के कर्णालीले ओली र प्रचण्डसँग युद्ध हारेको हो ?

जुम्ला जान्या जुम्ली दाइको, काम कति हुँदो हो ।
चौबिस घण्टा हात खाली नाई, सित्ति मन रुँदो हो ।। 

प्रस्तुत देउडा दाङमा खेल्नेबेला त्यहाँका देउडियाले जुम्ली तल पार्न हालेको हो । श्रमलाई सम्मान गर्ने जुम्लीले त्यो गीतको जवाफ पनि श्रमसँग गाँसेर दिएका थिए तर हारेका थिएनन् भन्ने देउडियाहरु बताउँछन् । 

 यसरी गीतमा होच्याउनुको कारण जुम्लीहरु भेडा पाल्थे । वर्षको एकपल्ट भेडाको ऊन निकालिने । ऊनबाट लगाउने कपडादेखि ओड्ने, ओछ्याउनेसम्म हुने । यी सबैका लागि अरुका भर पर्नु नपर्ने । एक प्रकारको आत्मनिर्भर प्रयास नै थियो । मेसिनको प्रयोग गर्ने जमाना आइनसकेकाले डोरी बनाउन हातले ऊन कात्नुपर्ने । त्यसका लगि ताखु चाहिने । 

 कुनै एउटा काम गर्दागर्दै ताखु कात्न सकिने । हिड्दाहिड्दै, गाई, घाेडा, भेडा, बाख्रा चराउँदाचराउँदै, कचहरीमा गफिदागफिदै, भोट, मधेस गर्दागर्दै । उति गाह्रो पनि नहुने भएकाले ताखु कात्ने काम निरन्तर भैराख्थ्यो । जुम्ली जहाँ-जहाँ गयो त्यहीँका मान्छेले देखिरहेका थिए । दंगाली देउडियाले त्यसैलाई जुम्ली होच्याउने काइदा माने ।

जुम्लीले जवाफ यसरी दिएका रहेछन् :-

बड्चौड बाजको बगाल, झ्याँइअ कुटी कुटी ।
कति मर्‍या जिजु-बाज्या, फलाम चुटी चुटी ??

जवाफ श्रमसँगै जोडिएको थियो । सबैले कुनै न कुनै खालको पेशा अंगालेका हुन्छन्, त्यसैलाई होच्याउँने आधार बनाउनु हुँदैन भन्ने खालको भाव समेटिएको गीत हाे यो । यद्यपि 'इटको जवाफ पत्थरले दिन्छ' भन्ने सन्देश पनि हो ।  

विशेषत १८४६ मा गार्खालीहरुले आफू विजयी भएको घोषणा गरेका भएपनि त्यो षडयन्त्रमुलक हमला थियो । तर, त्यो जित्नेका लागि जायज थियो ‘प्रेम र युद्धमा जे पनि जायज हुन्छ ’ भनेजस्तै । तत्कालीन जुम्ला राज्यका राजा शाेभान शाहीले हार मानेका थिएनन् । र, पनि राज्य हत्याउने खालको विद्रोह उनीबाट हुन सकेन । 

जुम्ला राज्यले तीनपल्ट गोर्खालीलाई धुलो चटाएको हो । अन्तका राजाजस्तो जुम्ली राजाले हार मान्दै राज्य छोडेका थिएनन् । यहाँ प्रतिरोध आन्दोलन भएको थियो । त्यसैले गोर्खालीले पछिसम्म पनि बदला लिइरहे । युद्धमा हार्नेलाई दबाउने नियत हुन्छ । प्रथम र दोस्रो विश्वयुद्धमा हारेका देशले त्यो प्रताडना भोगेका थिए । त्यसैले गोर्खालीका सन्तान सत्तामा हुन्जेसम्म कर्णाली पछि परिरह्यो । कर्णालीलाई अलग राज्यको व्यवहार गरिरह्यो । आजसम्म पनि कायम छ ।

नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको उद्गम थलो सिंजा भन्दै ‘जस’ लिइरहने तथाकथित नेताले कर्णाली पुग्दा आफ्नो पुस्ता कर्णालीकाे फलाना ठाउँबाट गएको बताउँदै यहाँका मान्छेसँग गला गाँस्दै जनमत आफ्नो पोल्टामा पनि पारिरहे । 

