जेनेभामा नेपालको राष्ट्रिय दिवश : 'देश समृद्ध भए शीर ठाडो पारेर हिँड्न सकिन्छ'

जेनेभामा संविधान दिवश तथा राष्ट्रिय दिवश मनाउँदै नेपालीहरू । तस्बिर : बीएल

नेपाली दूतावास र नेपाली मिसनको आयोजनामा स्विट्जरल्याण्डको जेनेभामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा मिसन प्रमुख मणिप्रसाद भट्टराईले भने, संविधानको भावना र मर्मअनुरुप इमान्दारीपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुन्छ । देश समृद्ध भए अहिले जस्तो शीर निहुराएर हैन, शीर ठाडो पारेर संसारभरि हिँड्न र बोल्न सकिन्छ ।

गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न र सरकारले आव्हान गरेको भिजिट नेपाल २०२०को कार्यक्रमलाई सफल पार्न आफ्नो ठाउँबाट पहल गर्न अनुरोध गर्दै मिशन प्रमुख भट्टराईले भने, 'राजनीतिक बाहेकको आर्थिक र सामाजिक हकसहितको नागरिकताको निम्ति कानून बनिरहेको छ । त्यसैले स्विट्जरल्याण्ड निवासी सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई नेपालमा लगानी गरेर देश समृद्ध बनाउने काममा सहयोग गर्न र कम्तिमा एकजनाले एकजनैमात्र भए पनि विदेशी नेपाल पठाउन पहल गरे देशको लागि ठूलो मदत हुनेछ ।'


संविधानको भावना र मर्मअनुरुप इमान्दारीपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुन्छ । देश समृद्ध भए अहिले जस्तो शीर निहुराएर हैन, शीर ठाडो पारेर संसारभरि हिँड्न र बोल्न सकिन्छ ।
-मणिप्रसाद भट्टराई, स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा मिसन प्रमुख

प्रवासी नेपाली एकता मञ्चका विक्रम केसी, जनसम्पर्क समिति स्विसका श्याम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केसीले दूतावास र नियोगले स्वीसबासी नेपालीसँग समन्वय गरेर काम गरे भिजिट नेपाललगायतका काम सफल हुने बताए भने सापकोटाले गणतन्त्र आए पनि तलकालाई नआएको बताए ।

यो पनि हेर्नुहोस् 
न भारतले निजगढ एयरपोर्ट बन्न दिन्न?

 

नृत्याङ्गना मन्जु फूयाँलको राष्ट्रभक्तिको नृत्यसँगै राष्ट्रगानबाट आरम्भ गरिएको समारोहमा कवि लक्ष्मण देवकोटाले कविता वाचन गरेका थिए । दिपेन्द्र रावत, नीता कपूर, गौरी गुभाजूलगायतका स्थानीय कलाकारले रमाइला नृत्य प्रस्तुत गरेका थिए । संविधान दिवसको महत्वका बारेमा दूतावासको तर्फबाट भुवन पौडेलले बताएका थिए । स्थायी नियोग जेनेभाका नायब प्रतिनिधि तीर्थराज वाग्लेले धन्यवाद दिँदै स्विसबासी नेपालीसँग समन्वय गरेर हिजोका दिनमा जस्तै नियमित कार्यक्रम गरिने बताए । 

नेपालीलाई जबर्जस्ती नेपाल पठाउने काममा दूतावासको कुनै भूमिका छैन केही महिनादेखि कानूनी रुपमा बस्ने अधिकारको पर्खाइमा रहेका नेपालीलाई स्विस सरकारले धमाधम नेपाल पठाइरहेको विषयमा गैरआवासीय नेपाली संघ स्विटजरल्याण्डको तर्फबाट अध्यक्ष शिब सुब्बा र आइसीसी सदस्य भूमिराज गुरुङले विशेष भेट गरेका थिए । भेटमा कुनै पनि नेपालीहरुलाई जबर्जस्ती नेपाल पठाउनुपर्छ भनेर दूतावासले अहिलेसम्म कुनै कागज नबनाएको हुँदा सो विषयमा नेपाली समुदायलाई प्रष्ट पारिदिन एनआरएनका प्रतिनिधिलाई दूतावासले आग्रह गरेको छ ।

 

स्विस सरकारको छानविनको क्रममा रहेका केही व्यक्तिलाई काठमाण्डूस्थित स्विस दूतावासका कर्मचारी र आप्रवासनका सुरक्षाकर्मीले पूर्ण छानविन र यथेष्ट प्रमाण पूरा गरेर सोझै विमानमा हालेर लगेको विषयमा आफूहरुलाई जानकारी प्राप्त भएको दूतावासले बतायो । श्रम गरेर घरपरिवारलाई आर्थिक सहयोग गरिरहेकालाई मानवीय नाताले पनि जबर्जस्ती नेपाल पठाउने दूतावासको कुनै उद्देश्य नरहेको प्रतिनिधिहरुलाई बताइएको थियो ।

 

प्रकाशित मिति: : 2019-09-24 03:15:08

प्रतिकृया दिनुहोस्