गैरआवासीय नेपाली संघ नाम जत्तिकै पवित्र अनि गर्विलो संगठन हो। तर, आजकाल यसको नेतृत्व गर्ने नेता ठीक उल्टो र अपवित्र छन्। व्यक्तिगत अनुभव, विगत १० वर्षदेखि डेनमार्क र पोर्चुगलको बसाइमा मैले देखेका नेताहरू अपवादबाहेक प्रायः मानव तस्कर, गुण्डा, स्त्रीलम्पट, ठग, श्रम शोषकबाहेक अरू छैनन्।
केही अपवादमा राम्रा भनिएकाले आफ्नो साख बचाउन सकेनन्। अब अपवाद पनि मुस्किल भइसक्यो। प्रायः देशका संगठनमा यस्तैको हालीमुहाली छ।
आसन लिए, भाषण गरे। खादा मालासहितको फोटो शेसन गरे। बस् यत्ति गरेपछि एनआरएनको नेता भइहालियो। यो भन्दा अरू गर्नुपर्ने कामको सूची नै छैन र जानेको केही पनि छैन। गर्ने पनि छैनन् र गर्नको लागि नैतिकता पनि छैन।
यो त विभिन्न देशमा रहेको एनआरएनको कुरा भयो। जुन एनआरएन केन्द्रको तल्लो तहका संगठन हुन्। तर, यी बेथितिबाट एनआरएन केन्द्र पनि अछुतो छैन। एनआरएनको केन्द्रीय निर्वाचनमा एक अर्का उमेदवार कार्यकर्ताको बुईँ चढेर चुनावी प्रचार गरेको देख्दा युरोप, अमेरिकाबाट सभ्यता, अनुशासन सिकेर होइन नेपालमा सिकेको पनि बिर्सेछन् जस्तो देखिन्छ।
काठमाडौंको हायातमा जुन चर्तिकला देखियो त्यो घामजतिको छर्लङ्ग छ। सामाजिक व्यक्तित्व बन्नको लागि १०औं करोड खर्च गरेर एनआरएनको नेतृत्व लिनुभन्दा २/४ करोड खर्च गरेर अस्पताल, स्कुल बनाइदिए त्यो जस्तो सामाजिक कार्य अरु के होला र? पुण्य कमाउने अरू उपाय पनि छन्। एनआरएनको नेता बन्नकै लागि यत्रो विधि खर्च किन?
आसन लिए, भाषण गरे। खादा मालासहितको फोटो शेसन गरे। बस् यत्ति गरेपछि एनआरएनको नेता भइहालियो। यो भन्दा अरू गर्नुपर्ने कामको सूची नै छैन र जानेको केही पनि छैन। गर्ने पनि छैनन् र गर्नको लागि नैतिकता पनि छैन।
यसबाट स्पष्ट हुन्छ एनआरएनएको नेतृत्वमा जानेले कहीँ न कहीँ, केही न केही मात्रामा अदृश्य लाभ लिएकै हुन्छन्। करोडौं करोड खर्च गरेर नामकै लागि चुनाव जित्नुपर्ने कुनै कारण र आवश्यकता देखिदैन।
यसअघि भवन भट्ट अध्यक्ष थिए। कार्यकालको अन्त्यतिर अभद्र व्यवहारले चर्चित भए उनी । जहाजबाट कठालो समातेर बाहिर निकालेको समाचार आयो। यतिभन्दा अरू देख्नु नै के रह्यो र?
प्राय: एनआरएन चुनाव हुनुअघि ५० हजार सहयोग गर्न ५ लाख खर्च गरी हेलिकोप्टरमा सयर हुने अनि आसन, भाषणको फोटो शेयर गर्ने परम्परा चलिआएको छ। .... गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही हो।
चुनाव जितेपछि मन्त्री, प्रधानमन्त्रीसँग फोटो शेसन गर्ने परम्परा त झन् बढ्दै गएको छ। अझ चिया खाँदा होस् वा चाउचाउ खाँदा या भोजभतेरमा नै किन नहोस् जहाँ पनि नेतालाई भेटेर फोटो खिचे भने एनआरएनका पदाधिकारीले भन्ने र क्याप्सनमा लेख्ने भनेको, 'आज गैरआवासीय नेपालीको हक, हित र नागरिकताबारे गहन छलफल' हो।
कसैको कुरा काटिएको होस् वा चरित्रहत्या गरिएको होस् या एक स्त्रीलाई 'चिया-चौतारो' बनाइएको होस् त्यो सब बदलिएर एनआरएनको हित हुन्छ। डेटिङदेखि सेटिङ जस्तो हर्कत पनि एनआरएनको हित बनेर बाहिरिया आवरण बन्नु कहाँसम्मको नैतिकता हो?
एनआरएनएको नवनिर्वाचित नेतृत्व नेपालमा प्रधानमन्त्री, मन्त्री र सचिवसँग भेटघाट गरेको बताइरहेको छ । तर, छलफलका हैन, ठाडै लाइन लागेर खिचिएका फोटो देख्लेदा उनीहरू कम छलफल र बढी फोटो सुटका लागि नै त्यहाँ पुगेको अनुमान गर्न कुनै आइतबार पर्खनु पर्दैन ।
गैरआवासीय नेपालीले कहिल्यै राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता मागेका छैनन्। तर, दुईवर्षे कार्यकाल जित्न एउटा गैरआवासीय नेपालीको संगठनमा नेतृत्व गर्न १०औं करोड खर्च गर्ने ४/५ जनाको समूहले राजनीतिक अधिकारसहितको नागरिकता मुख्य एजेन्डा बनाउँछ । जबकि नेपाल सरकार, गैरआवासीय नेपालीलाई पैत्रिक सम्पत्ति भोगचलन गर्न पाउने अधिकारसहितको दोहोरो नागरिकता दिन पनि हच्केको अवस्था छ।
तर, नवनिर्वाचित कार्य समिति नेपालमा फोटो सुट गर्दैछ। 'एक पटकको नेपाली सँधैको नेपाली' भन्ने। तर, सरकारको उच्च ओहोदाकोसँग संस्थागत भेट गर्दा, गैरआवासीय नेपालीको हक अधिकारको लागि भनेर सम्बन्धित निकायका पदाधिकारीलाई भेट गर्दा सामान्य शिष्टाचारको पनि ख्याल नगरेको देख्दा अचम्म लाग्छ।
अनि एनआरएनएका पदाधिकारीहरुको क्रियाकलाप देख्दा लाग्छ, 'कतै गैरआवासीय नेपाली संघको नेतृत्व आसन, भाषण र फोटो शेसनकै लागि मात्र पो हो कि!'