प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ ।
आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले भने, ‘२७ अक्टुबर कश्मीरको लागि कालो दिन हो । हामीले कश्मीरमा भएको मानवअधिकार उल्लंघनलाई हेरेर भारतको अनुरोध अस्वीकार गरेका छौं ।’
पाकिस्तानले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको पछिल्लो दुई महिनाको अवधिमा यो दोस्रो पटक हो । यसअघि २० सेप्टेम्बरमा पनि भारतले मोदीको जर्मनी भ्रमणको बेलामा पाकिस्तानको आकाश हुँदै उड्ने अनुमति मागेको थियो । भारतको त्यो अनुमतिलाई पनि पाकिस्तानले अस्वीकार गरेको थियो ।
यसअघि बालाकोट आक्रमणको बेलामा पनि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । उडान लामो र खर्चिलो हुने भएपछि भारतका धेरै एयरलाइन्सहरुले अन्तर्राष्ट्रिय उडान रद्द गरेका थिए ।
पाकिस्तानले इन्कार गरेपछि सोमबार भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विमानबाट लामो बाटो हुँदै साउदी पुगेका छन् । मोदीले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र किंग सलमानसँग हुनेछ ।
मोदीले साउदी अरब पब्लिक इन्भेष्टमेन्ट फन्डद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन पनि गर्ने छन् । यसलाई दावोस अफ द डेजर्टस्को नामबाट पनि चिनिन्छ ।