महराको सम्बन्ध, मदिरा र यौनजन्य हिंसा

तस्बिरः महरा र रोशनी

रोशनी पति-पत्नीबीचको सम्बन्धमा मिलन र बिछोड उनीहरूको नितान्त व्यक्तिगत कुरा हो ।

तर, एउटा पदीय हैसियतले निपूर्ण पुरूष जोसँग पदीय मर्यादा, शक्ति, बल, प्रतिष्ठा र उपल्लो दर्जाको सुरक्षा घेरामा रहेको व्यक्ति घेरा तोडेर मद, मदिरा र यौन सम्बन्धमा लालयLत हुँदै कसैकोमा पुग्नु अनि पुगेको कुरा सार्वजनिक हुनुसँग त्यस दिनको घटना जोडिएर  आउँछ । 

साथै ईच्छा के के थिए ? ईच्छाअनुसार के के भयो त्यो हाम्रो खोजी र चासोको कुरा पनि होइन । जुन समयबाट ईच्छा रहेन र समस्या सिर्जना भयो या ईच्छाविपरीत यौनसम्बन्ध र  कुरा या सम्बन्ध नमिलेर भएको कुटपिट चाहिँ सरासर ती महिलामाथि भएको यौनजन्य हिंसा हो । यो भन्न नसक्नु हाम्रो दरिद्र चिन्तन हो ।

कि चर्चै नगर्नु । तर, यसरी सार्वजनिक भइसकेको विषयलाई नितान्त व्यक्तिगत कुरा हो भन्ने धारणा राख्नु पनि सामाजिक न्यायविरोधी कुरा हो ।

मानिस सामाजिक प्राणी भएकोले नै परिवार र समाज बनाउँछ । त्यही समाजमा बस्दा एक अर्कालाई असर, प्रभाव या क्षति हुने गरि घटना बाहिर आइसकेपछि त्यस्ता विषयमा मौनता चाहने जस्तो गरी प्रतिक्रिया दिनु भनेको अपराध या बेथितिलाई नै पक्षपोषण गर्नु हो ।

समाजका यस्ता घटनाको चुरो पहिचान गर्न नसक्नु, नखोज्नु या पुरूषकै पक्षपोषण गर्नु र समस्याको किटान गर्न नसक्नु पितृसत्तात्मक सोच हो ।

यस्तो सोच पुरूष र महिला दुबैमा देखिन्छ र छन् पनि । त्यस्तै सोच भएको घर, परिवार र समाजमा हुर्किएका हामी घटनाको सही विश्लेषण गर्नुको सट्टा जता पानी बग्यो उतै सलल ... गर्ने स्वभावको जस्तो विचार राख्छौं ।

फरक कोणबाट घटनाको विश्लेषण गर्ने मान्छे कसैसँग नमिल्ने, छुच्चो र एकलकाँटे हुन्छ । अझै दलभित्र आवद्ध छ भने त कारबाहीमा पर्नसक्छ ।

यस्तो प्रवृत्ति हावी भएका हामीले यसरी विकास भएका यस्ता घटना घटिरहँदा पीडितको विपक्षमा र पीडकको पद, मर्यादा, शक्ति र पहुँचको अति मूल्यांकन गर्दै कसरी गर्‍यो होला .....?  केटी नै खराब हो ! बनावटी कुरा हुन्...हुनै सक्दैन...! षड्यन्त्रमा पर्‍यो आदि मनगणन्ते तर्क गर्छौ ।

अपराध त मानिसले गर्ने हो नि ! पदले त गर्दैन । मानिसको मनले  चाह्यो भने सेकेण्ड भरमा अपराध गरिसक्छ ।

यस्तो मनोवृत्तिको विकास हुनु भनेको नै अर्ध-सामन्तवादी सोच होइन र ? यस्ता गम्भीर अपराध विषेशत: ओहोदा, व्यक्ति, व्यक्तिको व्यक्तिगत तथा सामाजिक सम्बन्ध र समस्याका कारण सिर्जना हुने गर्छन् ।

घटना घटिरहेको अवस्थामा यस्ता मन्यता या सिद्धान्त सम्झदैनौं । हामी अधिकांश घटनालाई आफ्नो निकटता, सम्बन्ध र आफूलाई हिजोदेखि जे लाग्यो, लाग्थ्यो त्यसैको आधारमा बुझ्ने र विश्लेषण गर्ने गर्छौ ।

त्यही कारण होला व्यक्तिपिच्छे अनुसन्धान र न्याय पनि प्रभावित भइरहेको देखिन्छ । यस्ता प्रवृत्तिकै कारण हामीले प्रणाली विकास गरेर पनि लागू गर्न सकिरहेका छैनौं जस्तो देखिन्छ । 

यस्ता अप्रत्यक्ष रूपमा मन र मस्तिष्कमा विकास हुने, महिलाको यौनिकताको प्रयोग गर्न/गराउन उद्दत विचारले अपराधीको पक्षपोषण गर्दैन र ? शक्ति, बल र पैसाको कारण सामान्य अवस्थाका कतिपय महिला तथा पुरूष पनि यस्ता हिंसाबाट प्रभावित भइरहेका छौं ?

