मिडियाहरूले लोकतन्त्रको नाममा भद्दा पूँजीवादको कभरेज गरिराखेका छन् - फ्रान्सिस हाइकेल

बिएल

सिआइएको गोप्य योजनामा तिब्बती सिमानामा भएको खम्पा विद्रोहको बारेमा पढिसकेपछि स्वीस पत्रकार फ्रान्सिस हाइकेल, ६५ लाई मनाङ र मुस्ताङ घुम्ने रहर पलायो। त्यसपछि नेपालसँगको लगाव बढ्यो। त्यो बेलादेखि निरन्तर नेपालको बारेमा जानकार रहेका फ्रान्सिस् हाइकेलले ताइबान, बेइजिङ, टोकियो र ढाकामा 'तुफान रिपोर्टर' का रूपमा २० वर्ष बिताए।

अहिले सञ्चारमा आएको तिब्र परिवर्तन देख्दा फ्रान्सिस् खुसी मात्र होइन असन्तुष्ट पनि छन्। आप्रवासी अधिकारको निम्ति गैर सरकारी संस्थामार्फत जेनेभामा क्रियाशील उनले प्रविधिमा आएको परिवर्तन र रिपोर्टरहरुमा देखिएको विचार पस्कने पत्रकारिताले मिडिया मालिकलाई फाइदा पुगे पनि प्रायोजित सूचना प्रवाह भइरहेको बताए।

जेनेभामा हाम्रा युरोप सम्पादक लक्ष्मण देवकोटाले अहिले बहुभाषामा प्रकाशित मासिक पत्रिका 'सोलिडारिटी' संरक्षक फ्रान्सिससँग गरेको कुराकानीको सम्पादित अंश:

पत्रकारिता र तथ्यका कुरा सूचनाको स्रोतसँग पहुँच हुने क्षमता मात्रै महत्वपूर्ण होइन?

पहुँच हुनेको विवेक अर्को महत्वपूर्ण कुरा हो। त्यो विवेकले उधिनेर तथ्य निस्कने हो। डिजिटल प्रविधिले तिब्र विकास गरेको देख्दा ब्ल्याक एण्ड ह्वाइट जमानाका हामी रिपोर्टरहरु विवेकको मामिलामा अलि पाका थियौँ कि जस्तो लाग्छ। तथ्य जन्मने क्षेत्र, त्यहाँका संस्कृति, मानिसहरुसँग पहुँच पुर्‍याउने कुरालाई हामी प्राथमिकता मान्थ्यौँ। हुनत अहिले पनि यस्तो मान्यता राख्नेहरु होलान् तर थोरै।

अहिले इन्टरनेटमै सबै सूचना पाइन्छ भन्ने भ्रमले तथ्यलाई बँग्याइदिएको छ। इन्टरनेटमा सूचना प्रदायकहरु को हुन्? उनीहरुले के स्वार्थका कारण सूचनाहरु त्यहाँ राख्छन्। के ती सबै विश्वसनीय छन् त? कुर्चिमा बसेर इन्टरनेट चलाएर बटुलेको सूचना र मैदानमै गएर लेखिएको रिपोर्टमा त आकाश जमिनको फरक हुन्छ नि।

हो त्यही भएको छ। फिल्ड रिपोर्ट जीवन्त हुन्छ। इन्टरनेट रिपोर्ट तथ्यको आवरणमा विचार पस्कने टाइपको हुन्छ। रिपोर्टरले विचार पस्किएपछि के हुन्छ? त्यो त भद्दा सूचनाको थुप्रो मात्रै हुन्छ।

सही सूचना मानिसहरुसम्म पुग्दैन। अनि पत्रकारिताको नाममा धन्दा गरेका मिडिया हाउसहरुको नाफामुखी हुन पुग्छ। अहिले हेर्छु जताततै त्यही भइरहेको छ। यसो भन्दैमा आशै मारिहाल्नुपर्ने चैँ होइन। कतै कतै आशाका मसिना झिल्काहरु पनि देख्छु। 

तानाशाही चिन्तनको उपज अपारदर्शीता लुकाउन खोजिएका विषयहरु नै समाचार हुन् भनेर सबै पत्रकारहरुलाई थाहा नै छ। कति बेला व्यवस्थाले सूचना लुकाउँछ। सूचना लुकाउने कुरा प्रजातान्त्रिक व्यवस्था अंगाल्नेहरु भित्र पनि नहुने होइन।

यसलाई शक्तिमा भएको व्यक्तिको चरित्रले पनि फरक पार्छ। बेला र परिस्थिति अनुसार सूचना लुकाउने ढाँचा मात्रै फरक हो। साम्यवादी व्यवस्था आएदेखि चिनियाँ सञ्चारमाध्यम थला परेका छन्। राज्यले सूचना प्रविधिमा एकछत्र राज गरेको छ।

