‘नेपालको विविधतालाई एक सूत्रमा बाध्ने तथा नारी मुक्ति आन्दोलनको रूपमा तीज पर्वलाई केन्द्र बनाऔं’
केवल वर्षको एक दिन मनको पीडा पोख्न, स्वतन्त्रताको अनुभूति गर्न होइन धर्तीको सम्मानित जातिको रुपमा आफूलाई स्थापित गरि बाह्रैकाल सम्मान, स्वतन्त्रता र सशक्तता प्रस्तुत गर्ने महान अभियानको थालनीको रुपमा तीजलाई ग्रहण गर्नुपर्छ। यस्तो भएमा कम्तिमा दक्षिण एशियामा नेपालले महिला मुक्ति, स्वतन्त्रता र सम्वृद्धिको दीप प्रज्वलन गर्न सक्नेछ।
नारी अर्थात महिलालाई निकै मन पर्ने, नारीको खुसी र सुखानुभूतिको पर्वका रुपमा तीज परिचित हुदै आएको छ।
धार्मिक मान्यताबाट सुरू भए पनि अब तीज कुनै विशेष जाति, धर्म, सम्प्रदाय तथा क्षेत्रको दायराभन्दा बाहिर गई समग्र नेपाली समाज र त्यसमा पनि महिला जागरणको अभिन्न अंग बन्दै गएको आभास हुँदै गएको छ।
विश्वका विभिन्न भागमा रहेका नेपाली नारीले पनि यसलाई नारी स्वतन्त्रता र उत्थानका पर्वका रूपमा हर्षोल्लासका साथ मनाउने गरेको पाइन्छ।
यस पर्वमा जति उत्साह, सहभागिता र महिला सशक्ततताले स्थान जमाउँदै समग्र नारी जगतमा एक प्रकारको आशाको सञ्चार, सुन्दर भविष्यको मिठो कल्पनाको अंकुरण र पितृसत्तात्मक सोचमा सुधार हुँदै उत्साह छाएको छ त्यति नै यसलाई मनाउने क्रममा देखिएका केही कमी कमजोरीले महिलालाई एक वस्तुको रुपमा विकास गरि यौनिक संकुचन र साँस्कृतिक विचलनको भारिले उठन नसक्ने गरि किच्ने अवस्था विकास हुने आशंकाले चिन्तित बनाउँदै लगेको छ।
तत्कालिन समयमा कृषिमा आधारित जीवन शैलीमा वर्षे खेती लगाएर थकाई मार्ने समयमा विवाहित महिलाले माइती देशमा जम्मा भई बालसखासँगै खुसी, पीडा तथा फरकफरक भोगाई गीत मार्फत अभिव्यक्ति गर्ने, सिर्जना र कला प्रस्तुत गर्ने एक बलियो माध्यम थियो।
तत्कालीन समयमा चेलीको भोगाई गीतको रुपमाः
दिनभरी काम गर्यो फराकिलो फाँटमा, बेलुकी घर आउँदा मध्य रातमा,
कोही छैनन् भनौं भने स्वामी मेरो साथमा, एक बचन बोलेनन् लामो बाटामा।
एक बचन बोले पनि भन्नी मलाई घोचेर, भविष्यमा चाहिँदैन भन्नी सोचेर।।
पुरातन समयको विवाह उमेर, चेतनास्तर, यातायात तथा संचार, महिलालाई हेर्ने दृष्टिकोण, महिला अधिकार, सामाजिक तथा साँस्कृतिक संस्कार र संरचनाका कठोर एवं निर्दयी चक्रका बिचमा एक दिन भलै स्वच्छन्द भएर आफ्ना भाव व्यक्त गर्न पाउनु कम महत्वको विषय थिएन।
हाम्रा पुर्खाले यस पर्वको गरिमालाई सुखद भविष्यको कामना साथ हस्तान्तरण गरेका छन्। परिवर्तित सन्दर्भमा यस पर्वलाई पूर्खाको भाव र वर्तमानको आवश्यकता परिपूर्ती हुने गरि मनाउनु हाम्रा लागि एक चुनौती र अवसरको विषय हो ।
मल्ल, लिच्छवी हुँदै राणाकालसम्म महिलाको शिक्षाको स्तर, चेतनाको अवस्था, नारी अधिकार निकै कमजोर रहेको कुरामा इतिहास नै साक्षात छ।
महिलाले विगतमा भोगेका पीडा, समाजको स्वरूप र विभेदको नमुना झल्काउन यी तलका केही गीति हरफहरु नै पर्याप्त देखिन्छन्:
अंग्रेजीमा भन्दो रै’छ बाबालाई फादर, नबुझेर देखाईदिए ओढ्ने च्यादर।
फादर फादर भन्दै स्वामी भूईतलामा झर्नु भो, ओढने च्यादर देखेर दंगै पर्नुभो...
विहानै उठी स्वामीको पाउको पानी खाएर, घरधन्दामा लाग्छु आमा मन लाएर....
