सिड्नीमा एनआरएन ओसिनिया बैठक जारी: अस्ट्रेलिया सरकारबाट दश लाख डलर सहयोग घोषणा

सिड्नीमा नेपाली सामुदायिक भवन निर्माणका लागि अस्ट्रेलियन सरकारले १० लाख डलर दिने भएको छ।गैरआवासीय नेपाली संघ तेस्रो ओसिनिया क्षेत्रीय बैठकलाई शनिबार सम्बोधन गर्दै अस्ट्रेलियाका संघीय अध्यागमन मन्त्री डेभिड कोलम्यानले यो कीर्तिमानी सहयोगको घोषणा गरेका हुन्। 

यो सहयोग रकम अस्ट्रेलियाकै सबैभन्दा पुरानो नपाली संस्था नेप्लिज अष्ट्रेलियन एशोसिएसन (एनएए)मार्फत् उपलब्ध गराइने उनले जानकारी दिएका छन्। यसअघि केही महिना अघि नै अस्ट्रेलियाको संद्दीय सरकारले नेप्लिज अष्ट्रेलियन एशोसिएसनलाई एक पत्र लेखी सहयोग अभिरूचि पत्र मागेको थियो। एशोसियसनले नेपाली सामुदायिक भवन निर्माणका लागि सहयोगको अभिरूचिपत्र पठाएको संस्थाका एक पदाधिकारीले बताएका थिए।

अस्ट्रेलिया सरकारको तर्फबाट गरिएको यो सहयोग घोषणाका लागि यहाँको नेपाली डायस्पोराले आभार व्यक्त गरेको छ। गैरआवासीय नेपाली संघ ओसिनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले सहयोगको मुक्तकण्ठले प्रंशसा गर्दै ब्रेक एन लिंक्ससँग भने- 'यो सहयोग पनि हो र नेपाली समुदायप्रतिको सद्भाव पनि हो। यसबाट यहाँ रहेको नेपाली समुदायले अस्ट्रेलियाको मूलधारमा अरू मान्यता पाएको छ।'

एनआरएन ओसिनिया क्षेत्रको दुईदिने तेस्रो बैठक जारी छ। बैठकमा सहभागी हुन नेपालका संघीय कानूनमन्त्री भानुभक्त ढकाललगायतका एनआरएन आईसीसीका पदाधिकारीहरूलगायत विश्वभरका अगुवा एनआरएनहरू यतिबेला सिड्नीमा भेला भएका छन्। 

‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा बनाइएको बैठकमा सम्बन्धित क्षेत्रका विज्ञहरूले कार्यपत्र पेश गर्ने र ती कार्यपत्रमाथि बहस हुने बताइएको छ।

तर, एनआरएन अस्ट्रेलियाको चुनावी सरगर्मी  र काठमाडौंमा रहेको एनआरएनको जग्गा र भवनको लगानी सुरक्षणको विषयको चर्चाले मूल नारा ओझेलमा परेको जस्तो देखिएको छ।अधिकांश सहभागी एनआरएनको जग्गा र भवन खरिद गर्ने शेष घले र भवन भट्ट यही भएकाले उनीहरूबाट जवाफ पाउँनुपर्ने गाइँगुइँ गरिरहेका भेटिन्छन्। 

आसन्न एनआरएन अष्ट्रेलियाको चुनाव अस्ट्रेलियाका लागि मात्र हैन, आगामी आईसीसी चुनावका लागि पनि महत्वपूर्ण भएकाले त्यसतिर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानकर्षण भएको छ। सदस्य संख्याका हिसाबले संसारकै सबैभन्दा ठुलो एनआरएन बनेको अष्ट्रेलियाबाट एनआरएन आईसीसीको आगामी साधारणसभामा एकसय ७८ प्रतिनिधि सहभागी हुने भएकाले नेतृत्व चयनमा यो संख्याको अहम् भूमिका हुन्छ। 

प्रकाशित मिति: : 2019-05-11 22:49:22

प्रतिकृया दिनुहोस्