बीएल अपडेट : प्रचण्डले भने- भ्रमण 'व्यक्तिगत', राजदूत निवासमा बास

Photo Credit: Annapurna post

नेपालका पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' व्यक्तिगत भ्रमणका लागि अमेरिका उडेका छन्। उनी श्रीमती सीता दाहालको उपचारका लागि छोरी गंगा र ज्वाइँ जीवन आचार्यसहित अमेरिका उडेका हुन् ।

इतिहाद विमानबाट आइतबार साँझ सपरिवार काठमाडोैं छोडेका उनी सोमबार अमेरिकाको डीसीस्थित डलास अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने छन्। वासिङ्टन डीसीस्थित नेपाली राजदूतको आवासमै रहेर उनले श्रीमतीको उपचार गराउने बताइएको छ।

यो पनि पढनुस्

पत्नी सिता दाहालको उपचारका लागि प्रचण्ड सोमवार अमेरिका आँउदै

भारत र सिंगापुरमा समेत उपचार असम्भव भएपछि प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि अमेरिका ल्याउन लागिएको हो। सीता ‘प्रोग्रेसिभ सुपरक्लियर पाल्सी' जस्तो गम्भीर चरित्रको रोगलगायत विभिन्न किसिमका रोग र एक वर्षको अन्तरालमा छोरा र छोरीको असामयिक निधन भएपछि शोकले पनि सताइएकी छिन्। ‘प्रोग्रेसिभ सुपरक्लियर पाल्सी' रोगका बारेमा मेरिल्याण्डको बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयको रिसर्च सेन्टरमा अनुसन्धान हुँदै आएको छ। त्यही उनको उपचार गर्न लागिएको हो।

प्रचण्डले आफ्नो भ्रमण एकजना विरामी श्रीमतीको श्रीमानका रूपमा भएको बताएका छन्। उनले भनेका छन्- यद्यपि, आफू मुलुकको पूर्वप्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष र सांसद पनि भएकाले चाहेर पनि यो भ्रमण पुरै व्यक्तिगत जस्तो नहुने रहेछ। अमेरिकी सरकारको पनि ध्यानाकृष्ट हुने रहेछ, त्यसैले यसका लागि नेपालको परराष्ट्र मन्त्रालय र मातहत रहेको वासिङ्टन डीसीस्थित दूताबासले संयोजन गरेका छन्।'

उपचार के कसरी हुने हो ? कति समय लाग्ने हो ? त्यसबारेमा केही थाहा नभएको बताउँदै प्रचण्डले भने- अस्पताल पुगेर सम्बन्धित डाक्टरहरूसँगै भेटेपछि मात्र सबै कुरा थाहा होला। 

प्रकाशित मिति: : 2019-03-18 03:56:20

प्रतिकृया दिनुहोस्