अहिले विकास भएको समाजभित्र, हाम्रा सम्बन्धहरू के के को कारण हो ?  कसरी विकास भइरहेका छन् ? हामी हाम्रो परिवार र सामाजिक सम्बन्धको अहिलेको अवस्थाका बारेमा पनि विश्लेषण गर्दै त्यस अनुसार घटनासगँ जोडिएको पीडक र पीडितलाई बुझ्न सक्यौं भने निष्कर्षमा पुगिएला कि ?

अहिले घटेको रोशनी र उनका पतिको सम्बन्धविच्छेदको घटना पनि देश, देश अनुसारको भेष भने जस्तै गरी चर्चा/परिचर्चा भएको छ । हामी निकै पढेलेखेका, विचारक, राजनीतिक नेता कार्यकर्ता, सामाजिक अभियन्तालगाएत लब्ध प्रतिष्ठित पनि पति या पुरूषको परस्त्री गमनलाई सामान्य नै मान्ने गर्छौ ।

कतिपय अवस्थामामा भनाभन, झैझगडा, बोलचाल बन्द र छड्के फड्के गरेर, बालबच्चा र इज्जत देखाएर  सामान्य बनाउने र घर बिगार्नु हुन्न भन्ने मान्यता बनाएर महिलालाई सम्झाएर त्यही परस्त्रीगमन गर्ने पुरूषसँगै बस्न बाध्य बनाउन निकै माहिर छौ ।

यी र यस्ता क्रियाकलापलाई पक्षपोषण गरून्जेल पति-पत्नीबीचको एकनिष्टता गर्ने गराउने विषय कम्जोर नै भइरहन्छ । नेपालको संविधानले व्यवस्था गरेको दम्पतिको हक पनि संरक्षण हुन नसक्ने अवस्था हुनसक्छ ।

पुरूषको महिला र पत्नीप्रति कस्तो चिन्तन या दृष्टिकोण छ भन्ने कुरा रोशनीको सम्बन्ध विच्छेदको विषयमा सामाजिक सञ्जालमा आएको दुबैको हस्ताक्षरको कागज एउटा ऐना हो ।

पत्नी-पतिसँग स्वास्थ्य राम्रो हुन्जेल स्वास्थ विग्रिएपछि खतम, काम नभएकी, ढङ्ग नभएकी आदि अनेकौं बहानाबाजीमा सम्बन्धबाट टाढिने र सकिने भएका हजारौं-हजार समस्या मौनताभित्र हाम्रै समाजमा ज्यूँदै छन् ।

सेकेन्ड, मिनेट, घण्टा, दिन, रात, हप्ता, महिना, वर्षौसँगै बसेका रोशनीको पतिलाई रोशनीको जीवनशैली, हाउभाउ , चालचलन, मोबाइलमा आएको म्यासेज, फोनहरु थाहा नभएको त पक्कै होइन होला ।

यति थाहा हुँदाहुँदै रोशनीको पति बडो गर्वका साथ पुरूष हुँ भनेर छाति फुलाएर घुमिरहेका थिए । दोस्रो विश्वयुद्वमा जापानको हिरोसिमा र नागासाकीमा एटम बम खसेझैं महरासगँको सम्बन्ध र राजीनामा जोडिएर कुरा बाहिरिएपछि  महराको पद गयो, महरा एक्लैले होइन हजारौ-लाखौ यस्ता प्रवृत्तिका महराले विभिन्न माध्यमबाट रोशनीको तेजोबध गरे ।

यीनै कारण देखाएर रोशनीका पतिले बडो बहादुरीका साथ पानी माथिको ओभानो बन्न सम्बधविच्छेद गरेको भन्दै हस्ताक्षर बाहिर्‍याए । त्यही पुरूषार्थको चर्चा विश्वभर फैलियो ।

आफ्नो खोक्रो आदर्श डोकोभित्र लुकाउँदै सम्बन्धविच्छेद गर्ने पुरूष रोशनीपति चोखिए । उनले पत्नीसँग सम्बन्ध टुङ्ग्याएर विश्वको ठूलै युद्व जितेझैँ चित्रण गर्दै प्रचार गर्ने हामीले रोशनीको बाँकि जीवनको बारेमा सोचेका छौ कि छैनौं ?  रोशनीको ठाउँमा अहिले उनका पति भएको भए र रोशनीले सम्बन्धविच्छेद गरेको भए हामीले कस्ता कुरा गर्ने थियौँ ? यतातिर पनि सोचौं कि ?

महराको राजीनामासँग गाँसेर होस् या पत्नीको परपुरूषसगँको शारीरिक सम्बन्ध र सामाजिक सञ्जालको परिचर्चाले थेग्न नसकेर होस रोशनी पति (पुरूष) ले आफ्नो पुरूषार्थ या बहादुरी पत्नीसँगको सम्बन्धविच्छेदमा लगेर टुङ्ग्याए र आफू साँचिलो बने ।

पहिलेदेखि नै सम्बन्ध थियो र पटकपटक बादविवाद भएको हो भने पहले नै किन सम्बन्ध विच्छेद गरेनन् ? यो प्रश्न पनि अनुत्तरित हुने नहुनुपर्ने होला नि त ?

