न्यु मेक्सिकोमा 'सबैका लागि विज्ञान सम्मेलन'

तस्बिरः बिएल

न्यु मेक्सिको स्टेट युनिभर्सिटी लसक्रुसेसमा रहेको नेपाली विद्यार्थी एशोसिएसन (नेसा) ले एकदिने सम्मेलन आयोजना गर्ने भएको छ।यही मार्च २३ मा आयोजना गरिने सम्मेलनको नारा ‘सबैका लागि विज्ञान: आधुनिक विश्व विकासमा भूमिका’ तय गरिएको छ।

सम्मेलन संयोजक राजन कोइरालाका अनुसार सम्मेलनमा विभिन्न प्राज्ञिक व्यक्तित्व तथा वैज्ञानिकहरूले आफ्नो भनाइ र वैज्ञानिक सोधपत्र प्रस्तुत गर्नेछन्। न्युमेक्सिको स्टेट युनिभर्सिटी तथा आसपासका अन्य युनिभर्सिटीका अनुसन्धानकर्ताहको पनि सहभागिता रहने सम्मेलनलाई युनिभर्सिटीका पदाधिकारीहले शुभकामना सन्देश दिनेछन्।

नेसाका सभापति उमेश चिलवालका अनुसार सम्मेलन तीन भागमा विभाजन गरिनेछ। कार्यक्रमको सुरुवात राष्ट्रियगान र शुभकामना मन्तब्यबाट गरिने छ। दोस्रो चरणको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने र अन्तिम चरणमा अतिथिबाट सम्मेलनको नारालाई ध्यानमा मन्तब्य तथा योजना प्रस्तुत हुनेछ।

सानफ्रान्सिस्को विश्वविद्यालयअन्तर्गत शिक्षा स्कूलकी डीन, सबनम कोइराला 'आजाद'को प्रमुख अतिथि रहने सम्मेलनमा युनिभर्सिटी अफ न्यु मेक्सिकोबाट डा. अलोक के बोहरा, लुजिआना स्टेट यूनिभर्सिटीका डा. कृष्णा पौडेल र न्यु मेक्सिको स्टेट युनिभर्सिटीबाट डा. राचेल स्टीवन हुनेछन्।

सम्मेलन आयोजक समितिका संयोजक कोइरालाका अनुसार सम्मेलनको तयारी पूरा भएको छ।आयोजकहरू उत्सुकताका साथ अतिथि र सहभागीहरूलाई स्वागत गर्न आतुर छन्।

प्रकाशित मिति: : 2019-03-21 00:12:03

प्रतिकृया दिनुहोस्