अमेरिकाका राजदूत डा. अर्जुनकुमार कार्कीको बढुवा भएको छ। चारवर्षे कार्यकाल सकिने उल्टो गणनाक्रम सुरू भैसकेको बेला उनलाई मन्त्रीस्तरीय राजदूत बनाइएको छ।
सन् २०१५ जनवरी १६ मा सचिवस्तरको राजदूतमा नियुक्त डा. कार्की सरकारको पछिल्लो मन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका हुन् । उनी कोलम्बिया, कोष्टारिका, ग्वाटेमाला, होण्डुरस, निकरागुवा, मेक्सिको र गुयनाका लागि पनि नेपालका राजदूत हुन् ।
डा. कार्कीले अमेरिकाका लागि नेपाली राजदूतका रूपमा मुलुकलाई त्यस्तो के उपलब्धी गराए जसका लागि उनलाई मन्त्रीस्तरीय राजदूत बनाएर पुरस्कृत गर्नु पर्यो ? या सचिवस्तरीय राजदूत हुँदा उनलाई कुन त्यस्तो काम गर्न बाधा पर्यो र उनको बढुवा गर्नुपर्यो ? अमेरिकाको नेपाली डायस्पोरमा उनीसँग सम्बन्धित यी र यस्तै अनेकौ प्रश्नहरू उठेका छन् ।
राजदूत कार्कीको कार्यकाल आशातित हुन नसकेको मात्र हैन, विवादमुक्त पनि हुन सकेको छैन। उनीमाथि महंगा गाडी र आवास जोडेर त्यसबाट कमिसन कमाइरहेको आरोप लागेको छ। महंगो आवास खरिद गर्ने प्रक्षमा नरहेको परराष्ट्र मन्त्रालयको ब्युरोेक्रेटिक नेतृत्वसँग उनको लामो समय पानी बाराबारको स्थिति रह्यो।ओली सरकार बनेर परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवाली आएपछि उनले आफ्नो राजनीतिक पहुँच र लाइन प्रयोग गरेर आफ्नो पक्षमा निर्णय गराएका थिए।
नियुक्त भएर आएको केही समयपछि नै नेपालमा गएको भूकम्पका पीडितका लागि उठाइएको सहयोग रकममा घोटाला गरेको आरोप उनीमाथि लागेको थियो। उनले त्यसमा आफ्नो सहभागिता नभएको प्रष्टिकरण दिए पनि त्यसअनुरूपको लेखाश्रेस्ता भने दिने सकेनन्।
प्रधानमन्त्री के पी शर्मा ओली राष्ट्र संघको महासभामा सहभागी हुन आउँदा उनीविरूद्ध न्युयोर्कमा काला झण्डा मात्र देखाइएनन्, न्युयोर्कको नेपाली डायस्पोरामा आयोजना गर्न लागिएको कार्यक्रम पनि रद्द गरियो। यसरी प्रधानमन्त्रीको भ्रमण चरम विवादमा पर्दा पनि उनले कुनै कुशलता देखाएर त्यसलाई टार्न सकेनन् । यो उनको कूटनीतिक विफलता हो ।
यही क्रममा उनले प्रधानमन्त्रीलाई कोष्टारिकाको महंगो भ्रमण पनि गराए । त्यो भ्रमण उनको लागि व्यक्तिगत प्रतिष्ठाको विषय भए पनि नेपालको कोणबाट खासै अर्थ र उपादेयता नभएको महत्वहिन भ्रमण थियो। यसरी बिना औचित्यको भ्रमण गराएर उनले अर्को कूटनीतिक विफलताको छिटो लगाएका थिए।
जनसम्पर्क र कूटनीति दुबै कला नभएका 'फुलेल स्वभाव'का डा. कार्की अमेरिकाको नेपाली डायस्पोरामा त्यति रूचाइएका राजदूतमा पर्दैनन्। यद्यपि, परराष्ट्रमन्त्रीदेखि प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्मकै लाइन मिलेका उनी आफूलाई अर्को एक कार्यकालका लागि दोहोर्याउने प्रयत्नमा छन् ।
अहिलेको राजनीतिक अवस्था हेर्दा उनी नदोहोरिएलान् भन्न पनि सकिन्न । उनको यो पदोन्नति पनि कामको पुरस्कारभन्दा पनि अर्को कार्यकाल लम्बाउने दिशाको एक खुट्किलो चढाइका रूपमा लिन सकिन्छ।