मेरो करीबकरीब चालिस वर्ष पुग्न लागेको अनुभवले भन्छ जीवन साच्चिकैमा छोटो छ। केही महिनाअघि श्रीमानको ४० औं जन्म दिन मनायौं। यस धर्तीमा औषत मानव आयुलाई आधार मान्दा सुभासले आधा जीवन विताइसकेको प्रशंग चल्दा मैले पनि केही वर्षमा आउने मेरो चालिसौं जन्म दिनलाई सम्झेँ, हेर्दा हेर्दै जीवन आधा बितिसकेकोमा झसंग भएँ।
यसको एक हप्तासम्म मैले मेरो विगत फर्केर मात्र हेरेँ, आफूले भोगेको जीवन चलचित्र सरी घुमिरह्यो। साच्चैमा जीवन छोटो रहेछ। चलचित्र हेरे जस्तै। हेर्दा हेर्दै कहिले रोमान्चित हुँदै, कहिलै पात्रसँग दुःख मनाउँदा मनाउँदै सकिएको थाहा नै नहुने। जीवनमा के के न गर्छु, के के न बन्छु भन्दा भन्दै, दैनिकी चलाउन दौडधुप गर्दा गर्दै मध्यान्तरको छेउछाउ पुगेको पत्तै भएन।
हुन त प्रिय पाठकहरू सोच्नुहोला ४० हुँदैमा आधा जीवन काटिएको ठहर्छ त? संयुक्त राष्ट्र संघले २०१५ मा सार्वजनिक गरेको तथ्याकं अनुसार मानिसको सरदर आयु ७१.५ देखाएको छ। संघले २०१० देखि २०१५ भित्र विश्वका मानिसहरु हाराहरी यही बाचेको देखाएको छ।
हुन त कतिले एज इज जस्ट द नम्बर उमेर केबल नम्बर मात्र हो पनि भन्ने गरेका छन्। तर, मलाई लाग्छ उमेर कसरी नम्बर मात्र हुन्छ, त्यस भित्र मानिसका भोगाई, अनुभव उतारचढाव समेटिएको हुन्छ। २५ वर्षको हुँदा म जस्तो थिएँ, बाहिरी रुपमा म त्यही देखिए पनि ममा जीवन भोगाईले खारिएको छु। आफैंमा मस्त भएर बाच्न सिकेको छु। त्यही विन्दास भएर बाच्न मलाई ५ वर्ष अगाडि सम्भव थिएन।
अरूले बनाएका मानक मेरा लागि होइन भनेर अघि बढ्ने आँट थिएन। अनि कसरी भयो उमेर केबल नम्बर। उमेर त अनुभव, परिपक्कपन हो। जीवनको कटु यथार्थबोध भएपछि जीवनरूपी चलचित्रको फ्ल्यास व्याकमा गएँ। मेरो जीवन कस्तो रह्यो? मैले कस्तो जीवन बाँचिरहेको छु।
कसैले भन्छन्,‘जीवन एउटा फूल हो’, कोही भन्छन् ‘जीवन काँडा बिचको फूल।’ केही साता अगाडि मात्र हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले लेखेको महको म पुस्तक पढेको थिएँ। उनले जीवनका लेखेका छन् जीवनमा सुखभन्दा दुःख धेरै छ, आँशु धेरै छ। त्यो आँशुमा पौडिन जानिएन भने आँशुमै डुबेर मरिन्छ।
आँशुमा डुंगा चलाएर जिउनुपर्छ। आँशुले आनन्द पनि दिन्छ। जीवनका बारेमा अरुले गरेको परिभाषा केही हदसम्म मिले पनि मेरो जीवनमा ठ्याक्कै मिल्ने परिभाषा भेटेको छैन्। सायद यस संसारमा जन्मने हर मानिसको भोगाई यात्रा फरक हुनाले नै होला घत परे पनि यता उता जोड घटाउ गुणा भागा गरे पनि पटक्कै मिल्दैन।
सबैको जीवनको यात्रा गर्ने लेन फरक। यसरी आफ्नै लेनमा यात्रा गनुपर्ने यस जीवनमा कसैको कसैसँग प्रतिस्पर्धा हुने कुरै भएन। प्रतिस्पर्धा त केबल आफूसँग मात्र हुन्छ। विगतको म, वर्तमानको म र भविष्यको म मा नै प्रतिस्पर्धा हुन्छ। अन्य मानिसमा होइन।
एक अंग्रेजी कलाकार तथा गायक माइकल जेभियरको भनाई पढ्दै थिए जीवनको बारेमा उनले त जीवनको बाँकी आधा भाग त पहिलो आधा भागमा सिकेका अप्रिय र अमानीय सिकाईलाई मेट्दा मेट्त्दै जान्छ पो भनेछन्। सही लाग्छ यो भनाई। हो नी त सानोमा सिकेका, सिकाइएका कयौं कुरा लागू नै हुँदो रहेनछ अहिले।
अहिले ४० औं जन्म दिन नजिकिँदा ती सब भ्रम लाग्छन्। प्रतिस्पर्धा, दौडधुप जीवन सुन्दर बनाउन सिकेका सबै मानक अहिले आएक व्यर्थ लाग्छ। झुटा लाग्छन्। समाजले बनाएका सफलताका मानकको पछि लाग्दा वहने हावाको अनुभव गर्न बिर्से जस्तो, आकासको सुन्दरता हेर्न नभ्याएको जस्तो, नुन नपुगेको तरकारी जस्तो भयो जीवन। बाहिरबाट हेर्दा सबै भएजस्तो भित्र केही खाली खाली जस्तो।
