मदन भण्डारीको जनताको बहुदलीय जनवाद स्थापित नभएको भए एमालेको पक्षमा जनलहर आउने थिएन। मदन भण्डारी नमारिएको भए एमालेको पक्षमा उभार उठ्ने थिएन । एमालेको जनाधारसँगसँगै माओवादीले सशस्त्र युद्ध नगरेको भए राजतन्त्र जाने थिएन । नत गणतन्त्र आउँने थियो ।
मानिसहरु गाउँवस्तीमा यसै भन्ने गर्छन् । अहिले जनताको बहुदलीय जनवाद नै पार्टीको लाइन बनाउने विषयमा इश्वर पोखरेलको समूहले आवाज उठान गर्न थालेको छ । ओलीविरोधी छवि बनाएका तर मार्क्र्सवादको अध्ययनमा आफ्नै परिचय बनाएका पूर्वएमाले घनश्याम भुसाललगायतका नेता तथा प्रचण्डपक्षीय माओवादी नेता जनताको बहुदलीय जनवादले यहाँसम्म आइयो, अब वैचारिक रुपमा अर्को फड्को मार्नुपर्ने भनिरहेका छन् । यिनै र समसामयिक विषयको सेरोफेरोमा स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठनको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीसँगै सहभागी हुन आएका मदन-आश्रितका सहयात्री, नेकपा स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग ब्रेक एण्ड लिँक्सका युरोप सम्पादक लक्ष्मण देवकोटा र पत्रकार अनुराधा पौडेलले भलाकुसारी गरेका थिए । प्रस्तुत छ, भलाकुसारीको मूल अंश ।
अहिलेसम्म सरकारमा गएपछिका गतिविधिहरुप्रति आफ्नै मूल्यांकन कस्तो छ ?
नीतिगत तहमा गर्नुपर्ने नीतिगत काममा हामीले यो समय गुजार्यौँ । जग बसाल्ने काम भएको छ । अब गति लिन्छ । स्वाभाविक रुपमा जनताहरुले हामीलाई दिनुपर्ने दिइसक्नुभएको छ । अपेक्षाहरु हुने नै भए । नीतिगत रुपमा रहेका अप्ठेराहरु हटाउन धेरै हदसम्म हामी सफल भएका छौँ । अब तपाईंले परिणामहरु देख्न सक्नुहुनेछ ।
निर्मला हत्याकाण्ड लगायतका अपराधहरुको श्रृँखला बढिरहेको छ । बम विष्फोटनका घटनाहरु बढिरहेका छन् ? यसबारे तपाईं के भन्नुहुन्छ ?
घटनाहरु पहिले पनि घट्थे । अहिले हामीहरुसँग सूचना सहज भएको छ । जहाँसम्म निर्मला हत्याकाण्डको सवाल छ, निर्मलाको केसमा प्रहरी चुकेकै हो । महिला प्रहरीहरुले मकैबारीमा घोप्टो परेको लास फर्काउने क्रममा विभत्स दृश्य देखेपछि त्यो छोप्नको निम्ति केही चिज नभएर त्यही सुरुवाललाई उपयोग गर्ने सन्दर्भमा भएको त्रुटी, अनि पछि पत्रकार खेमको साह्रै गलत भूमिकाले विषयलाई अल्मल्याइदियो । पछि पछि विभिन्न समूह, विभिन्न स्वार्थहरु गाँसिएर निर्मलाको केस अन्तै पुग्यो । बडो अप्ठेरो परिस्थिति सिर्जना भयो ।
खेमको भूमिकाले किन बिथोल्यो र ?
म प्रचार विभागमा हुँदा खेमको जोश जाँगर, उत्साह देखेर मैले नै उनलाई जिम्मेवारी दिएको थिएँ । उनले मेयरमा उम्मेदवार हुने चाहना राखेका थिए । प्रदेशसभाको उम्मेदवार हुने पनि ईच्छा थियो । पछि उनले नपाएपछि पार्टीबाट टाढिँदै गए । अन्तत: गलत मान्छेको संगतमा पुगेर गलत काम गरे । उनले यो केशलाई ट्विस्ट गर्न, छानविनलाई कम्प्लिकेटेड बनाउन ठूलो प्ले गरेका छन् । त्यसो भन्दैमा हामी रोकिएका छैनौँ । देशमा शान्ति सुरक्षा दिनु हाम्रो दायित्व हो । हामीले काम गरिरहेका छौँ ।
सन्दर्भ अलिकति बदलौँ, पार्टीमा महाधिवेशनको चलखेल शुरु भएको हो ?
जीवन्त पार्टीमा विचारको छलफल हुनु त लोकतान्त्रिक प्रकृया नै हो । हैन र ?
