नेपाल मेलाले बाँडिए पोर्चुगलका नेपाली

तस्बिर: बीएल

युरोपियन मुलुक पोर्चुगलको नेपाली समाजमा फेरि एकपटक विभाजन आएको छ।यही अप्रिल १४ मा गैरआवासीय नेपाली संघ पोर्चुगलले राजधानी लिस्वनमा आयोजना गर्न लागेको कार्यक्रममा सहआयोजक को हुने भन्ने विषय बढ्दै जाँदा विवाद चुलिएर नेपाली समाज नै विभाजित बन्न पुगेको हो । 

आदिवासी जनजाति महासंघले नेपाल मेलाको सहआयोजक आफू हुनुपर्ने माग राखेकोमा एनआरएन पोर्चुगलले त्यो मागलाई सम्बोधन नगरेपछि आदिवासी जनजाति महासंघले मेलामा सहभागी नहुने विज्ञप्ती जारी गरेको छ। 

बिज्ञप्तिमा भनिएको छ- नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलसँग सहकार्य नभएको हुँदा लिस्वनमा हुने नेपाली मेला वास्तविक मेला होइन, यो कुनै जात विशेषले आयोजना गरेको कार्यक्रम हो। यसको कुनै औचित्य छैन।'

यस विषयमा गैरआवासीय नेपाली संघ पोर्चुगलको आधिकारिक धारणा बुझ्न खोज्दा अध्यक्ष कुवेर कार्कीले भने- 'सामान्य कुरा नमिलेको हो। मिलाउने प्रयास भएको छ। एकै छिनमा सवै थाहा पाउनुहुन्छ, अहिले हतारो नगरौ।' 

आदिवासी जनजातिको वाहुल्यता रहेको पोर्चुगलमा उनीहरूको महासंघले नै सहभागी नहुने भनेर विज्ञप्ति जारी गरेपछि आयोजनाको सफलतामा नै प्रश्न उठेको छ। तामझामका साथ आयोजना गर्ने भनिएको मेलामा वहुसंख्यक रुपमा रहेका जनजातिको सहभागिता भएन भने यो भव्य हुदैन। 

पोर्चुगलमा रहेका नेपालीहरुको एकता सद्भाव र नेपालीपन झल्काउने उदेश्यका साथ आयोजना गरिन लागिएको नेपाल मेलाले एकता होइन, विभाजनको दिशामा लैजानु दु:खद भएको यहाँको वौद्धिक मत छ। उनीहरू भन्छन्- आदिबासी जनजाति महासंघलाई सहआयोजक बन्न दिएको भए केही बिग्रने थिएन। गैरआवासीय नेपाली संघले सबैलाई समेटेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ।उसले जोड्ने हो, छुट्याउने हैन। 

उनीहरूले आदिबासी जनजाति महासंघले पनि आफू सहआयोजक बन्न नपाएको कुरालाई जातियतामा लगेर मिसाउनु गलत भएको बताएका छन्। विदेशमा त सबै नेपाली हो, जे कुरामा पनि जातियता मिसाउँनु ठी हैन।

जे होस् नेपाल मेला पोर्चुगलमा जुटेको नेपाली समाजबीच मनमुटाव ल्याउने कारण बनेको छ। यसलाई जतिसक्दो चाँडो दुबै पक्षको जीत हुने गरी सेफ ल्याण्डिङ गराउनु नै बुद्धिमता हुने यहाँका बहुसंख्यक गैरआवासीय नेपालीको मत छ। 

प्रकाशित मिति: : 2019-04-12 17:43:21

प्रतिकृया दिनुहोस्