एनआरएन तेस्रो ओसेनिया क्षेत्रीय भेला जग्गा र भवन प्रकरणको छायाँमा

एनआरएन तेस्रो ओसेनिया क्षेत्रीय बैठकपछि आयोजित पत्रकार सम्मेलन। तस्बिरः बीएल


गैरआवासीय नेपाली संघको तेस्रो ओसिनिया क्षेत्रीय बैठक सिड्नीमा आइतबार सम्पन्न भएको छ ।‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नाराका साथ आयोजित सिड्नी बैठकले मुलुकमा लगानी, पर्यटन प्रवर्द्धन र विदेशमा सिकेको सीप र ज्ञानलाई मुलुक भित्र्याउने जस्ता नौबुँदे सिड्नी घोषणापत्र जारी गर्दै सकिएको हो।

 

बैठकपछि एनआरएन तेस्रो ओसिनिया क्षेत्रीय बैठकका निर्णयहरू सार्बजनिक गर्न बैठक आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गर्यो। तर, पत्रकार सम्मेलन बैठकको निर्णय सार्वजनिक गर्नेभन्दा पनि एनआरएनको जग्गा तथा भवन प्रकरणका बारेमा एनआरएनका अध्यक्ष भवन भट्ट तथा पूर्वअध्यक्ष शेष घलेले आयोजना गरेको पत्रकार सम्मेलन जस्तो भयो।

पत्रकार सम्मेलनमा एनआरएन आईसीसीका अध्यक्ष भवन भट्टले ललिता निबास भूमाफिया प्रकरणमा जोडिएको एनआरएनको जग्गा र भवनका बारेमा आफ्नो धारणा राखे। जग्गा तथा भवन निर्माण समितिका संयोजक समेत रहेका भट्टले यस प्रकरणमा एनआरएनको कुनै गल्ती नभएको जिकिर गरे। उनले कानुनी रूपमा सही रहेको सस्तो जग्गा पाएर किनेको बताए तर यसमा भूमाफियाको चंगुलमा आफू फसेको वा मिलिभगतको अंशियार रहेको बारेमा भने केही भनेनन्। उनले जग्गा सरकारीकरण भएमा त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने बताए। 

एनआरएन जग्गा खरिद तथा भवन निर्माणका बेला अध्यक्ष रहेका शेष घलेले नेपाल सरकारका कानुनमन्त्रीज्यूले एनआरएनको सम्पति तलमाथि नहुने बताउनु भएकोले केही शान्तवना मिलेको बताए। उनले यस प्रकरणमा आफूलाई पिर लागेको बताउँदै जग्गा र भवनका सम्बन्धमा आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए। 

बैठकको उद्घाटन नेपालको संघीय सरकारका न्याय, कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गरेका थिए भने अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यानले पनि उद्घाटन समाराेहलाई सम्बोधन गरेका थिए।लिबरल नेतासमेत रहेका कोलम्यानले आफ्नो पार्टीले जितेर सरकार बनाएमा नेपाली सामुदायिक भवन बनाउन सरकारको तर्फबाट १० लाख डलर सहयोग दिने चुनावी आश्वासन पनि दिएका थिए। 

इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारामा दुई दिनसम्म चलेको बैठक औपचारिक रूपमा उद्घाटन, कार्यपत्र प्रस्तुति र छलफल, रात्रिभोज, पाहुनाहरूका लागि रिक्रियसन,  समापन समारोह र पत्रकार सम्मेलनजस्ता कर्मकाण्डी एजेण्डामै सिमीत भयो। अनौपचारिक रूपमा भन्दा भने यो बैठक एनआरएनको जग्गा तथा भवन प्रकरण, एनआरएन अष्ट्रेलियाको आसन्न निर्वाचन र मे १८ मा हुन लागेको अस्ट्रेलियाको संसदीय निर्वाचनको छायाँमा परेको थियो। 

गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठकका निर्णयहरु

गैरआवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केद्रिय अद्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न भयो।नेपालका प्रदेश सांसद माननीय बिष्णु पन्थी, अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, संघका अध्यक्ष भबन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पदाधिकारी तथा मानार्थ समिति सदस्यहरुसहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ।

१. गैरआवासीय नेपालीको सामुहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलबिद्युतलगायतका परियोजनामा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।

२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनात्मक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।

३. महिला सशक्तिकरण अभियानको थालनी र महिला उध्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने निर्णय गरियो।स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिस्चितता गराउने निर्णय गरियो।

४. गैरआवासीय नेपाली संघले Knowledge City / Academy को प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रबिधीलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।

५. नेपाल र अस्ट्रेलियाबीचमा आपसी सहयोग सद्भावलाई कायम राख्न AussieMed Foundation Australia / Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।

६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ बिशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरआवासीय नेपाली बालबालिकालाई नेपाली भाषा, सस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।

७. आवश्यक कानून निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्दछ ।

८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्ताको यो बैठक स्वागत गर्दछ ।

९. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वमसेवी पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

 

 

प्रकाशित मिति: : 2019-05-13 08:26:53

प्रतिकृया दिनुहोस्