त्यतिमात्र होइन कर्णालीबारे विविध नकारात्मक संकथन पनि निर्माण गरिरह्यो । जुम्ली भन्ने वित्तिकै फोहोरी । कर्णाली सुन्ने वित्तिकै भोकमरी, मगन्ते आदि । त्यतिमात्र नभई जुम्ला राज्यमा रहेका केही नराम्रा चलनलाई समेत संसारभर झ्याली पिटियो । जस्तो छुईप्रथा मान्ने, खुला ठाउँमा दिसापिसाव गर्ने आदि । त्यहि बहानामा संसार निल्दै हिडेका एनजिओ, आइएनजिओ र धार्मिक संस्था समेत छिराइए । 

तर, नेपाली भाषा, संस्कृति, संस्कार एवं सभ्यताको उद्गम थलो सिंजा भन्दै ‘जस’ भने लिइरहे । तथाकथित नेताहरुले कर्णाली पुग्दा आफ्नो पुस्ता कर्णालीकाे फलाना ठाउँबाट गएको बताउँदै यहाँका मान्छेसँग गला गाँस्दै जनमत आफ्नो पोल्टामा पारिरहे । दिमाग भुटिरहे । 

अहिले उपयुक्त समय हो । विमर्श जरुरी छ । हिसाब किताब पनि गर्नु छ । 

जुम्ली फोहोरी हुन्छन् भन्ने कुराकाे जवाफ वरिष्ठ पत्रकार भैरव रिसाल यसरी दिन्छन्, ‘त्यो जमानामा जुम्लामा साबुन पुग्नै दुर्लभ । नेपालमै पनि दोस्रो विश्वयुद्धको दौरान जुद्धशमशेरको पालामा विराटनगरमा पहिलो साबुन (डल्ले) कारखाना खुलेको हो । तब जुम्लामा केको साबुन ? चिसो ठाउँ, आगो नतापी बाँच्नै मुस्किल । आगो ताप्दा लुगा मैलो  हुने । तसर्थ जुम्ली मैलो हुने नै भो । त्यो युगमा मैलो जुम्ली, हुम्लीलाई जुम्ली, हुम्ली भनी सम्बोधन गर्दा सम्मान, प्रतिष्ठा र इज्जत ठानिन्थ्यो ।’ उनी भन्छन्, ‘तर केही समययता जुम्ली, हुम्ली भन्ने सम्बोधनलाई होच्याएको, हेला गरिएको, अपमान गरिएको ठानिन थालिएको छ ।’ 

यसबारे कर्णाली आफैले बोलिहाल्नु नपर्ने हो । तर, परिस्थिति ‘अभी नही तो कभी नही’ को अवस्थामा पुगिसकेको छ । 

सिंगो देशको परिस्थितिलाई ध्यानमा नराखी स्वाभिमान, स्वाधिनता, स्वावलम्बन, परिश्रमलाई चटक्कै बिर्सेर फोहोरको पर्यायवाची कर्णाली, जुम्ला र जुम्ली मात्रै कसरी हुन पुग्यो ?

कर्णालीको अर्थतन्त्र र दूरदर्शिताबारे समाजशा्स्त्री बिहारीकृष्ण श्रेष्ठले लामो अध्ययन गरे । कर्णालीले आत्मनिर्भरताको लागि स्थानीय श्रोत, साधन, श्रम र सीपको अधिकतम प्रयोग गरेको थियो । जेमा कर्णाली निर्भर थिएन त्यसका लागि भोटसँगको व्यापारका विभिन्न नाका छेडेको थियो । जस्तो नुन भोटबाट ल्याउनुपर्ने भएकाले यातायातको लागि भेडापालन तथा विनिमयको लागि अन्न उत्पादनलाई बढावा दिइएको थियो । कर्णालीको आफ्नै रेशममार्ग थियो ।  

कर्णालीले हालको नेपालमा मात्र होइन, समुद्रपार विदेशसम्मै व्यापार विस्तार गरेको थियो । कर्णालीका महिलाले लगाउने मुगा, मोतीका माला, तुथो र पुलीका विशेष गहना तथा बाज(हिरा खोज्न प्रयोग हुने पंछी) लगायतको काराेबारले सिमारहित व्यापार विस्तारलाई देखाउँछ । त्यही क्रममा सिंजा साम्राज्यले विकास गरेको भाषाको समेत विस्तार भएको थियाे । परिणामत: नेपाल राज्यले पनि सिंजामा विकास भएको भाषालाई नै कामकाजी बनायाे । अहिले गाेर्खालीको अपुताली सम्हालेका राज्यका मालिक नेपाली भाषा, संस्कार, संस्कृति र सभ्यताको जननी भनेर छाति फुलाइरहेका छन् ।  

