गोरो र हँसिलो अनुहार, चिटिक्क परेको रंगी-बिरंगी कलेबरको सफा पहिरन र जतनपूर्वक कोरिएको सेतो कपाल, अनि बाह्रै मासको युवा जोश । यो विशेषता बोकेका मिसेल अलाँ ओललाई देख्ने जो कोहीले पनि उनको उमेर झट्टै अनुमान लगाउँन सक्दैन ।
तर, यो साँचो हो कि उनी ७५ वर्ष पुगिसके । अझ अजबको कुरा त के हो भने उनी न्यूरोन क्यान्सरका गम्भीर विरामी हुन् ।
बिहान साढे ९ बजे नै उनी गाडी लिएर जेनेभाको कफी पसलमा आइपुग्छन् र १५ घण्टासम्म उभिएर ग्राहकको सेवा गर्छन् । उनी यो कफी सपका मालिक होइनन्, महिनावारी तलब पाउने कामदार हुन् ।
यो पनि पढ्नुस्
डेढ वर्षदेखि ‘ए.एल.एस.’ रोगबाट थलिएका टेण्डी
जेनेभाको प्रसिद्ध लेमन तालको छेउमा रहेको यो कफी यति व्यस्त हुन्छ कि कहिलेकाहीँ बन्द गर्दा बिहानको एक बज्छ ।
यही रफ्तारमा उनको जीवनको पांग्रो घुमिरहेको छ । हुन त उनी सांगितिक प्रभाव पार्ने रेष्टुरेन्टका मालिक हुन्, जुन अहिले वार्षिक भाडामा दिएका छन् । रेखदेख गर्ने सबै जिम्मा अर्कैले लिएको छ ।
झट्ट हेर्दा कसैले पनि विश्वास गर्न सक्दैन कि उनी गएको डेढ दशकदेखि दुर्लभ रोग न्यूरोनको क्यान्सरबाट पीडित छन् । सँगै काम गर्ने कतिपय साथीलाई पनि यसको जानकारी छैन ।
ठीक ठीक समयमा एउटै गोलीको ४० हजार रूपैयाँसम्म पर्ने औषधी खाइरहेका छन् । घरिघरी जीउ बाउँडिएर अहिले नै सकियो जिन्दगीझैँ हुन्छ । त्यसपछि उनी केही समय आराम गर्छन् । र, फेरि नियमित काममा लाग्छन् । यो क्यान्सर विरोधी औषधीको साइड इफेक्ट रहेछ ।
मिसेल होल स्विजरल्याण्ड जेनेभाका बासिन्दा । जेनेभाभन्दा केही पर कृषक परिवारमा जन्मिएका साधारण मानिस हुन् उनी । दुई छोरा र एक छोरीका पिता । तीनैजना जेनेभामै छन् तर भेटघाट भने आक्कलझुक्कल मात्रै हुन्छ ।
उनीहरु आफ्नै संसारमा मस्त छन्, यिनी आफ्नै संसारमा । बाँचे पनि सँगै, मरे पनि सँगै भनेर कसम खाएर बिहे गरेकी श्रीमतीले अर्कै मानिस रोजेर हिँडेकी पनि २० वर्ष भन्दा बढी भएछ ।
झ्यालबाटै फ्रेन्च श्वेत हिमाल अर्थात् मो ब्लोँ, स्विस र फ्रान्सको हरियो खेतीयोग्य जमीन, परसम्मका हिमाली रेन्ज र शहरको धेरै भाग देखिने आफ्नै अपार्टमेन्टमा बस्छन् उनी । कहिले ग्यारेजको काम, कहिले कफी सपको काम, कहिले फेक्ट्रीको काम गर्दैै निवृत्त तर सक्रिय जीवन बिताएका मिसेलका छोरा नगरपालिकाको उच्च तहमा कार्यरत छन् । अन्तर्राष्ट्रियस्तरका कन्सर्ट, मेला र ठूला ठूला सांगितिक कार्यक्रम आयोजना गर्छन् ।
जीवन के रहेछ त ? गोरा आँखाबाट उज्यालोको कारण झरेका आँसुका दुई थोपा पुछ्दै चश्मालाई टेबुलमा अड्याएर उनले एकै सासमा भने- 'उपहार हो जीवन । गिफ्ट । बचाएर राख्न सके राम्रो । जतन गरे राम्रो । बिगारे नराम्रो ।' जीवनप्रतिको थप धारणा बताउँदै उनले भने- ' म जीवनप्रति असाध्यै सकारात्मक छु । यतिका वर्षसम्म मलाई यही सकारात्मकताले नै बचाइरहेको छ ।'
यो पनि पढ्नुस्
थापा दम्पतिकाे म:म: जस्ताे स्वादिलाे जिन्दगी
छोराछोरी यहीँ सहरमा भएर पनि नियमित भेट हुँदो रहेनछ । एशियाली संस्कृति र सभ्यता बुझेका, इलेक्ट्रोनिक इन्जिनियरिङ विषय पढेका र आफ्नै सांगितिक क्याफे सप समेत धेरै वर्ष चलाएको अनुभवसमेत बटुलेका मिसेल ले भने- 'म उनीहरु खुशी भएको देख्न चाहन्छु । बाबु हुनुको नाता यो एउटा दायित्व पनि हो । सबैले आफ्नै जीवन बिताउने हो । उनीहरु खुशी होउन् । सँगै बसेर मात्रै खुशी हुने भन्ने कुरा गलत हो ।'