यही पर्वले गर्दा आमा माइत आउन पाकी छु, साथीसँग मनको वह पोख्न पाकी छु...
अब समयको माग फेरिएको छ। सन्दर्भ तीज (उही) भए पनि यसलाई महिलाले आफ्नो नेतृत्व स्थापित गर्ने सशक्त माध्यमका रुपमा अघि बढाउनु पर्छ।
मनोरञ्जन गर्ने, मिठो खाने तथा तडकभडक देखाउने र आधुनिकताको नाममा उत्ताउलोलाई प्रशय दिने हो भने झन नारीको मानमर्दन घट्ने, हिंसा, शोषण र सामाजिक अराजकताले प्रशय पाउने अवस्था भइ समग्र नारी उत्थानको अभियानमा नकारात्मक असर पर्न सक्छ।
नारी मुक्तिको लागि यो समय सन्दर्भ अनुकूल छ तर सहज र कम चुनौतिपूर्ण भने छैन। महिलाका हक, अधिकार तथा कर्तव्य र दायित्वका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजलाई नेपालले समर्थन गरेर पक्ष राष्ट्र बनेको अवस्था छ।
नेपालको संविधान (२०७२) ले महिलाको हकलाई मौलिक हकमा दर्ज गरेको छ। पन्ध्रौं आवधिक योजना, बजेट, मुलुकी देवानी संहितालगायतका विभिन्न नीति, ऐन कानूनहरुले पनि महिलाको हक, अधिकार, एवं सशक्तिकरणका लागि थुप्रै व्यवस्थाहरु गरेका छन्।
आम नेपालीले चाहेका शान्ति र समृद्धिको लक्ष्य प्राप्त गर्न दुर्गम ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म समतामूलक क्रियाकलापका माध्यमबाट न्यायोचित रुपमा अगाडि बढ्नुपर्छ।
यहाँ अतिवादी पुरूषप्रधान सोचमा परिवर्तन नभएसम्म परिवार तथा समाजमा महिलाको स्थान तथा अवस्था जहाँको तही रहनेमा शंकै रहँदैन। यो अतिवादको जंजिर तोड्दै सहअस्तित्व र सहविकासको सुन्दर विरुवा हुर्काउन सवै नारी पुरुष एक जुट हुनु आवश्यक छ।
अधिकार, मुक्ति, सशक्तता, स्वतन्त्रता कसैसँग मागेर र कसैले अड्कलेर दिएर पुग्ने विषय होइन। यसलाई प्राप्त गर्न लामो संघर्ष, त्याग एवं बलिदानको आवश्यकता पर्नेछ।
विगतमा हाम्रा अग्रज दिदीबहिनीले गरेका अथक प्रयास, संघर्ष, त्याग, बलिदान र समर्पणबाट प्राप्त गरेको अहिलेको उपलब्धिलाई मजबुत बनाउँदै त्यसैको जगमा टेकेर महिला उत्थान एवं सशक्तिकरणको एक्काइसौं शताब्दी सुहाउँदो अभियानको अगुवाई गर्नु आजको समयको माग हो।
यस पर्वलाई नारीहरुको एकता, सम्बन्ध एवं हार्दिकताको विकास, भेटघाट, आ–आफ्ना सोच, विचार र संस्कारको आदानप्रदान गर्ने, सुखानुभूतिको पर्व, हक अधिकारका कुराहरु व्यक्त गर्ने, जनचेतना विस्तार गर्ने तथा गराउने पर्वका रुपमा लिनु पर्छ।
यदि यसलाई सही रुपमा वुझ्न र उपयोग गर्न सकियो भने नेपाली समाजमा तीज नारी संघर्ष र मुक्तिको आधार तथा समग्र नेपाली समाजको सम्वृद्धि एवं विकासको गन्तव्य तय गर्ने पर्व हुनसक्छ।
सबै नारीको स्वतःस्फूर्त सक्रिय सहभागिता र सिर्जनाको आधार मानिएको यस पर्वलाई नेपाली नारी उत्थान, मूलप्रवाहीकरण एवं सशक्तिकरणको अचुक अस्त्र बनाउन अब ढिला गर्नु हुँदैन।
यस पर्वबाट एकातिर संस्कार तथा संस्कृति पनि जीवन्त रहने, महिलाका क्षमता तथा सिर्जनशीलता पनि प्रदर्शन गर्न सकिने, समाजका कुरिती, कुसंस्कार, शोषण, अनियमितता विरुद्धका सन्देश फैलिँदै जाने, सशक्तिकरणका लागि थप टेवा पुग्ने, महिला सम्बन्धी कानूनी, प्रक्रियागत, संरचनागत विषयमा जानकारी प्राप्त भै यसमा सुधारका लागि दवाव सिर्जना हुन जाँदा समग्र महिला आन्दोलनमा बल पुग्न जाने हुन्छ।
