मुलर प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु

तस्बिरः एजेन्सी

अमेरिकी सांसदहरू सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बुझाएको मुलर प्रतिवेदन पर्खिरहेका छन्। प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ ।

महान्यायाधिवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ।  प्रतिवेदन २२ महिना लगाएर विशेष अभियोजनकर्ता रोबर्ट मुलरले तयार पारेका हुन्।

बारले शनिबार प्रतिवेदन अध्ययन गर्न नौ घण्टा बिताएका थिए। उनले भनेका थिए, ‘प्रतिवेदनको मुख्य सार सप्ताहान्तमा सार्वजनिक गरिनेछ। ट्रम्प र उनका भित्रियाहरू मुख्य अनुसन्धानदाता मुलरले ट्रम्पमाथि दोषारोपण नगरेकोमा खुशी देखिएका छन् ।’

अमेरिकी संविधानमा राष्ट्रपतिमाथिको छानबिन प्रतिवेदन महान्यायाधिवक्ताले अध्ययन गरेपछि मात्र सार्वजनिक गर्ने प्रावधान छ। महान्यायाधिवक्ता बारले प्रतिवेदनलाई जतिसक्दो चाँडो र पूर्ण पारदर्शिताका साथ सार्वजनिक गर्ने बताएका छन्।

मुलर स्वयंले भने प्रतिवेदनका बारेमा केही बताएका छैनन्।अमेरिकी समाजमा मुलरको प्रतिवेदनलाई लिएर विभिन्न अड्कलबाजी गरिएका छन्।

केहीले मुलरको रहस्यमयी प्रतिवेदनले राष्ट्रपति ट्रम्पलाई सफाइ दिएको अनुमान गरेका छन्।तर, कतिपयले सङ्घीय जाँच ब्यूरोका तत्कालीन निर्देशक जेम्स कोमेलाई सन् २०१७ मा एकाएक बर्खास्त गरी राष्ट्रपतिले सबैतिर हस्तक्षेप गरेको र न्यायमा अबरोध गरेको दाबी गरेका छन्।उनीहरुको विश्वास छ, छानबिन कार्य मुलरको प्रतिवेदनमा मात्र सीमित हुने छैन, प्रतिवेदनले थप अनुसन्धानको ढोका खोल्ने छ।

मुलरले यसअघि ट्रम्पको चुनावी अभियानमा संलग्न ३४ जना र तीनवटा कम्पनीमाथि फौजदारी अभियोग दर्ता गरिसकेका छन्। ट्रम्पका पूर्वचुनाव प्रचार प्रमुख पल म्यानाफोर्ट र पूर्वनिजी वकील माइकल कोहेनलाई जेल सजाय गरिएको छ।

तर, ट्रम्पको चुनावी अभियान र मस्कोबीच प्रत्यक्ष सहकार्य भए नभएको प्रश्नका बारेमा भने हालसम्म कसैलाई दोषी ठहर्याइएको छैन। सङ्घीय जाँच ब्यूरो (एफबीआई)का पूर्वनिर्देशक मुलरले अनुसन्धानका सिलसिलामा राष्ट्रपति ट्रम्पसँग अन्तरवार्ता लिएका थिएनन्। बरू, रूससँगको सम्बन्धका बारेमा ट्रम्पले केही प्रश्नको लिखित जवाफ दिएका थिए।

जनवरी २०१७ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पद सम्हालेलगत्तै अमेरिकी गुप्तचर निकायहरुले चुनावी अभियानका क्रममा इमेल ह्याकिङको कार्यमा रुसको संलग्नता रहेको निष्कर्ष निकालेका थिए। रुसीहरुले अनलाइन प्रचारबाजी गरी अमेरिकी समाजमा घृणा र द्वन्द्व फैल्याउन भूमिका खेलेको पनि दाबी गरिएको थियो। रुसीहरुको यस्तो कार्यले राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार भएकी हिलारी क्लिन्टनलाई ठूलो क्षति पुगेको थियो।

रुसले भने अमेरिकी चुनावमा कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएको छ।

राष्ट्रपति ट्रम्पले यसअघि मुलरको छानबिनप्रति तिब्र रोष प्रकट गर्दै आएका छन्। ह्वाइट हाउसका एकजना प्रवक्ता होगान गिड्लेले संवाददाताहरुसँग कुरा गर्दै ह्वाइट हाउसले मुलरको प्रतिवेदन प्राप्त नगरेको वा प्रतिबेनमा समेटिएका विषयका बारेमा कुनै जानकारी नदिइएको बताए।

अमेरिकी कङ्ग्रेसका डेमोक्र्याट सांसदहरुले मुलरको पूर्ण प्रतिवेदन र यससँग जोडिएका अन्य दस्तावेजहरुको पूर्ण विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।डेमोक्र्याट पार्टीले मुलरको प्रतिवेदनमा जे भनिए पनि राष्ट्रपतिमाथिको छानबिनलाई निरन्तरता दिने बताएको छ ।

प्रकाशित मिति: : 2019-03-24 22:35:11

प्रतिकृया दिनुहोस्