दशकको प्रवासको वसाइपछि घर पुगियो । धेरैपछि फर्केकोले आफैमा कौतुहलताले भरिएको थियो- घरयात्रा । काठमाडौमा ओर्लिएको भोलिपल्टै जहाजको जोहो मिलेपछि एकघण्टाको उडानपछि घर नजिकैको चौरजहारी एयरपोर्टमा हामी ओर्लियौं । केही समय जहाज नआएको कुरा गर्दै हुनुहुन्थ्यो वुवा । म, मेरी श्रीमती र दुई सन्तानलाई एयरपोर्टमा रिसिभ गर्दै सुनाउनुभयो, तिमीहरु भाग्यमानी रहेछौं ।
माओवादी द्धन्दकालका वेला ध्वस्त विमानस्थल भवनमा मेरा आँखा टक्क अडिए । ध्वस्त भवन ठडिसकेछ । घाँसेमैदान कालोपत्रे बनेछ । आफु हुदैँ पुगेको मोटरबाटो भने उस्तै रहेछ हिलाम्मे । त्यही हिलाम्मेबाटो हुदै दुईजना भाइले मोटरसाइकलमा हामीलाई घरसम्म ओसारे ।
बस्ती बाक्लिने कुरा स्वभाविक नै भैहाल्यो । त्यसमा पनि खुशीको कुरा वादी जातिका मेरा गाउलेले घर पाएछन् । बा भन्दै हुनुन्थ्यो, सरकारले नै हरेक परिवारलाई एक घरको व्यवस्था गरिदिएको रे । मैले देश छोड्नुअघिसम्म उनी घरवारविहिन जस्तै थिए । एक दुईवटा ससना झुप्रावाहेक उनीहरुसँग केही थिएन । अहिले सिमेन्टले टिप गरेका उनीहरुका घरदेखेर मेरा आँखा खुशीका आँसुले भरिएका थिए ।
९४ वर्षिय हजुरबुवालाई भेट्नु यसपटकको यात्राको खास थियो । हामी घरको आगनमा पुगेपछि अंगालोले कसेर हर्षका आँसु झार्नुभयो । त्यसै पनि हजुरवुवा र मेरो आफ्नै सामिप्यता थियो । मैले काठमाडौंबाट दशैतिहारको मौका पारेर घर जाँदा चिनी, फलफुल लिएर जान्थे । नगएको वेलामा अरुकै हातमा भए पनि पठाउने गर्थे । हजुरवुवालाई गुलियो चिज खुवै मन पर्थ्यो ।
कृर्षिमा निकै रुची राख्ने उहाँ खेत जोत्ने र वस्तुभाउ चराउने काममा साथ दिएकोले मलाई निकै माया गर्नुहुन्थ्यो । कहिलेकाँही भने मेरो पढाइलाई पनि अवरोध गर्ने गरी अह्राउँदा झगडा जस्तो पर्थ्यो । यसले झन माया बढाइरहेको थियो ।
एसएलसी दिएर काठमाडौमा पढन आउँदा बुवाले जग्गा घटाएपछि भने उहाँ चिन्ता गर्नुहुन्थ्यो । तर, नातिहरुले पढेको देखेर खुशी पनि त्यत्तिकै हुनुहुन्थ्यो ।
सडकले मेरो गाउँलाई चारैतिरबाट घेरिसकेछ । भेरी नदीपारि जाजरकोट सदरमुकामसम्म त सडक नै कालोपत्रे नै भैसकेछ । नदीमा पुल नबनेकाले वारिकाले भने हिले सडकबाट नै यात्रा गर्नुपर्ने वा एक डेढघण्टा हिडेर पारि नै गएर सवारी चढ्नुपर्ने रहेछ ।
दु:खको कुरा हजुरआमालाई भेट्न पाइएन । उहाँले देह त्याग गर्दा सात समुन्द्रपारी पुगेको थिएँ । मलाई अहिले पनि याद छ उहाँको स्वर्गारोहणको खबर पाएको बेला म वाथरुममा पुगेर निकै भक्कानिएको थिएँ । हजुरआमालाई भेट्न नपाएकोमा निकै अधुरो महसुस भयो । कतै हजुरवुवालाई पनि भेटन पाईदैन कि भनेर मेरो प्रवासको वसाइ निकै डरत्रासले भरिएको थियो । तर, भाग्यले हजुरवुवासँग यसपटक भेट भयो । खुशीको वयान गर्न नसकिने थियो उहाँसँगको भेट । तर, उहाँको भाइ (सानो हजुरवुवा) केही महिनाअघि वित्नुभएकोले निकै दु:ख लाग्यो ।
घरपुग्दा गर्मीको समय थियो।। खेतीपाती भर्खरै उम्रदै थियो । गोडमेलमा गाउँलेहरु व्यस्त देखिन्थे । एकहप्ताको बसाईमा सकेसम्म सवैलाई भेट्दै लामो समयको ग्यापलाई पुरियो । अघिल्लो पुस्ताका धेरैजनाले संसार छोडिसकेका रहेछन् । पछाडि पुस्ताका धेरै अनुहार चिन्नै गाह्रो भयो । तर, उनीहरुको अभिभाववको परिचय खुलाउदै चिनजान गरियो । एकदिन त भलिवल खेलिरहेको पछिल्लो पुस्तासँगै मिसिएर सम्झनालाई ताजा गरियो । वरपर डुलियो, हिडियो । बजारसम्म पुगेर केही पुराना चिनजानलाई ताजा वनाइयो । समय अभाव र मानिसहरु आआफ्ना काममा व्यस्त हुने समयले गर्दा धेरैसँगको साक्षात्कार हुन सकेन । केही इष्टमित्र, नातेदार र साथीभाइहरु छुटे । आफू पढेको स्कुल र हाइस्कुलमा पुग्ने र गुरुवर्ग र साथीहरुको विषयमा जान्ने अवसर छुट्यो । त्यसमा पनि पछिल्लो व्यवस्थाअन्तर्गतका नगरपालिका र केही व्यक्ति निकायमा पुग्ने ईच्छा पनि अधुरै रह्यो । पत्रकारिता पेशाले सचेतना थपिदिएकोले गाउँ र देश बुझ्ने मेरो रुचि यसपालि टरेर गयो ।
