अष्ट्रेलियामा आफ्नै दुई भक्त महिलामाथि यौनहिंसा गर्ने भारतीय स्वामी पक्राउ

अष्ट्रेलियाको आध्यात्मिक भ्रमणमा रहेको भनिएका एक भारतीय योगगुरू सिड्नीमा पक्राउ परेका छन्। 

पक्राउ पर्ने ३८ वर्षीय आनन्द गिरी रहेको बताइएको छ। उनलाई दुई महिलामाथि यौनहिंसा गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गिरीमाथि सन् २०१६ को नयाँ वर्षका दिन पश्चिम सिड्नीको रूटी हिलमा आयोजित प्रार्थनासभामा एक ३४ वर्षिया र २९ वर्षिया महिलामाथि यौनहिंसा गरेको आरोप लागेको छ।

ती दुबै महिला गिरीका भक्त भएको पनि प्रहरीले बताएको छ। 

भारत फर्किने तयारीमा रहेका गिरीलाई प्रहरीले पक्राउ गरी रिभरस्टोन प्रहरी हिरासतमा राखेको थियो।

आइतबार उनलाई अदालतमा पेस गरिएको थियो। उनका वकिलले गिरीलाई वक्सी पार्कस्थित मन्दिरको जमानतमा छोड्न माग गरे पनि न्यायाधीशले त्यो माग अस्विकार गरेका थिए।

अहिले प्रहरी हिरासतमै रहेका गिरीलाई बुधबार अदालतमा उपस्थित गराइने बताइएको छ। 

 

 
प्रकाशित मिति: : 2019-05-07 01:10:32

प्रतिकृया दिनुहोस्