उनी छोराछोरी छुट्टै बसेकोमा चित्त बुझाउँदै भने- 'उनीहरू अरूजस्तै स्वतन्त्र बस्न रुचाउँछन् । म उनीहरुको स्वतन्त्रताको सम्मान गर्छु । उनीहरु मलाई सञ्चो-बिसञ्चो सोध्छन् । जन्मदिनको दिन भेट हुन्छ । जीबन यस्तै त हो ।'
उनले असाध्यै माया गरेकी स्वास्नी अर्कैसँग पोइल गएपछि उनलाई साह्रै चोट परेछ । एकदिन उनले आफ्नो जारसँग स्वास्नीलाई भेटेछन् । असाध्यै मिल्ने साथीसँग भेटिएका उनकी पहिलेकी स्वास्नी र उनको लोग्नेसँग अरु दुईजना साथी पनि रहेछन् । जारले मिसेलको परिचय गराउँदै साथीलाई भनेछ- 'उहाँ मेरी श्रीमतीको पूर्वलोग्ने । असाध्यै सज्जन हुनुहुन्छ ।' त्यो सुनेर उनकी पूर्वश्रीमतीले कहेी बोलिनछन् । बरू उल्टै उनले नयाँ जीवनका लागि शुभकामना दिएछन् र भनेछन्- 'आफ्नो ख्याल गर्नू । म तिम्रो स्वतन्त्रताको सम्मान गर्छु । जीवनमा सधैभरी खुशी रहनू ।'
उनलाई क्यान्सर भएको थाहा पाएपछि पहिलेकी स्वास्नीले नियमित औषधी खानू भनेर सम्झाइबुझाइ गरिछन् । उनले चुपचाप सुनेछन् । मनमनै गमेछन् , साथ दिन नसक्नेले मेरो पीरलो किन गरेकी हुन् ?
भान्साको माथिल्लो तलोमा लहरै औषधी राख्ने ठाउँ छ । सानोतिनो फार्मेसी जस्तो । खुट्टादेखि टाउकोसम्मको नानाथरी औषधी । असाध्यै महँगो न्यूरोनको क्यान्सरको कोषिका बढ्न नदिने औ षधी । अनि त्यसको साइड इफेक्ट रोक्ने अर्को औषधी । बिहान उठेदेखि नसुत्दासम्म यो श्रृँखला जारी रहन्छ उनको ।
कमाइको झण्डै तेब्बर महँगो औषधीको खर्च कसरी चल्छ त ? मिसेलले भने- 'सरकारले बेहोर्छ । मैले बल-बैँस छँदासम्म नियमित तिरेको करबाट काटिन्छ । फेरि मेरो उमेरका कारण पनि स्विट्जरल्याण्ड सरकारले मेरो औषधि खर्च बेहोर्नु उसको दायित्व हो । जीवनभर कर तिरेको यसैको लागि हो ।'
यो पनि हेर्नुस्
सरकारको यो कर तिर्ने नियम र बूढापाकालाई रेखदेख गर्ने पद्धतिकै कारण आफूले यो संसार देख्न पाएकोमा उनी खुशी छन् ।
'कति धेरै परिवर्तन आयो हेर्दाहेर्दै ?' उनी परिवर्तनको कुरा सुनाउँदै थिए- ' जेनेभाको यो बाक्लो बस्ती पहिला खेतीपाती गर्ने बारी थियो । यसरी चिटिक्क परेका घर थिएनन् । पुरानो रेलगाडी थियो । कोइलाले चल्ने रेल पनि चढियो । अहिले नयाँ प्रविधिले संसार सानो भएको छ । हातैमा संसार आएको छ । प्रविधिको क्षेत्रमा आएको ठूलो परिवर्तनले पहुँच हुनेको आयु बढाइदिएको छ । यो पहुँच जनतासम्म पुर्याउने काम राज्यको हो।'
काठमाण्डूका कलेजमा गणित विषय प्राध्यापन गरेका सहयोगी साथी कमल केसीले दोभाषेको काममा सघाउँदै गर्दा मिसेलले खाना बनाए । घडीले बेलुकीको ६ बजाउँदै थियो । उनले तावामा तेल तताए । नेपालीलाई खशीको मासु मन पर्छ भन्ने उनलाई थाहा रहेछ । खशीको एकुन्टा टुक्रा तावामा तताए । उसिनेको आलु माइक्रो ओभनमा घुमाए । सलाद धोएर पानी तर्काएर टेबुलमा राखे । माछा पकाए । उनी राम्रा कूक पनि रहेछन् । फ्रिजको चिसो पानीसँगै हामीले बेलुकीको हल्का खाना खायौँ ।
यो पनि पढ्नुस्
बिएल बिशेष: 'मेक्सिको वाल' स्थलगत रिपोर्ट
असाध्यै स्नेहपूर्वक उनले भने- 'म नेपाली साथीहरुसँग काम गर्छु । सबै मेहेनती । सहयोगी । नेपालीहरु मनका असाध्यै सफा हुन्छन् र मिजासिला पनि ।'
गफिँदागफिँदै रातको १० बजेछ । आफै गाडी चलाएर हाम्रा गुँडसम्मै छोड्न आए । विदा हुने बेला उनलाई भन्यौँ- 'हामी त परिवारसँग छौँ । तिमी एक्लो छौं, आफ्नो ख्याल गर्नू ।' हाँस्दै मिसेलले भने- 'म मेरो दैनिकीप्रति अभ्यस्त छु । काम गरेर भुल्ने बानी परिसकेको छ । यही शहरमा हुर्किबढेँ । यही शहरसँग आत्मियता छ ।'
आत्मियता छ र त जीवन सुन्दर छ ।