ठूला ठूला विद्धवानको परिभाषामा आफू नअटाएपछि मैले आफैं जीवन यात्राका पाना सरसर्ती पल्टाएर हेरेँ। आधा जीवन त बाल्यकाल राम्रै बित्यो, यादै छैन, अलि बुझ्ने भएपछि प्रष्ट याद छ, स्कुल र घरमै दिन गयो। कहीँ घुम्न जान मन लाग्यो, पढाई तगारो बनेर आउँथ्यो।
सिकेको पनि त्यही थियो मेरो समाज परिवारबाट। राम्रो पढाई नैं सुखको पासवर्ड हो। अनि पासवर्ड पाउन दायाँबायाँ नहेरी पढेँ। मलाई बच्चैदेखि साहित्यका पुस्तक पढ्न मन थियो। तर, नम्बरकै पछाडि दौडिएर मैलै सही अर्थमा जिन्दगी नै पढ्न बिर्सेको आभास हुन्छ अहिले।
त्यसपछिको जीवन काममामको जोहो गर्दा गर्दै गुज्रियो, गुज्रिएको छ। अर्को शब्दमा भनौं तनाव, प्रतिस्पर्धा, भागदौडमा नै व्यस्त भयो जीवन। असली जीवन चिन्दा मध्यान्तरमा आइपुग्यो।
गर्मी विदा शुरू हुनु एक दिनअघि छोरीको टिचरले एक पन्ना भर विदामा गर्नेुपर्ने होम वर्क पठाएकी रहिछिन्। लाग्यो यति पन्ना लेख्ने, उती पढ्ने केही घोक्ने त्यही होला। तर, छोरीले सेतो कागाज अगाडि तेर्साइन्। पढ्न करै लाग्यो शिक्षिकाले आकाश हेर्ने, ध्यान गर्ने, फूल रोप्ने, टोल घुम्ने, परिवारका लागि केही पकाउने आदि भनेर पो होम वर्क दिएकी रहिछिन्।
कुल लाग्यो, पढ्दा नै आनन्द आए जस्तो। अहिलेसम्म मैले त्यस्तो होमवर्क कहिल्यै सुनेको देखेको र भोगेको नै थिइनँ। मैले त सधै यति घोक, यति पढ्, यति लेख, त्यति पान्ना गर मात्रै भोगेको थिएँ। हेर फलानाले त्यति पढिसक्यो, त्यति नम्बर ल्यायो, तिमीले खोइ? त्यस्तै सुनेको थिएँ।
शिक्षिकाले नै त्यस्तो पढाए पछि लाग्यो, आहा! कस्तो राम्रो, जीवनमा सिक्नुपर्ने त प्राथमिक कुरा त त्यही पो। तर, हामीले प्रतिस्पर्धामा बच्चालाई उतारेर सानैदेखि सही अर्थमा बाँच्न कसरी भन्ने नै सिकाउन भुलिरहेका छौं।
जीवन सफल र सरल बनाउन चाहिने मुल मन्त्र नै सजिलो बनाउने आधारभूत जीवनी पढ्छु आजभोलि धेरै। सबैका भोगाई फरक साथ भोगाई एउटै भए पनि अनुभव फरक। सायद एउटा घटनामा पनि मानिस अनुसारको अनुभव। झण्डै झण्डै आधा जीवन बिताइसक्दा पनि जीवनको परिभाषा थाहा छैन मलाई, सायद जीवन परिभाषामा अटाउँदैन पनि।
अहिले जीवनलाई परिभाषित गर्नुभन्दा पनि अर्थपूर्ण रुपमा जीवनलाई खुसी बनाएर बाच्ने कला सिक्छु भनेर लागि परेको छु। त्यसैले त जीवनी पढ्छु, जीवन दर्शन खोज्छु। यस क्रममा म लागिपरेको छु।
जीवनी पढ्छु, आत्मकथा पढ्छु। जीवनमा प्रियजन बिरामी, निधनबाट हुने पीडाबाट कोही मानिस पनि अछुतो नभएको पाउँछु। अनि सोच्छु, मान्छेको त के कुरा भो भगवानले पनि आफ्नो भागमा परेको दुःख कष्टलाई सामान गर्नुपरेको थियो।
विभिन्न पारिवारिक कारणले गर्दा भगवान रामले पनि चौध वर्ष वनवास जानै परेकै थियो। शिव भगवानले पनि श्रीमती सतिदेवी गुमाउँदा परेको पीडा खप्न नसेको त हामीले पढेकै छौं। यता क्रिश्चियन धर्ममा पनि त जिसस क्राइष्टले पनि क्रसमा चढ्नु परेकै थियो।
आजभोलि लाग्छ, जीवनलाई त्यसलै काँडा बिचको फूल भनेका होलान्। पपुलेसन रिफरेन्स ब्रुयुरो (पिरावी) का अनुसार मानिसको उत्पति करिब पचास हजार वर्ष यता करिब एक सय आठ अर्बले मानिसले यस पृथ्वीमा जीवन यात्रा गरे।
अनि आफ्नो समय सकेर यस लोकबाट गए। उनीहरूसँगै उनीहरूले देखेका सपना गए, भोगेका अनुभव विलाए। एक अर्का प्रति गरिएका वैमनस्यता, प्रतिस्पर्धा, रिस राग विलाय, कटु वचन हराए। छिटफुट संग्रहित बाहेक।
अनि लाग्छ, वैमनस्यता गर्नुभन्दा हाँसेरै, आनन्दै मानेरै बाँच्नुपर्छ। सकिने भए माफ दिएरै बाच्नुपर्छ। आफूलाई खुसी दिने कामहरु गरेर बाँच्न अझै बाँकि छ। समाजका अगाडि झट् सफल देखिए पनि आफ्नो मानकमा बाँच्न अझै बाँकी छ। जीवनलाई उत्सव बनाउनै बाँकी छ।