सृष्टिको सृजना र जस्वलाबाट मात्र संभव छ भने म किन पुकारु ऋषि ?

हिन्दु महिलाहरुले निकै हर्सोउल्लासका साथ तीन दिनसम्म मनाउने तीज पर्वको अन्तिम दिन भाद्र महिनाको शुक्लपक्षको पञ्चमीमा अरुन्धती लगायतका सप्त ऋषिहरुको पुजाआजा गर्दै तीज पर्वको समापन गरिन्छ।

विशेष गरेर रजस्वलाको अवस्थामा स्त्रीजातिले जानी नजानी भोजन, अन्न, पानी, बोटहरुमा गरेका छुवाछुतहरुबाट दोषमुक्त हुनको लागि यो पुजा गरिन्छ भन्ने धार्मिक मान्यता पाइन्छ।

कुनै समयमा धर्मराज युधिष्ठिरले भगवान कृष्णसँग सारा पापबाट मुक्त हुने, परमात्मासँग जोडाउने जानी नजानी भएका कर्मबाट क्षमा दिने कुनै कथा छ भने सुनाउन अनुरोध गर्दा, भगवान श्री कृष्णले युधिष्ठिरलाई भन्छन्, स्त्रीहरुलाई जब रजस्वला हुन्छ त्यति खेर चारै वर्णका पूरुष वर्ग सावधान रहनु पर्ने हुन्छ।

यसमा भगवान इन्द्रलाई ब्रह्महत्या लागेको थियो। चारठाउँमा बाँड्दा स्त्री जातिले पनि एक भाग ब्रह्महत्या लिएको हुँदा जब रजस्वला हुन्छ, त्यसपछि सन्तान उत्पन्न हुन्छन्, यसलाई सार्थक तुल्याउनु भन्ने वरदान दिएको प्रसंग समेत यस व्रत कथासँग जोडिएर आएको पाइन्छ।

यसप्रकार धार्मिक मान्यतासँग जोडिएको पञ्चमीको व्रत कथा सुन्दा महिला र रज्स्वलासँग प्रत्यक्ष रुपमा जोडिएको पाइन्छ। सानो छँदा तीज भन्नासाथ मेरो बाल मष्तिस्कमा रातो लुगा लगाउने, मन्दिर जाने, नाच्ने गाउने, मिठा(मिठा परिकारको दर खाने, सबै जना भेला भएर रमाइलो गर्ने अनि सँधै घर धन्दामा व्यस्त हुने मेरी हजुरआमा र आमाले आराम गर्ने दिनको चाँड हो जस्तो लाग्दथ्यो।

विस्तारै मेरो मनमा तीजप्रतिको धारणामा परिर्वतन त्यसबेला हुन पुग्यो, जब मेरो शरीरमा परिर्वतन भई ममा पहिलो पटक मासिक श्राव हुन पुग्यो। अर्थात म पहिलो पटक रजस्वला भएँ। तत्पश्चात प्रत्येक महिना मासिक श्राव हुन्छ।

प्रत्येक महिना हुने मासिक श्रावमा जानेर वा नजानेर गरेका पापहरुबाट मुक्त हुनको लागि तीजको अन्तिम दिन ऋषिपञ्चमीमा घरनजिकको मनोहरा खोलामा गएर ३६५ पटक दतिवनले दाँत माझदै, रातोमाटो, गोवर, तुलसीको माटो समेतले नुहाउँदै आइरहेकाे छु।

कुशले बारेर चोखो भै उक्त पापबाट मुक्त हुनको लागि अरुन्धतीसहित सप्तऋषिको पुजा गरेर सम्पूर्ण कथा वाचन गर्नु पर्दछ भन्ने कुरा थाहा पाए, त्यसपछि तीजसँगको मेरो रातो गाढा रंगको सम्बन्ध प्रत्येक वर्ष पाप पखाल्नकै लागि गर्नुपर्ने पञ्चमीको पुजा सम्झेर फिका हुन थाल्यो। त्यस पछिका मेरा प्रत्येक तीज दर खाने, नाच्ने, गाउने अनि हजुरआमा र आमाको डरले पञ्चमी नुहाउने र ऋषिको पुजा गर्ने कार्यमा सिमित हुन पुग्यो।

