पर्यटनमन्त्री योगेश भट्टराईको 'लण्डन-घोषणा'

पर्यटनमन्त्री योगेश भट्टराईले स्विट्जरल्याण्डको ज्यूरिख विमानस्थलले समेत निकै चासोका साथ हेरेको निजगढ विमानस्थल कुनै पनि हालतमा निर्माण गरेरै छाड्ने बताएका छन् । वेलायतको लण्डनमा गैरआवासीय नेपाली संघ वेलायतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।  

मन्त्री भट्टराईको प्रष्ट कथन थियो, 'काठमाडौँको विमानस्थलमा यात्रुहरुले भोग्नुपरेको समस्याप्रति म सचेत छु । बेलामा लगेज आउन्न । भएका चारवटा बेल्टमा अरु दुईटा थपे पनि समस्या समाधान हुन्न । तिब्र गतिमा अन्तर्राष्ट्रिय उडान भर्ने गरी बनिरहेको भैरहवाको गौतमबुद्ध विमानस्थल र पोखराको क्षेत्रीय विमानस्थलको काम सम्पन्न भएपछि चाप कम हुन्छ । तर त्यसले पनि समाधान हुन्न, ठूला बोइङ र अत्याधुनिक सुविधासम्पन्न विमानस्थल निचगढमा बनेपछि मात्र त्यसको दीर्घकालीन समाधान हुन्छ । कुनै पनि बहानामा निजगढ विमानस्थलबाट पछाडि फर्कने ठाउँ छैन ।'

स्विट्जरल्याण्डको ज्यूरिख अन्तर्राष्ट्रिय विमानस्थलले समेत चासो दिएको निजगढ विमानस्थल सन् ८५देखि नै अध्ययन अनुसन्धान थालेर लामो अभ्यासपछि चुनिएको ठाउँ भएकोले दक्षिण एशियाकै ठूलो ट्रान्जिट हबको रुपमा विकास गर्न नबनाइ नहुने तर्क मन्त्री भट्टराईको थियो ।

जग्गाको स्वामित्वको ठूलो समस्या

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको दुई-तिहाइको स्थीर सरकार आइसकेपछि देश-विदेशबाट लगानी गर्नेहरुको चाप बढेको तर देशमा जग्गाको स्वामित्वको विकराल समस्या रहेको मन्त्री भट्टराईले बताए ।

मन्त्रीको कथन थियो, 'पूँजिवाद भनिने अमेरिकामा पनि राज्यको स्वामित्वमा जग्गा छ । समाजवाद भनिने चीनमा पनि राज्यको स्वामित्वमा जग्गा छ । नेपालमा भने ठूला जमीनहरु व्यक्तिका नाममा छन् । नेपालको जमीनको नीति लगानी मैत्री छैन । ठूलो उद्योग खोल्न लगानीकर्ताहरु आउँदा पनि राज्यले जग्गा दिन सक्दैन । जग्गा अधिग्रहण गर्दा अधिग्रहणमै कम्पनी चलाउने भन्दा धेरै खर्च हुने स्थिति रहन्छ । अनि कसरी उत्पादन सहजरुपमा दिने ?'

लगानीको नीति उदार भएपनि जग्गा नीति मैत्रीपूर्ण नहुँदा नेपालमा ठूला उद्योगधन्दा खोल्न अप्ठेरो परेको उनको भनाइ थियो ।

फेसबुक कम हेर्न मन्त्रीको आग्रह

नेताहरुको दूरदर्शिताले देशमा अरु देशमा संविधानसभाबाट बन्न नसककेको संघीय सम्विधान नेपालमा बनेको चर्चा गर्दै मुलुकमा विकासका कामहरु ओली सरकार आएपछि तिब्र रुपमा अघि बढिरहेको मन्त्री भट्टराईले दाबी गरे । गाउँपालिकादेखि माथिल्लो निकायसम्म जनप्रतिनिधिहरुले काम गरिरहेको, एकाध कमीकमजोरी भएपनि विश्व बैँक र एशियाली विकास बैँकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर बढेको उनको दाबी थियो ।

मन्त्री भट्टराईले भने, फेसबुक र सामाजिक सञ्जाल मात्रै हेरेर विचार बनाउने हो भने देश डुबिसक्यो । नेपाल नर्ककूण्ड नै हो कि झैँ लाग्छ फेसबूक हेर्दा । त्यसैले साथीहरुलाई फेसबुक कम हेर्न आग्रह गर्दछु । कहिलेकाहीँ चाइनाले किन फेसबुक बन्द गर्यो होला भन्ने लाग्छ । कहिलेकाहीँ फेसबुक बन्द गरेर ठीकै गरेछ कि जस्तो पनि लाग्छ । तर, हामी फेसबुक बन्द गर्दैनौँ । त्यसो होइन, हामी सकारात्मक दिशामा छौँ ।

फेसबुक र सामाजिक सञ्जाल मात्रै हेरेर विचार बनाउने हो भने देश डुबिसक्यो । नेपाल नर्ककूण्ड नै हो कि झैँ लाग्छ फेसबुक हेर्दा । त्यसो होइन, हामी सकारात्मक दिशामा छौँ ।

 