बजार अर्थतन्त्रमा त्यत्रो विकास भएको छ, तर राज्यविरुद्ध आवाज उठाउनेको त्यहाँ जीवन खतरामा छ। तियानमेनको घटनादेखि अहिले उरुंग्चीमा भएका दमनका घटनाहरु हुन्, सूचना बाहिर आएकै छैनन्।

कतिपय रिपोटर्रहरु चीनमा बस्ने अधिकार खोसिने डरले बोल्दैनन्। धेरैजसो त चिनियाँ सरकारको पैसा खाएर चीनले चाहेको लेखेर बसेका छन्। साम्यवादी चीन भित्रका उत्पीडनका घटनाहरु त आएकै छैनन् बाहिर।

पत्रपत्रिका रेडियोहरु छन्। तर, ती सबै राज्यविरुद्ध बोल्ने हैसियत नराख्ने छन्। त्यसको विपरीत भारतमा खुकुलो छ। तर, चरम गरिबी र धार्मिक भेदभावका घटना, लैंगिक असमानताका कुरा अझै पनि भारतका गाउँहरुमा हराएका छन्। हो, यी र यस्ता विषयहरु उठान गर्ने चुनौति मोल्ने मान्छे नै रिपोर्टर हो।

शीतयुद्धपछिको भद्दा पूँजीवादले दबाएको पत्रकारिता

म आफूलाई शीतयुद्धकालीन रिपोर्टर ठान्छु। आवाज दबाइएकाको पक्षमा लेख्ने रिपोर्टर ठान्छु। अहो! अहिले त जोसँग शक्ति छ उसले मिडिया चलाइरहेको छ। संसार हुनेखानेहरुले चलाइरहेका छन्। भेनेजुयलाको निर्वाचित राज्यप्रमुखलाई कुर्चीबाट हट् भन्ने आदेश दिन्छन् अमेरिकी राष्ट्रपति। तर, आफ्नै नागरिकको कत्लेआम गर्ने साउदी अरबका राजकुमार मोहम्मद बिल सलमानसँग अंगालो हाल्न पुग्छन्। मिडियाले पनि लेख्दैन। बोल्दैन। देख्दैन।

किन आउँछ भाइटीका परेलीका डिल भत्काउन?

सबैको स्वार्थ छ। इराकमा के रसायनिक हातहतियार थियो त? थिएन नि। बसर अल असदलाई हटाउन पूरा पश्चिम लाग्यो। रुस र इरान नभएको भए अर्को गद्दाफी बन्थे उनी। बिडम्बना के छ भने मिडियाहरुले पनि लोकतन्त्रको नाममा भद्दा पूँजीवादीहरुकै कभरेज गरिराखेका छन्। यमनमा साउदी रकेटले मारिएका बालबालिकाको विषयमा किन कसैले रिपोटिङ गर्दैन। किनभने यो गरेर पैसा झर्दैन। रिपोटिङको नाममा धन्दा गर्नेहरु पनि छन्। यो भद्दा पूँजीवादी व्यवस्थामा स्वार्थले गरिएका छन् रिपोर्ट पनि।

सबै बोल्न सक्छन् अहिले?

सामाजिक सञ्जालको विकासले सबैलाई बोल्न सक्ने बनाइदिएको छ। यसो हेर्दा सबै मानिसको सूचनामा पहुँच पुगेको छ। मानिसहरुमा सत्य तथ्य छुट्याउने विकास भएको हो कि झैँ देखिएको छ। हिजोभन्दा छिटो सूचना त पुग्छ नै तर फेक न्यूज, फेक धारणा बनाउने गिरोहहरुले सामाजिक सन्जाललाई प्रदुषित बनाइरहेका छन्। मलाई यहीँनेर अघि भनेको आशाको झिल्को थियो नि, त्यही छ नयाँ पुस्ताले सही सूचना पत्ता लगाउने र गलत सूचनालाई बहिष्कार गर्ने सामर्थ्यको विकास गरिररहेको छ।

राजा हटेपछिको नेपाल हेर्ने मन छ?