गीत, संवाद, अन्तर्क्रिया, लेखन, प्रतियोगिता आदिजस्ता क्रियाबाट महिला मुक्ति, उत्थान तथा सशक्तिकरणका लागि साप्ताहिक तीज विशेष नामक अभियान देशैभरी चलाएर नेपालका सबै ठाँउमा विस्तार गर्न सकेमा महिला उत्थानका अतिरिक्त मुलुकमा समृद्धि प्राप्त हुन जाने देखिन्छ।
अतः विकासविद् रोष्टोले भने जस्तै उडान भर्ने तयारीमा रहेको महिला सशक्तिकरणको आन्दोलमा विशेष धक्काको आवश्यकता महसुस गरिएको छ।
कर्णालीको दुर्गम गाँउमा घाँस काट्न गएकी साँईली दिदी, मुस्ताङ चौरी गाई चराउन गएकी शेर्पीनी दिदी, मधेशमा दाउरा काटन गएकी युवती, कुवाँमा पानी लिन गएकी नातिनी, कोर्कोमा रमाइरहेकी छोरी साथै गर्भमा रहेको बालिकाको भ्रूण समेतले सुरक्षित महसुस गर्न सक्ने वातावरणको सृजना गर्न पनि महिला एकता, जागरण, सशक्तिकरण एवं मूलप्रवाहीकरणको पाटोसँग यस पर्वलाई जोडेर अगाडि बढाउन जरुरी देखिन्छ।
महिलाहरुको उन्नति, प्रगति, विकास र सशक्तिकरण नभैकन मुलुकले समृद्धि र सुखको अनुभूति गर्नै सक्दैन। सुशासनको स्थापना र भ्रष्टाचारको अन्त्यमा महिलाको नेतृत्व र क्रियाशिलता निर्णायक बन्न सक्छ।
समानता, सामाजिक न्याय र समतामूलक समाज निर्माणको लागि विश्वमा महिला आन्दोलनको उठान भएको थियो। विश्वमा नारीवाद एवं महिला आन्दोलन दासप्रथाको अन्त्य, महिला मताधिकारको व्यवस्था, आर्थिक सामाजिक एवं राजनीतिक रुपमा महिलाको सशक्तिकरण र विकासमा महिलाको सहभागिताका विषयहरु महिला मुक्ति, जागरण, उत्थान तथा सबलीकरणका आधार मानिन्छन्।
नारीमाथिको पितृसत्तात्मक सोच घर परिवारबाट नै सुरु हुने भएकोले यसको अन्त्य पनि यही बाट सम्भव हुन सक्छ भन्ने गरिन्छ।
महिलाको सहभागिता विनाको विकास धकुलेन्जेल चल्ने ठेला गाडा सरह मानिन्छ। यसले दिगो रुप प्राप्त गर्न सक्दैन भन्ने विषयलाई पुष्टि गर्न धेरै कष्ट गर्नुपदैन।
पछिल्लो समयमा सवै वर्ग, क्षेत्र, सम्प्रदाय र धर्मका नारीले उत्तिकै महत्वका साथ मनाउने गर्दछन् यो पर्व। प्रत्येक वर्ष यसको स्वीकार्यता नेपाली समाजमा मौलाउँदै गएको देखिन्छ।
तीज पर्व नेपाली समाजको राष्ट्रिय एकताको आधार बन्दै गएको र यो वास्तविक अर्थमा राष्ट्रिय चाडको रुपमा विकास भएको छ। यसले नेपाली शैली, मौलिकता, विशिष्टता, सद्भाव र सहअस्तित्वको प्रतिनिधित्व गरेको पाइन्छ। यसै पर्वका माध्यमबाट नारी उत्थानको विगुल फुकौ, नारी पुरुषको सहअस्त्विमा मात्र समाज अगाडि बढन सक्छ भन्ने स्थापित गरौं, नारी सशक्तिकरण र नेतृत्व मुलुकको विकासको मुल आधार हो भन्ने सन्देश दिऔं।
नेपाली नारीको जागरण र उत्थानको यस साप्ताहिक अभियानको उज्यालो किरण कम्तिमा दक्षिण एशियाका तमाम नारीहरुले अनुभूत गर्न सकुन र यसको न्यायो स्पर्शबाट उनीहरुले पनि नारी उत्थानको महाअभियानलाई नयाँ उचाइमा पुर्याउन सकुन्।
अन्त्यमा,
सुनसुन दिदीबहिनी एउटा गीत भनौं, उत्थान र एकताको मार्ग खनौं।
जागौं– जागौं दिदीबहिनी आजैबाट जागौ, अधिकार र लडाइको कडा जग हालौं ।
तीज पर्वलाई अवसरको रुपमा हाम्ले मानौं, महिला उत्थान, जागरण यहिबाट थालौं ।
समानता, सहअस्तित्व हाम्रा नारा बनाऔं, विकृति र विसंगति सबै भगाऔं।।
यसलाई नारी उत्थान, सदभाव र राष्ट्रिय एकताको पर्व बनाऔं । साप्ताहिक अभियानको रुपमा यस मार्फत सन्देश फैलाऔं। मौलिकता र सिर्जनाको प्रस्तुतिकरण गर्ने अवसरको रुपमा मनाऔं।