पुछारसिटमा गुन्जिए कवि अर्जुन ढकालका कविता

तस्बिरः बिएल

पोखरा। पुछारको सिटमा बसिरहेका उनी उद्घोषकले नाम उच्चारण गर्नासाथ कविता उच्चारण गर्दै मञ्चतर्फ अगाडि बढे। हलमा खचाखच भरिएका श्रोताहरू अचम्म मान्दै उनलाई हेरिरहे। कविता वाचन गर्दै मञ्चमा पुगेका उनलाई माला लगाएर सम्मान गरे कार्यक्रमका सभापतिले र उनलाई मञ्चमा रहेको एक मात्र कुर्सीमा बस्न आग्रह गरे। उनी मञ्चमा बसेपछि उनको परिचय दिए सञ्जीव पौडेलले। त्यसपछि सुरु भयो उनको कविता वाचन।

पोखरामा रोपाइँ महोत्सव चलिरहेको थियो। विभिन्न ठाउँमा मानिसहरू हिलो खेल्दै थिए, बाउसेहरू कोदाली चलाइरहेका थिए भने रोपाहारहरू असारे गीत गाउँदै धान रोपिरहेका थिए। यी सबै दृष्यभन्दा फरक पोखराका काव्यप्रेमीहरूको एउटा जमात भने कविताको रोपाइँमा जुटेको थियो। कविताकै हिलो खेल्ने, कविताकै कोदाली चलाउने र कविता कै रोपाइँ गर्ने अवसर जुराएको थियो ‘पुछारसिटे अभियान’ले। असार १५ को अवसर पारेर आयोजना गरेको दही चिउरासँग कविता (एकल कविता वाचन) शृङ्खलाको दोस्रो संस्करणमा पुछारसिटमा उपस्थित थिए कवि अर्जुन कुमार ढकाल।

हामीकहाँ अधिकार र परिवर्तनका नाममा धेरैपटक ठूलाठूला आन्दोलनहरू भए। ती आन्दोलनका क्रममा थुप्रै राष्ट्रभक्तले सहादत प्राप्त गरे। नेपाली राजनीतिक तहमा हुने महान् बलिदानीको अवमूल्यन र अपमानलाई यसरी प्रस्तुत गर्दै सहिदलाई सम्झेर कविता वाचनको थालनी गरे अर्जुनले।

केही हुँदैन–

मान्छे नै मान्छेको समाजबाट

एउटा मान्छेको उत्सर्ग हुँदा

आकाशको जून झरेर सती जाँदैन

यत्तिन हो –

मतपेटिकामा एउटा मत खस्दैन।

हरेक चेतनशील र बहादुर राष्ट्रभक्त नागरिकलाई राज्यले एउटा भोटको रूपमा मात्र तुलना गरिने नेपाली राजनीतिको अराजनीतिक चरित्रमाथि प्रहार गरी कविता वाचन थालनी गरेका ढकालले सहिदको रगतलाई सलामी अर्पण गर्दै आफ्नो कविता वाचनलाई अगाडि बढाए।

पटकपटक जनताले परिवर्तनका लागि ठूलो योगदान दिए तापनि लोकतन्त्रले जनतालाई केही दिन नसकेको उल्लेख गर्दै जनतालाई राजनीतिले खेलौना बनाएको यसरी सुनाए:

मुलाङ अर्जुन

हिँजडा कुखुरो पालेर

तेरा थाप्लामा

समृद्धि आउने वाला छैन

अब एउटा प्रौढ गोरु किन्

च्यवनप्रास खुआ

मस्त जोत्

तेरा हत्केलामा

रामराज्यको नीलो मानचित्र कोरिनेछ।

राज्यले आफ्नो देशभित्र रोजगारका अवसर सिर्जना गर्नतिर नलागेर युवालाई विदेश लखट्ने नीति लिएकोमा उनी असन्तुष्ट छन्। नेपाल विश्वका लागि भरियाहरू उत्पादन गर्ने कारखानाका रूपमा रहेको उल्लेख गर्दै उनी ‘भरिया डट कम’ कवितामा यसरी आफ्नो भाव उतार्छन्:

