै छोडौं उपचारमा संलग्न चिकित्सकले पनि स्वास्थ्य सूचना सार्बजनिक गर्न मिल्दैन, हिप्आ (HIPAA) आकर्षित हुन्छ। यसको अर्थ हो- Health Insurance Portability and Accountability Act of 1996। सूचनाको अधिकारभन्दा पनि प्राथमिकतामा माथि रहने यो प्रावधान पत्रकारका लागि पनि कानुनीरूपमै वाध्यकारी हुन्छ।

अमेरिकाका सन्दर्भमा यस्तो भए पनि डीएनएमै अर्काको चियोचर्चा गर्ने गुण भएको नेपाली जाति चाहे त्यो घरदेशमा होस् वा परदेशमा- उसलाई सबै सूचना चाहिन्छ। प्रचण्डको भ्रमणलाई दिएर निरन्तर फलोअप गरिरहेको ब्रेक एन लिंक्समा पनि धेरैले सीताको स्वास्थ्यको बारेमा समाचार पढ्न चाहेको देखियो।

हामीले हाम्रा पाठकको चाहनालाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग सम्पर्क गर्ने प्रयत्न गर्योै र सम्भव भएसम्मको सूचना संकलन गर्यौ।

हामीलाई प्राप्त सूचनाअनुसार सीतालाई पहिला मेरिल्याण्डको जोन हप्किन्स अस्पतालमा लगिएको थियो।तर, त्यहाँ खासै केही हुन नसक्दा वासिंटनस्थित जर्जटाउन युनिभर्सिटी हस्पिटल र अलाबामाको बरमिंघम युनिभर्सिटी हस्पिटलमा उनको स्वास्थ्य परीक्षण गरियो।

सीतालाई अस्पतालमा भर्ना नगरी आउट प्यासेन्टका रूपमा उपचार गरिएको थियो।मुलत: पार्किन्सन रोगसँग जुझिरहेकी उनको स्वास्थ्य परीक्षण पनि त्यही रोगलाई केन्द्रमा राखेर गरिएको थियो। 

उनको उपचारमा संलग्न चिकित्सकहरू उनलाई वंशानुगत रूपमै पार्किन्सन रोग लागेको र त्यो अहिले छिटो छिटो बढ्ने क्रममा पाल्सी भैसकेको रहेको निष्कर्षमा पुगे।उनीहरूले सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षण ठीक रहेको भन्दै औषधि जारी राख्न सल्लाह दिएका छन्।

सीताले नयाँ औषधी लिन थालेको र त्यसले बिस्तारै काम गर्न थालेको बताइएको छ। नेपालबाट उड्दा उनलाई लगभग कसैले बोक्नुपर्ने वा आफै पटक्कै उभिन नसक्ने अवस्था थियो। तर, अमेरिकाबाट फर्कदा उनी लठ्ठीको सहायताले उभिन सक्ने भएकी छिन् ।

प्रचण्ड पत्नी सीता मधुमेहलगायतका अरू थुप्रै रोगहरूसँग पनि जुध्दै आएकी छिन्। यी रोगहरूसँग जुध्नका लागि उनमा रोग प्रतिरोधात्मक क्षमतामा ठुलो ह्रास आएको अमेरिकी चिकित्सकहरूले बताएका थिए।

एक वर्षको अन्तरालमै छोरी र छोरा गुमाएपछि सीता शोकमा परेको र त्यसैका कारण अरू रोगहरू आक्रमक भएको प्रचण्ड परिवारको ठम्याइ छ। प्रचण्ड आफैंले पनि नेपाल छोड्नुअघि भनेका थिए- 'सीतालाई अमेरिकामा चाँहि उपचार होला भन्ने लागेको छ। उनको त्यही आशा र विश्वासका लागि पनि अमेरिका लैजान लगिएको हो।'

प्रचण्ड पत्नी सीताको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न थरिका प्रतिक्रियाहरू पनि देखिएका थिए। कतिपयले अरूका छोराछोरी मारेको पापको फल भन्नेसम्मका अप्रिय प्रतिक्रियासमेत लेखेको देखियो। कतिपयले उनको उपचारको खर्च कहाँबाट आयो भनेर सोधेका थिए भने कतिपयले अरूको उपचार चाँहि स्वदेशमै हुने सीताको चाँहि किन अमेरिकामा भनेर पनि प्रश्न उठाएका थिए। केहीले अन्तिम आश त साम्राज्यवादी मुलुककै लाग्नेरहेछ पनि भने।

अधिकांश प्रतिक्रिया प्रचण्डको माओवादी विगतसँगै जोडेर गरिएका थिए। केहीले भने त्यसलाई थाँति राखेर वा बिर्सेर शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मानवीयता पनि देखाएका थिए। 

प्रकाशित मिति: : 2019-03-27 01:11:53

प्रतिकृया दिनुहोस्