अलविदा विनयद्वय !!

अलविदा विनयद्वय !! फाइल तस्बिर

, ८६ ले झण्डै ४ दशकसम्म अमेरिकाको प्रतिष्ठित समाचार एजेन्सी एसोसियट प्रेस (एपी) को काठमाडौं प्रतिनिधिको रूपमा काम गरेका थिए । एपीको प्रतिनिधिका रूपमा काम गरिरहेकै अवस्थामा उनले जापानको एउटा पत्रिका दाइची सिम्बुनका लागि पनि निकै लामो समयसम्म रिपोर्टिङ गरेको देखिन्छ ।

अमेरिकाबाट पत्रकारिता विषयमा उच्च शिक्षा (एमए) हासिल गर्ने सम्भवत: पहिलो नेपाली विनय गुरुवाचार्य विदेशी समाचार संस्था र पत्रपत्रिकाका लागि काठमाडौंबाट समाचार सम्प्रेषण गर्ने समाचारदातामध्ये पनि वरिष्ठतम् थिए। विदेशी सञ्चार माध्यमका लागि लामो समयसम्म काम गरेका केदारमान सिंह, एलिजाबेथ हली, बार्बरा एडम्स, भोला राणा, माधव आचार्य, सुशील शर्मा, श्याम केसी आदिका बीचमा विनय देख्दैमा अरूभन्दा अलि बेग्लैखालका लाग्थे। अति नै शान्त स्वभावका, अल्पभाषी र गुरुगम्भीर विनयलाई जुनसुकै मौसममा पनि सुट टाइमा सजिएको देख्दा भने अनौठो लाग्थ्यो। तर, उनको व्यबहार र रहनसहनमा कृत्रिमता भने पटक्कै थिएन । उनी वास्तवमै  पुरानो शैलीका भद्रपुरुष थिए । विनयलाई आँंखामा हाले पनि नबिझाउने भन्ने नेपाली उखानसँग ठ्याम्मै मिल्ने भद्र पुरुष थिए भन्दा अत्युक्ति हुँदैन।

काठमाडौको उच्च नेवार घरानाका विनय गुरुवाचार्यमा अभिजात्य बडप्पन त थियो नै, संयुक्त राज्य अमेरिकाको विश्वविद्यालयमा पाएको उच्च शिक्षाले हुनु पर्छ, उनमा जीवन र जगतलाई हेर्ने सम्यक र सन्तुलित दृष्टिकोण पनि भरिएको थियो।

विनय गुरुवाचार्य मेरालागि ठूल्दाइ जस्तै आदरणीय थिए। जनआन्दोलन २०४६ भन्दा १ वर्ष जति पहिलेदेखि आन्दोलन सफल भएको ६ महिना पछिसम्म युपीआई र भोइस् अफ् अमेरिकाका काठमाडौ सम्वाददाता भोला राणाको सहायकको रूपमा मैले ती एजेन्सीका लागि स्ट्रिट रिपोर्टरका हैसियतले काम गर्दा विनयको बानीबेहोरा, व्यावसायिक शिप र निष्ठाका विषयमा नजिकबाट हेर्ने, बुझ्ने मौका पाएको थिएँ । मलाई उनको व्यावसायिक निष्ठा र प्रजातान्त्रिक मूल्य मान्यताप्रतिको लगावले गहिरोसँग प्रभावित पारेको थियो । काठमाडौको उच्च नेवार घरानाका विनय गुरुवाचार्यमा अभिजात्य बडप्पन त थियो नै, संयुक्त राज्य अमेरिकाको विश्वविद्यालयमा पाएको उच्च शिक्षाले हुनु पर्छ, उनमा जीवन र जगतलाई हेर्ने सम्यक र सन्तुलित दृष्टिकोण पनि भरिएको थियो । उनी तर्क-असङ्गत कुरो गर्नु त परै जाओस् सोच्नसम्म पनि सक्दैनथे शायद ।