तर, मैले मेरो गाँउ र देश बुझ्न कतै जानु परेन । मैले बर्षौदेखि खानेपानीको समस्याले गुज्रिएको मेरो गाउँ र मेरो घर परिवारलाई देखेँ । मैले थाहा पाउँदासम्म खानेपानीको समस्या जे थियो, आज ३८ वर्ष उमेर भयो उस्तै रहेछ । खानेपानीको समस्यामा तात्विक अन्तर छैन । फरक भनेको बरू हिजो धारामा दुई गाग्री पानीको ठाउँमा चार गाग्री पाइन्थ्यो । खोलामा पनि केही बढी नै मुल थियो, अहिले त्यो अरू सिमीत भैसकेको रहेछ । देशको विकासको गति पनि थाहा नभएको होइन । मेरी आमा आज पनि त्यही गाग्री वोकेर आधा घण्टादेखि एकघण्टा पैदल यात्रामा नजिकैको खोलासम्म पुग्नु हुदोरैछ । धारा छ तर पानी छैन अझैपनि त्यही दोहोर्याउनु हुन्छ बाआमा ।
पहिले त खोलामा पनि पानी थियो, अहिले त पानी दिने ती मुल पनि सुकिसके । नसुकोस् पनि कसरी? जबकि वस्ती मात्र वढेका बढ्यै छन् । दु:ख त अझ वढी त्यतिवेला लाग्यो जतिबेला मेरी आमाले खोलामा पुगेर ल्याएको पानीले नुहाउनुपर्यो । खानेपानीको अभाव भएको वेला हाम्रा लागि नुहाउने पानीको लागि मेरी बूढी आमाले गरेको दु:ख देखेर मेरो यात्रा नै खल्लो लाग्यो । मेरो विवसता पनि उस्तै थियो ।
नदीबाट पानी तान्ने प्रविधिको पहुँचबाट बन्चित मेरी आमालगायत मेरो गाउँ भने बर्षौदेखिको खानेपानीबाट बन्चित छन् । नयाँ व्यवस्थाले हेरोस् । त्यतिन्जेलसम्म ट्याडकरको व्यवस्था गरेर भएपनि नदीको पानी ल्याएर मेरो गाउँको बर्षौदेखिको खानेपानीको समस्या समाधान गरियोस् ।
अमेरिकामा सुविधा भोगिसकेको म र मेरो परिवारका लागि आमा थाहै नदिई एकाविहानै डोकोमा गाग्री र थाप्लोमा नाम्लो राखेर हामीलाई नुहाने पानीको जोहो गर्न खोलामा जानुहुन्थ्यो । आमाले हामी बसुञ्जेलसम्म नै पानी ओसारेर हामलाई नुहाउने व्यवस्था गरिरगर्नुभयो, चाहेर पनि हामीले केही गर्न सकेनौं । अहिले त्यो क्षण सम्झदा पनि मन अमिलो भएर आउँछ ।
एकहप्ताको वसाइमा आक्कल झुक्कलले पानी आएको थाहा भयो त्यो पनि एकघर परिवार एकदेखि दुईगाग्री पानी भर्ने मात्रामा । यो मेरो घरको मात्र समस्या थिएन । बाँकि सयभन्दा बढी घर र त्यहाँ वस्ने गाउँलेको समस्या थियो । वरिपरिका गाउँको पानी समस्या पनि उस्तै हो । हामी
परिवारबाट सुनेको नगरपालिको मुख्य योजनामा मेरो गाउँलगायत नगरवासीहरुकै लागि प्रतिघरमा खानेपानीको धारा जडान गर्ने योजना छ रे । यो सफल होस मन भित्रैदेखि म कामना गर्छु ।
सडकले मेरो गाउँलाई चारैतिरबाट घेरिसकेछ । भेरी नदीपारि जाजरकोट सदरमुकामसम्म त सडक नै कालोपत्रे नै भैसकेछ । नदीमा पुल नबनेकाले वारिकाले भने हिले सडकबाट नै यात्रा गर्नुपर्ने वा एक डेढघण्टा हिडेर पारि नै गएर सवारी चढ्नुपर्ने रहेछ ।
नदीबाट पानी तान्ने प्रविधिको पहुँचबाट बन्चित मेरी आमालगायत मेरो गाउँ भने बर्षौदेखिको खानेपानीबाट बन्चित छन् । नयाँ व्यवस्थाले हेरोस् । त्यतिन्जेलसम्म ट्याडकरको व्यवस्था गरेर भएपनि नदीको पानी ल्याएर मेरो गाउँको बर्षौदेखिको खानेपानीको समस्या समाधान गरियोस् । मलाई याद छ, त्यो 'धारे-योजना' मैले थाहा नपाउने उमेरसँगै जोडिएका हुन् । तीनै धारालाई मर्मत सम्भार गरियो होला तर खानेपानीको समस्या हिजोभन्दा आज झन बढेको छ । पछिल्ला सरकार र उनीहरु मातहतका निकायले यो समस्यालाई नजरअन्दाज गर्ने छैनन भन्ने मेरो अपेक्षा छ ।