बेलायतमा बसेका नेपालीहरू : अन्तरक्रियामा मन्त्री भट्टराईलाई सुन्दै ।

गोर्खाहरुको मागप्रति सकारात्मक

वेलायतमा लामो समयदेखि जारी गोर्खा सैनिकहरुको समस्या समाधान गर्न एककदम काम अगाडि बढिसकेको मन्त्री भट्टराई बताए । राजदूत दुर्गा बहादुर सुवेदी आएपछि वार्तामा बस्नै तयार नभएको वेलायती पक्षलाई वार्ताको टेबुलमा ल्याउन सफल भएको, गोर्खा सैनिकको मागलाई पहिचान गरी लिपिवद्ध गरिएको र यसैलाई आधार मानेर आउने दिनमा सरकारले वेलायती पक्षसँग कुराकानी अगाडि बढाउने उनले बताए ।

राजदूत सुवेदीको प्रशँसा गर्दै मन्त्री भट्टराईले भने, उहाँले गरेको दश प्रतिशत काम पनि यस अघिका वेलायतमा रहेका नेपाली राजदूतहरुले गरिदिएको भए यो समस्या उहिल्यै समाधान भैसक्थ्यो ।

दोहोरो नागरिकताको माग : आउनुहोस् कुराकानी गरौँ

एनआरएन यूकेका अध्यक्ष पुनम गुरुङले उठाएको दोहोरो नागरिकताको हकसम्बन्धी प्रश्नमा आफूहरुकै पहलमा संविधानमै गैरआवासीय नेपालीहरुको हक अधिकार लिपिवद्ध गरिएको बताए ।

दुई ठूला महाशक्ति हुने होडमा रहेका ठूला जनसंख्या भएका देशको बीचमा निकै होशियारीपूर्वक नागरिकताको नीति बनाउनुपर्ने अवस्था रहेको बताउँदै उनले भने, हात्तीहरु झगडा गरेपनि दुबोको नाश, हात्तीहरु माया गरे पनि दुबोको नाश, यस्तो अवस्थामा हामी छौँ । संसदको राज्यव्यवस्था समिति, संसद र नीति निर्माणको सबै तहमा गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वसँग छलफल गरेरै आगाडि बढ्ने हाम्रो नीति छ । आउनुहोस् कुराकानी गरौँ ।

 कहिलेकाहीँ चाइनाले किन फेसबुक बन्द गर्यो होला भन्ने लाग्छ । कहिलेकाहीँ फेसबुक बन्द गरेर ठीकै गरेछ कि जस्तो पनि लाग्छ । तर, हामी फेसबुक बन्द गर्दैनौँ । 

युरोप र नेपालको हवाइमार्ग जोड्न सबै राजदूतसँग कुरा गरेँ

आफू मन्त्री भएर आइसकेपछि युरोप र नेपालको सिधा हवाइ सम्पर्क जोड्न युरोपेली युनियन र युरोपका सबै देशका राजदूतहरुसँग आफूहरुले कुरा गरेको उनले बताए । प्रधानमन्त्रीले समेत तपाइँहरुको देशबाट विमान ल्याउन हुने, उडाउन नहुने भनेर युरोपेली मुलुकका राजदूतसँग कुराकानी अगाडि बढाएको बताए ।

वास्तवमा वाइडबडी विमानको खरिदको मूल तात्पर्य नै युरोप, अष्ट्रेलिया, कोरिया र जापानसँगको सिधा उडानसँग सम्बन्धित थियो । छिटै नै नेपालले युरोपेली आकाशमा उड्ने अनुमति पाएरै छाड्ने नीतिगत रुपमा आफूहरु असाध्यै लागिपरेको बताए ।

उनको भनाइ थियो, 'मलेशिएन एयरलाइन्स कहाँ गयो ? नेपालमा पनि एकाध दुर्घटना भए होलान् । नेपाललाई युरोपमा उड्न नदिएर गल्ती भएछ कि भन्ने राजदूतहरुले महसुस गरेकाछन् ।'

भ्रमण वर्ष सफल पार्न अनुरोध

पर्यटन विकासको कुरा जता गएपनि पूर्वाधारसँग ठोक्किने हुनाले पूर्वाधार विकासमा सरकारले काम गरिरहेको छ छिटै नै देखिने उनको दाबी थियो । आउने वर्षलाई मात्रै नभएर त्यसपछिलाई समेत लक्ष्य राखेर तन,मन,धनले पर्यटन वर्ष ०२०लाई सफल पार्न वेलायतवासी नेपालीलाई मन्त्री भट्टराई आग्रह गरे ।

सि जिनपिङले चिनियाँ जनतालाई बुद्धभूमी नेपालमा भ्रमण गर्न नेपालबाट फर्केर आफ्ना जनतालाई आव्हान गरिसकेको बताउँदै उनले ठट्यौलो पारामा भने, 'चीनमा राष्ट्रपतिले त्यसो भन्नु कम्युनिष्टहरुको सर्कुलर जस्तै हो । अहिलेका कम्युनिष्टको जस्तो होइन । हाम्रा पालाको कम्युनिष्टको जस्तो । सर्कूलर पूरा नहुँदासम्म हामी कुँद्थ्यौँ । जे होस्, चीनको जनसंख्याको थोरै मात्रै प्रतिशत ल्याउन सके हाम्रो अर्थतन्त्रलाई ठूलो बल पुग्नेछ ।'

प्रकाशित मिति: : 2019-11-04 04:43:54

प्रतिकृया दिनुहोस्