विदेशी मिडियाका लागि काम गर्ने उनको उमेर र जमातका अरू नेपाली पत्रकारजस्तै उनी पनि केही अल्छी थिए । अल्छीपनाको जीवन्त प्रतिमूर्ति मेरा थोरै दिनका हाकिम भोला राणालाई मान्न सकिए पनि । वि. सं. २०४६ सालसम्म दर्जनौँ चिरा- चोइटामा टुक्रिएर रहेका कम्युनिस्टका स-साना पार्टीरूपी दोकानका नेता को को हुन् र तिनका कार्यकर्ता को को, कति छन् भन्ने कुराको छेउटुप्पो पत्तो नपाएर हत्तु भएका उनले मसँग  यस विषयमा बेला बेलामा टिप्स् लिने गरेका थिए । जनआन्दोलन ४६ का बेलामा म थिएँ घरमै नजरबन्द रहेका आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहसम्म पहुँच भएका थोरैमध्ये एक । आन्दोलनले गति लिंदै गएपछि जनआन्दोलन, गणेशमान सिंह, नेपाली कांग्रेस र सिंह नजरबन्द रहेको चाक्सीबारी निवाससम्बन्धी काम लाग्ने सूचना विनयसँग सेयर पनि गरेको थिएँ मैले । युपीआई र भोइस् अफ् अमेरिकाको स्ट्रिट रिपोर्टरका रूपमा मैले वायर गर्ने समाचारको सानोतिनो अंश विनयसँग सेयर गर्न मलाई कुनै समस्या थिएन ।

पेसाको सिलसिलामा म आप्का हाउस, दी हिमालयन टाइम्स् र अन्नपूर्ण पोस्टसँग जोडिन गएपछि मेरो र विनय दाइको छोरा विनाज गुरुवाचार्यको आप्का कर्पोरेट अफिसमा भेट भयो । त्यसै समय म कुनै सिलसिलामा दुई पटक उनको थापाथली, कुरियागाउँको घरमा पनि गएको थिएँ । विनय दाइको घरमा पुग्दा थाहा भयो विनाजकी मम्मी अथवा श्रीमती विनय गुरुवाचार्य त मेरो पूर्व परिचित, तत्कालीन पञ्चायत मन्त्रालय, कर्मचारी प्रशासन महाशाखाकी शाखा अधिकृत पो रहिछिन्। पञ्चायत विकास अधिकारीको रूपमा मुस्ताङ जिल्ला पञ्चायत कार्यालयमा भएको मेरो पहिलो पदस्थापनको पत्रमा श्रीमती गुरुवाचार्यले नै हस्ताक्षर गरेकी थिइन् । त्यस दिन एक अर्कालाई देखेर हामी दुवै सुखद आश्चर्यमा परेका थियौँ ।

........

यसै हप्ता दिवङ्गत भएका अर्का विनय (कुमार कसजू, ७२) संभवत: एपीका सम्वाददाता विनय गुरुवाचार्यभन्दा बढी कर्मठ, कल्पनाशील र महत्वाकांक्षी थिए । पाल्पा तानसेनका पूर्वशिक्षक विनय कुमार कसजू मूलत: बालसाहित्यका लेखक र प्रचारक हुन् । तर, उनले ग्रामीण र वातावरण पत्रकारिताको विकासका लागि पनि काम गर्ने जुन जमर्को गरेका थिए त्यसले उनलाई यस देशमा तृणमूलसम्म सूचना प्रवाह गर्ने अत्यावश्यक अभियानको एक अभियन्ताका रूपमा स्थापित गरेको छ । उनले तानसेनबाट निकालेको गाउँको देउराली भन्ने ग्राम्याञ्चल केन्द्रित पत्रिकाले देशको पत्रकारिताको इतिहासमै आफ्नो प्रकारको पहिलो प्रकाशन हुने कीर्तिमान कायम गरेको छ । 

विनयकुमार कसजू आफ्नो योग्यता, लगन र कल्पनाशीलताका साथै दर्‍हो राजनीतिक सम्वन्धको समेत भरथेगबाट हुनु पर्दछ, प्रजातन्त्रको पुनरोदय भएको समयदेखि नै अनेक महत्वपूर्ण जिम्मेवारी पाउन सफल भएका थिए । 

विनयकुमार कसजू आफ्नो योग्यता, लगन र कल्पनाशीलताका साथै दर्‍हो राजनीतिक सम्वन्धको समेत भरथेगबाट हुनु पर्दछ, प्रजातन्त्रको पुनरोदय भएको समयदेखि नै अनेक महत्वपूर्ण जिम्मेवारी पाउन सफल भएका थिए । उनी राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त थिए । वामपन्थी खेमाबाट दुनियाँलाई देखाउँन मिल्ने थोरै नेपाली चेहरामध्ये एक विनयको जीवन निरन्तर सक्रियता, रचनात्मक लगन र प्रतिष्ठाको पर्याय जस्तै भएर बितेको छ ।

म दुवै अग्रज विनयप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

प्रकाशित मिति: : 2019-11-27 08:02:18

प्रतिकृया दिनुहोस्