थप बुझ्दै जाँदा जब मलाई रजस्वला हुनु भनेको कुनै पाप नभएर प्राकृतिक कुरा हो र रजस्वला विना संसारको सृष्टि संभव छैन भन्ने थाहा हुँदै गयो। त्यसले ऋषिपञ्चमीको पुजा धर्मशास्त्रको आडमा महिलालाई हेप्ने, होच्याउने, दमन गर्ने विभेदको अस्त्र हो जस्तो लाग्न थाल्यो। पुरातन समाजमा हाम्रो धर्म, संस्कृति र समाजले महिलालाई रजस्वला हुनु पूर्व कन्या अथार्त कुमारीलाई शुद्ध, पवित्र मान्ने हुनाले नै त्यस समयमा छोरीको विवाह रजस्वला हुनु पूर्व नै गरिदिएमा धर्म मिल्ने मान्यता थियो। त्यसबेलाका सबै चेलीहरुको विवाह रजस्वला पूर्व नै गरी दिने चलन थियो।

विस्तारै उक्त चलनमा परिर्वतन हुँदै आउन थाल्यो। तथापि रजस्वला भए पश्चात महिलाहरु अपवित्र हुने भएको ठानी उनीहरुलाई रजस्वला हुँदा नछुने भएको, पर सरेको जस्ता नामहरु दिइन थाल्यो। रजस्वला भरीको ४, ५ दिन कसैले नछुने गरी छाउ गोठहरुमा राखिने प्रथाको थालनी गरियो। हुनत हाल आएर छाउ प्रथाविरुद्ध आवाजहरु उठाइदै आएको पाइन्छ।

थुप्रै छाउ गोठहरु भत्काएको समाचारहरु नसुनिएको हैन तर पनि अहिलेसम्म हाम्रो मन भित्र रहेको छाउ गोठ भत्किन सकेको छैन। सानै देखि रजस्वला पाप हो। रजस्वलाको अवधिभरि यो नगर, मन्दिर नजाउ, उसलाई नछोउ भनी हामीलाई सिकाइएको कारण सबै कुराहरु थाहा हुँदाहुँदै पनि भित्र कता कता पाप भन्ने शब्दले गडेको भएर शिक्षित पढेलेखेका हामी जस्ता महिलाहरु पनि अहिले सम्म त्यस पाप मोचन गर्नको लागि व्रत गर्दै ऋषिपञ्चमीको रित पुगाउँदै आइरहेका छौं।

वास्तवमा धर्म, संस्कार, संस्कृति, रिती रिवाज, परम्परा भनेको हाम्रो सम्पत्ति हो। त्यसलाई जर्गेना गर्न सकिएन भने भोलिका पुस्तालाई हामीले हाम्रो संस्कार र संस्कृतिको बारेमा के बताउने? के सिकाउने? तसर्थ हामीले हाम्रा संस्कृति, संस्कार र परम्परालाई जर्गेना गर्न जमर्को गर्नुपर्छ।


यसका लागि पनि विस्तारै हाम्रो संस्कार र परम्पराको राम्रा पक्षहरुलाई हाम्रो सम्पतिको रुपमा स्वीकार गर्नुपर्छ भने नकरात्मक, विकृतीजन्य कुराहरुलाई विस्थापित गर्दै जानु सक्नु पर्दछ। संस्कार, संस्कृति भनेको व्यवहार हो। व्यवहारहरु, विचारहरु परिर्वनशिल छन्।

संसारमा केहीपनि स्थिर छैन। धर्म र संस्कृतिको नाममा समाजमा जरो गाडेर बसेका कुरीति र परम्पराविरुद्ध अहिले पनि आवाज नउठाए, कहिले उठाउने? धर्मकै नाममा ७ वर्षकी गोमा ब्राह्मणीको ७० बर्षको शिव भट्ट ब्राह्मणसँग भएको अनमेल विवाहको स्वस्थानी व्रत कथा कहिले सम्म पढ्ने? तसर्थ आजको वैज्ञानिक समयमा विज्ञानले स्पष्ट पारीसकेको छ कि रजस्वाला कुनै पाप होइन, यो प्राकृतिक कुरा हो।

यदी रजस्वला नहुने हो भने यो श्रृष्टि संभव छैन। यदी रजस्वला पाप हो भने सम्पूर्ण मानव समाज त्यही पापको पिण्ड हो। त्यही भएर अब ऋषिपञ्चमीको पुजा होइन रजस्वलाको समयमा छाउगोठमा बस्न बाध्य बनाइएको सामाजिक कुरीतिविरुद्ध लड्ने समय आएको छ।

प्रकाशित मिति: : 2019-09-03 11:13:57

प्रतिकृया दिनुहोस्