म मनाङ पुग्दा राजा थिए नेपालमा। राजा वीरेन्द्र। मानिसहरुमा अलिकति भय थियो राजतन्त्रको। त्यो एउटा मानसिक दबाब जस्तो थियो। संघीय मुलुकमा हुर्किएर विभिन्न व्यवस्था भएका देशहरुमा जाँदा मैले भिन्न भिन्न शैलीहरु देखेँ। ठ्याक्कै यही व्यवस्था नै ठीक हो यो बेठिक हो भन्नु भन्दा पनि सूचनामा अंकुश लगाउने र अपारदर्शी शासन व्यवस्था गलत हो। जनताले चुनिएर शासन गर्ने व्यवस्था ठीक हो जसलाई हामीले लोकतान्त्रिक शासन व्यवस्था भन्छौँ, त्यो ठीक हो भन्ने तर्क हो। तर, यहीँनेर के हो भने शासन गर्ने स्थानमा पुगेको व्यक्ति, समूह र दल गलत भैदियो, उनीहरुको नियत ठीक भएन भने विकास हुँदैन।

शक्ति घट्ने भयले शासकहरु जहिले पनि भयग्रस्त हुन्छन्। सूचनाहरुलाई दबाएर लुकाएर आफ्नो शक्ति सञ्चय गरिराख्ने रणनीति उनीहरुको हुन्छ। सयौँ वर्षको संघीय अभ्यासबाट यहाँ आइपुगेको स्विजरल्याण्ड र भर्खर अभ्यास गर्दै गरेको नेपालसँग तुलना गर्नु हुँदैन। यो गलत हुन्छ। नेपालमा के ठीक हुन्छ, कसरी ठीक हुन्छ, नेपालीहरुको आफ्नो अभ्यासले खारिदै जाने कुरा हो। निर्णायक जनता हुन्। मैले बहुदलीय व्यवस्था नआउँदैको नेपाल देखेको हुँ। गणतन्त्र आएपछि कस्तो भयो होला हेर्ने मन छ।  पुराना रिपोर्टिङहरु पनि थिए।

पहिला आफू बलियो बन्नुस् अनि बल्ल अरूसँग बार्गेनिङ गर्नुहोस्

म नियमित रुपमा नेपालका घटनासँग साक्षात्कार नै छु। दुई ठूला अजिंगरको बीचको सानो मुलुक नेपाललाई हामी स्वीसहरुले निकै माया गर्छौ। यसको मूल कारण भनेको हिउँले अग्लिएका पहाडहरु हुन्। पहाडी जीवनका धेरै चिन्तन, शैलीहरु मिल्छन्। दुई भाइ मुलुक जस्ता हुन् नेपाल र स्वीस। अझ दुवैले समुद्रलाई छोएका छैनन्।

मेरो अनुभव भन्नुहुन्छ भने नेपालको समृद्धिको एउटै उपाय छ, देश भित्रको राजनीतिक, सामाजिक शक्तिहरु एक भएर देश बनाउने। देश भित्र झैझगडा भइरह्यो भने अरुले हेप्ने मौका पाउँछन्। आफ्नो प्रगति पनि हुँदैन।

यस्ता थिए महाकवि

मलाई लाग्छ, भारतसँग जतिसक्दो बार्गेनिङ गरेर नेपाली सामानहरु भारतमा बेच्नुस्। चीनसँग राम्रो सम्बन्ध राखे पुग्छ। नेपाल र भारतको लामो सम्बन्ध हो। चिनियाँ जीवनशैली र नेपाली जीवनशैली मिल्दैन। म त दुवै सांस्कृतिक नजिकबाट हेरेको मान्छे। चिनियाँहरुको आफ्नै गति, शैली र जीवन बिताउने कला छ। त्यो, नेपालीसँग मिल्दैन। नेपालीसँग मिल्ने भारतीय नै हो। अबको बीस वर्ष मिलेर काम गर्नुभयो भने देशको अनुहार नै फेरिन्छ।

सञ्चार माध्यम गैरजिम्मेवार हुनुहुन्न

लोकतन्त्र गणतन्त्र जुनसुकै तन्त्र भए पनि मानिसको निर्णय प्रकृया बलियो नहुँदासम्म समाज परिवर्तन हुँदैन। त्यो विचार बन्न सहयोग गर्ने काम सञ्चार माध्यमको हो।

सञ्चार माध्यममा सामग्री पस्कने रिपोर्टरहरु हुन्। सही र सत्य रिपोर्टिङले सिंगो देशको व्यवस्था बलियो बनाउने काम गर्छ। खै उर्जाशील समय रिपोर्टर भएरै हो कि रिपोर्टर जस्तो जिम्मेवार काम केही लाग्दैन। सम्पादकको परिचय सानो सम्पादकीयमा साँघुरिन्छ, विचार राख्नेहरु आग्रही पूर्वाग्रही हुन सक्छन्, हुन्छन् पनि। तर, रिपोर्टरहरु वस्तुनिष्ट र सत्य हुन्छन्। सबैभन्दा अप्ठेरो र रूचिकर सत्यनिष्ठ रिपोर्टर हुनु सम्पादक हुनुभन्दा म ठूलो मान्छु।

प्रकाशित मिति: : 2019-10-28 09:20:57

प्रतिकृया दिनुहोस्