मदन आश्रितको कुरा कोट्याउँ, मदन आश्रितको हत्याकाण्डको सन्दर्भ सकिएको हो ?
भर्खरै जेठ ३ सकियो । बडा गम्भीर कुरा आयो । हाम्रा आदरणिय नेताहरुकै कारण हामी जनताका भएका छौँ । कमरेड मदनले जनताको बहुदलीय जनवादको प्रतिपादन नगर्नु भएको भए, आम कार्यकर्ता पंक्तिसम्म त्यो नलैजानु भएको भए, त्यो अनुसार प्रशिक्षित नगर्नु भएको भए, नेपालको कम्युनिष्ट आन्दोलन यहाँ आइपुग्ने थिएन । यो सत्य हो ।
सहयात्री तपाइँहरु मन्त्री, उहाँकै निकट क्रान्तिकारी योद्धा प्रधानमन्त्री, जीवनकै सहयात्री दुईदुई पटक राष्ट्रपति हुँदा पनि मदन आश्रितको हत्यारा पत्ता लगाउन किन प्रयास गरिँदैन ?
हामीहरु पनि हत्यारा पत्ता लगाउन गम्भीर भएकै हौँ । छौँ अझै पनि । तर भैदियो के भने, भएको प्रमाण सुरक्षित भएन । एकजना जिवित प्रमाण अमर लामाको हत्या भयो । अमर लामासँगै धेरै कुराको अन्त्य भयो । भिसेरा रिपोर्ट पनि कहिलेकाहीँ सत्य नहुने, भिसेरामा भेटिएको केमिकल्स अन्य कारणले पनि निस्कन सक्ने जस्ता साइन्टिफिक कुराहरु आए । सबैको हृदयमा रहनुभएका दुवै श्रद्धेय नेताहरुको हत्या पत्ता लगाउन पार्टीको विशेष टिमले काम गरिरहेको पनि छ । अहिलेलाई यत्ति भनौँ होला ।
त्यसको इन्डिकेटर कतै छ ?
मदन कमरेडको स्मृतिमा तत्कालीन राजा वीरेन्द्रको शोक हेर्नोस् न । त्यो बडो गम्भीर छ । राजा वीरेन्द्र मदन कमरेडबाट असाध्यै प्रभावित थिए । तर दरबार भित्रै हार्डलाइनर भन्नोस्, रानी ऐश्वर्य, ज्ञानेन्द्र जस्ता, र्याडिकलहरुको नजरमा उहाँ खतरा हुनुहुन्थ्यो । अर्को तर्फ मदन कमरेडले टनकपुरको विषयमा राष्ट्रव्यापी उभार निकाल्नुभयो, त्यसले भारतीय नेतृत्व तहलाई झस्काएकै हो । यी दुई एक्लाएक्लै या दरबारभित्रका हार्डलाइनर र भारतीय तत्कालीन संस्थापन पक्षको हार्डलाइनरको संयुक्त योजनामा यो षडयन्त्र रचिएको हुनसक्छ ।
अमर लामाका हत्याराहरु त माओवादीका कार्यकर्ताहरु थिए भन्छन् । कतै तत्कालीन माओवादीको नेतृत्व तहले मदनलाई नपन्छाइ आफ्नो अभिष्ट पूरा नहुने देखेर यो षडयन्त्र रचेका त होइनन् ?
हेर्नोस् यी सब हाइपोथेटिकल कुरा हुन् । नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएका कमरेड प्रचण्डको नेतृत्वमा त्यस्तो काम भएको जस्तो मलाई लाग्दैन ।
स्विटजरल्याण्ड आएको बेला यो प्रसंग नउठाई कुराकानी गरेकै खास अर्थ रहदैन ।त्यसैले यो अन्तिम प्रश्न । लेनिन बिष्ट नाम गरेका पूर्वमाओबादी लडाकु युवा युरोप भ्रमणमा रहेका छन् । यसबारेमा जानकार हुनुहुन्छ ?
छौं !
नेदरल्याण्ड्स सरकारले नै बोलाएर उनलाई संवेदनशील संस्थामा पहुँच पुर्याउनु सोझो हस्तक्षेप भएन र ?
एकजना क्रान्तिकारी नेताले भन्नुहुन्थ्यो, तपाईंले आफ्नो ढाड निहुर्याउनु भएन भने कोही त्यसमा चढ्दैन । हिजो द्वन्द्वकालमा हामीले नै बिभिन्न बहानामा बाह्यशक्तिलाई भित्र्यायौं । यो पनि त्यही हो। तर कसैले चाहेर मात्र केही हुदैन । हामी सार्वभौम देशका स्वतन्त्र नागरिक हौँ।