एक्सपोर्ट क्वालिटीका

भरियाहरु उत्पादन गर्ने

यो मुलुकका

हरेक घरमा

सञ्चालित छन्– कुटीर उद्योगहरु

एकातिर युवा देशमा रहँदैनन् त अर्कातिर

गड्गडाहट तालीका बिचमा कहिले गाउँ रित्तिएका व्यथा सुनाए भने कहिले सिरियाको युद्धमा सिकार बनेका बालबालिकाका चित्कार प्रस्तुत गरे। वातावरणप्रति निकै सजग यी कविले गिद्ध गाथा कविता प्रस्तुत गर्दै मानिसले सुन्दर प्रकृतिको पुजारीका रूपमा रहेको गिद्धलाई संरक्षण गर्न नसके मानव जीवन र पृथ्वीकै अस्तित्व संकटमा पर्न सक्ने चेतावनी समेत दिए।

मनुवा,

हरियो बस्तीबाट किन छोड्यौ

कार्बनको कालो मुस्लो ?

के तिम्रो गायत्रीमा

कालो कार्बन छ ?

के तिम्रो संस्कारमा

कालो कपट छ ?

के तिम्रो कलेजामा

कालो माया छ ?

तिम्रो साम्राज्यमा

कहिलेसम्म चलाउँछौ कालो सत्ता ?

देश र सिंगो संसार वातावरणमाथिको ज्यादतीबाट मात्र संकटमा परेको छैन, बढ्दै गएको भ्रष्टाचारले राष्ट्र आक्रान्त बन्दै गएकोतर्फ उनी केन्द्रित बने कवितामा। एकातिर देशमा युवा छैनन् अर्कातिर राज्यलाई भ्रष्टहरूको अखडा बनाई देश खोक्रो तुल्याउने काम गरेको भन्दै कर्मचारीतन्त्रमाथि यसरी खनिएः

खर्दार सा’ब

तिमी नै

अनागरिकलाई नेपाली बाउ खोजिदिन्छौ

हातमा बंशजको नागरिकता थमाइदिन्छौ

तिमी नै त हौ नि

दौरा लाएर देश बेच्ने

देश बेचेर छोरीलाई दाइजो दिने।

सबै सबै भएर पनि केही नभएजस्तो अवस्थामा देश पुगेको भाव प्रकट गर्दै उनले बिस्तारै नेपाल देशमाथि अस्तित्वकै सङ्कटका काला धर्सा देखा परेको यसरी प्रस्तुत गरेः

पहिले नेपाल देशलाई

दुई ढुङ्गाले चेप्लान् कि भन्ने डर थियो

अहिले नेपाल देशलाई

उत्तरी ड्रागनले डढाउला कि भन्ने डर छ

दक्षिणी गोमनले डस्ला कि भन्ने त्रास छ।

कार्यक्रममा अर्जुनका कविता खुब चाख मानेर सुनिरहेका साहित्यकार सरुभक्तले मन्तव्यका क्रममा पोखरेली परिवेशमा यस प्रकारका कविता बिरलै सुनिने बताउँदै बहुविषयलाई गम्भीर रूपमा उठान गर्दै भावको गहिराईमा पु¥याउने सामथ्र्य अर्जुनमा आफूले देखेको बताए। सो क्रममा उनले वर्तमान समयका प्रतिनिधिमूलक कविता पस्कन सक्ने गरी आफूलाई निरन्तर साधनामा लगाइरहन सकेमा साहित्यिक कार्यक्रममा सर्जकको निरन्तर सहभागिता अनिवार्य नभएको कुरा अर्जुनले प्रमाणित गरेको उल्लेख गरे। अर्जुनले जस्तै जीवनजगत्प्रतिको फरक दृष्टिकोणसहितका बलिया कविता निरन्तर लेखिरहन सबै स्रष्टामा उनले आग्रहसमेत गरे।

‘भरिया डट कम’, ‘मुलाङ अर्जुन’, ‘हरायो’, ‘पसिनाको अर्थशास्त्र’, ‘साहदत’, ‘गिद्ध गाथा’, ‘खर्दार सा’ब’, ‘फैसला’ आदि एक दर्जन कविता सुनाएका अर्जुनलाई कवि सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्यायले उनका बहिनीको चिठी र नानीहरूका चित्र शीर्षकका दुई कविता वाचन गरी साथ दिए। पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले अध्यक्षता गरेको सो कार्यक्रममा भीम रानाभाट, सरला लामिछाने, वसन्त विनोद, मोहन भण्डारीले बोलेका थिए।

प्रकाशित मिति: : 2019-07-03 11:05:19

प्रतिकृया दिनुहोस्