तत्कालिन सिंजा साम्राज्यले ऋण लगाएको, मागेको इतिहास भेट्नु आठौं आश्चर्य हो । तर, त्यही राज्यलाई हराउने गोर्खालीदेखि हालसम्मका शासकका कारण आज हरेक नेपाली गर्भाधानको पहिलो प्रहरबाटै ऋणको भारी बोकिरहेको छ । 

 १८४६ सालमा गार्खालीले आफू विजयी भएको घोषणा गरेका भएपनि त्यो षडयन्त्रमुलक हमला थियो । तर, त्यो जित्नेका लागि जायज थियो ‘प्रेम र युद्धमा जे पनि जायज हुन्छ ’ भनेजस्तै । तत्कालीन जुम्लाका राजा शाेभान शाहीले हार मानेका थिएनन् तर पनि राज्य हत्याउने खालको विद्रोह गर्न सकेन । 

गल्ली, गल्छेडामा, चोक, चौतारोमा गलैचा, राडीपाखी, गार्सागुम्बा, गुच्ची च्याउ, बेच्नुमा गर्व गर्ने तर माग्न नजान्ने कर्णालीमा हवाइजहाजबाट चामल र नुन ढुवानी गर्ने तथा एनजिओलाई चामल वितरक बनाई उत्पादन र अर्थतन्त्रलाई नामेट पार्न सत्ताले कणार्ली सुन्ने वित्तिकै मगन्तेको संकथन निर्माण गरेको हो । कहिल्यै हात खालि नगर्ने कर्णालीबासीलाई माग्ने भन्ने कत्रो हिम्मत ?

महिला छुई(महिनावरी) हुनु स्वभाविक प्रक्रिया हो । यसलाई कर्णालीले जटिल कहिल्यै बनाएन । अहिलेको जस्तो व्यवस्थापनका विभिन्न उपाय आइसकेका थिएनन् । छुई हुँदाको फोहोर रगत चुनौति थियो । दिनरात मेहेनत गर्ने महिलालाई आरामको जरुरी पनि थियो । रगत बगिरहने समयसम्म आराम गर्न भनि बनाइएका हुन, छुइकिल्ला(छाउगोठ)। गच्छेअनुसार कसैले गतिलो बनाए त कसैले अगतिलो । घर अगतिल्ला भएको ठउँमा छुइकिल्ला अन्तर्राष्ट्रिय गुणस्तरको हुने कुरै भएन । अहिलेका जस्ता प्याडम्यान राधा पौडेलहरु पनि थिएनन् । छुन नहुने, भान्सामा बस्न नपाउने, खाना बनाउन नहुनेजस्ता केही सीमा सबैका निम्ति अस्वीकार्य नै हुन् । 

चेतना फैलाउन कहिल्यै नलाग्ने, तर यही बहानामा एनजीओ छिराउन कर्णाली आफै लागेको हो कि राज्य ?  

खुला ठाउँमा दिसा गर्नु तत्कालिन राज्यको युद्ध कौशलता नै हो । यद्यपि गोर्खालीको अनेक तिग्डमका अगाडि जुम्ला राज्य अस्तित्वमा रहेन । तर, ‘नेपाल इज एन ओपन ट्वाएलेट’ भन्दै खुला दिशामुक्त क्षेत्र घोषणाका लागि विदेशीसँग माग्दै हिड्ने को हाे ?

जवाफ राज्यले नै दिनुपर्छ । कस्को मगज फोहोर छ ? को मगन्ते छ ? यी सवालमा कर्णाली बोलिरहनु पर्दैन । गोर्खालीको अपुताली सम्हाल्ने शासकहरुको मानसिकता फरक होला भनी कल्पना गर्नु  ‘गधालाई धोएर गाई बनाउछु’ भन्नु सरह नै हो । त्यसैले त्यो मानसिकताले कर्णालीमा एउटा प्रदेश प्रमुख बन्ने मान्छे होला भन्ने कल्पना नगर्नु अस्वभाविक होइन । आखिर कर्णाली ओली र प्रचण्डसँग युद्ध लडेको पनि होइन, हारेको पनि होइन । 

 

 

प्रकाशित मिति: : 2019-11-07 08:57:03

प्रतिकृया दिनुहोस्