यस्तो अव्यवहारिक चरित्र नै पुरूषचरित्र या पुरूषार्थ हो । आखिर चरित्र त महिला र पुरूष दुबैको बराबर नै हुन्छ होला नि ? त्यही चरित्र महराको र महरापत्नीको पनि होला । तर, महरापत्नीले त सम्बन्धविच्छेद गर्न सकिनन् । त्यहाँ पद, पैसा, प्रतिष्ठा र सन्तानको मोहको सम्बन्ध र संरक्षणको कुरा महरा मर्द पुरूषमा जोडियो ।

महरापत्नी कजोर भइन् । घर,परिवार र समाजमा महिला र पुरूषबीचमा हुने र गरिने विभेद यी भन्दा मसिनो ढङ्गबाट हुने गरेका छन् । यी र यस्तै कुरा नै नवसामन्तवादी दृष्टिकोण होइनन् र?

अब पनि हामीले यस्ता विषयलाई विश्लेषणात्मक दृष्टिकोण बनाएर विषयलाई केलाउन सकेनौं भने परिवर्तनलाई मनोविज्ञानमा संस्थागत गर्न सक्दैनौं । यो घटनामा रोशनी, रोशनीपति, महरा र महरापत्नी यी चारपात्रको चरित्र बराबरी हो ।

वर्षोदेखिको सम्बन्धको दोष महरा र रोशनीको कुराबाट बाहिरिएको हो ।

महरा संवैधानिक पदमा बहालवाला रहेको अवस्थामा मदिरा सेवनका लागि आवश्यक सहयोगी खानेकुरासहित रोशनीकोमा जानू र मदिरा सेवनपछि ईच्छाविपरीत सम्बन्ध राख्नु, कुटपिट गर्नु, बाहिरिनुसम्मका कुरा रोशनीले नभनेको भए गोप्य हुन्थे होला ।

रोशनीकै कारण अपराध बाहिरियो र रोशनीले नै अपराध किन छोप्दैछन् ? यो कुरा जनचासोको विषय हो ।

भाइवर मेसेज र मोबाइल कलसहितको सूचना बाहिरिएपछि ती पात्रको विषयमा चर्चा परिचर्चा र रोशनीकै भनाइ बदलिनेसम्मका कुरामा उनीहरू नै संलग्न छन् ।

परिचर्चाका पात्रमध्येकी रोशनी वर्षो पहिलेदेखि डिप्रेसनको औषधी सेवन गर्नुपर्ने अवस्थामा छिन् । त्यस्ती अवस्थाकी पत्नीसगँ सम्बन्ध विच्छेद गर्ने/ दिने रोशनीपति चाहिँ कसरी असल भए ?

यस्तो पक्षपातपूर्ण व्यवहारको हामी किन प्रचारप्रसार गरिरहेका छौं ? यी सबै कुरा पद, प्रतिष्ठा, अर्थ, पहुँच, शक्ति, अवसर केन्द्रीकृत प्रचारबाजी भएनन् र ? नैतिक प्रश्न हामीतिर पनि तेर्सिन्छ कि ?

यस्तो अपराधमा षड्यन्त्र, देशी-विदेशीको खेलआदि कुरा जोड्नुसँग कुनै तुक रहेको भेटिन्न । नैतिकतामा ह्रास हुने क्रियाकलाप आफूले गर्ने अनि देशी-विदेशीको षडयन्त्र भनेर हनुमानगिरि गर्ने प्रचलनले अपराधलाई संरक्षण गर्छ । अपराध जोगाउने तत्व मौलाउने यस्ता कुरा बन्द गर्नु नै उत्तम हुन्छ।

सबै अवस्थाको बारेमा विवेचना गर्दा यी तीनै पात्र चरित्रहीन देखिए तर यो समाजको आँखाले वर्षौदेखि डिप्रेसनको औंषधि खाइरहेकी पत्नीसँग सम्बन्ध विच्छेद गर्ने/दिने रोशनीपति चाँहि ठीक/असल हो भन्ने प्रचार गरिरहेको देख्दा हाम्रो समाजको दशा र दिशा देखेर पीडावोध हुन्छ । 

यस्तो पक्षपातपूर्ण व्यवहारले समानताको कुरा अर्थ, पहुँच र शक्ति केन्द्रीकृत गर्दैन र ? न्याय, समानता, धर्म, मानवतावादी र अधिकारकर्मीसहित आमजनसमुदायले यसतर्फ सोच्नु पर्दैन? आजको ज्वलन्त प्रश्न भने यही हुनुपर्छ र बनाइनुपर्छ । अनि मात्र, हामी र हाम्रो समाज २१औं शताव्दीको सोच र कोण लायक हुन्छ । 

प्रकाशित मिति: : 2019-10-16 12:19:46

प्रतिकृया दिनुहोस्