प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सकियाे, अस्पतालमै भर्ना भएर बस्नु पर्ने (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ। मंगलबार महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो।

उनका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'प्रधानमन्त्री ज्यूको अप्रेसन भर्खरै सकिएको छ। यो समान्य अप्रेसन हो। यो एपेन्डीसाइटिस अकस्मात हुने र तत्काल उपचार गर्नुपर्ने रोग हो।'

प्रधानमन्त्रीको उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न रहेका छन्। अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ। तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले एकिनका साथ बताएका छैनन्।

पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए। चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन्। अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमाचौथोपटक हेमोडायलसिस गरिएको थियो।

गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन्। उनको रगतमा क्रिएटिनिनको स्तर वृद्घि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ।

 के हो एपेन्डिक्स ?

दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ। यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्‍याउन सक्छ।

केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ।

एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ। एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो। कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ।

एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ। चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ।

रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछन्। जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि घाउ विस्तारै कुहिन सुरु गर्दछन्।

शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प छैन। एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ। यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ।

यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ र जटिल प्रकारको संक्रमण हुन्छ। कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ। यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ। यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ। यस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन। तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ।

पहिचान
यो रोगको पहिचान मुख्य रूपमा बिरामीमा देखिने लक्षणका आधारमा गरिन्छ। चिकित्सकले बिरामीको बाह्य परीक्षण र सामान्य रगत जाँच गरेरसमेत करिब ८० प्रतिशत केसमा निक्र्योल गर्न सक्ने अवस्था रहेको डा। भण्डारी बताउँछन्। तर कुनै बिरामीमा चिकित्सकलाई रोग पहिचान गर्न अलमल भए अल्ट्रासाउन्ड परीक्षण र अत्यन्त न्यून केसमा सिटी स्क्यान परीक्षण गर्ने गरिन्छ ।

मुख्य लक्षण
नाइटोमा पीडा सुरु भएर पेटको दाहिनेतर्फ सर्नु
-भोक कम लाग्नु
-वान्ता हुनु
-कब्जियत हुनु वा पखाला लाग्नु
-ज्वरो आउनु

 

प्रकाशित मिति: : 2019-11-26 13:17:06

प्रतिकृया दिनुहोस्