अस्ट्रेलियामा मतदान जारी : नेपालीमूलका मतदाता पनि उत्साहजनक सहभागी

अष्ट्रेलियामा आम चुनावका लागि आज शनिबार मतदान जारी छ। मतदानमा नेपालीमूलका अस्ट्रेलियन मतदाता पनि उत्साहजनक रूपमा सहभागी भैरहेका छन्। यसपटक सिड्नीको बार्टोन निर्वाचन क्षेत्रबाट नेपाली युवा प्रमेज श्रेष्ठ लिबरल उम्मेद्वार भएकाले पनि नेपाली समुदायलाई विगतमा भन्दा बढी अस्ट्रेलियन चुनाव लागेको छ। 

चुनावमा यसपटक सत्तारूढ लिबरल पार्टी र प्रतिपक्ष लेबोर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जसले जिते पनि केही सिट संख्याले मात्र तलमाथि पर्ने वा त्रिशंकु संसद हुने नै सम्भावना बढ्दो छ। 

दुईपटक चुनाव जितिसकेको र गुटगत राजनीतिका कारण पार्टी एक ढिक्का भएर चुनावमा नगएकाले सत्तारूढ लिबरललाई सत्तामा फर्कन मुस्किल हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। त्यसको फाइदा चुनावमा एक ढिक्का बनेर होमिएको प्रमुख प्रतिपक्षी लेबर पार्टीलाई हुने सम्भावना बढ्दो छ।  

चुनावी मत सर्भेक्षणहरूले पनि लेबोरलाई ५१ प्रतिशत र लिबरललाई ४९ प्रतिशतको सत्ता सम्भावना देखाएका छन्। 

अस्ट्रेलियामा एक करोड ६० लाख दर्ता भएका मतदान छन् र यहाँ सन् १९२४ देखि १८ वर्षभन्दा माथिका वालिग मतदाताले अनिवार्य मतदान गर्नुपर्ने प्रावधान राखिएको छ। मतदान नगर्नेले उचित कारणसहित २० डलर जरिवाना तिर्नुपर्ने हुन्छ। 

हरेक तीन वर्षमा आम चुनाव हुने भए पनि सन् २००७ यताका कुनै पनि सरकार पूर्णकालका लागि चल्न नसकेकाले बिच बिचमा चुनाव हुदै आएका छन्।

 

 

प्रकाशित मिति: : 2019-05-18 13:05:07

प्रतिकृया दिनुहोस्