काँ रह्यो मनको धागो काँ चङ्गा तोडियो
के सोच्या के भयो ऐले जिन्दगी मोडियो।
समय, परिस्थिति र बाध्यताले माेडिदै जान्छन् जिन्दगीका घुम्तीहरू। देखापरिरहन्छन् नयाँ नयाँ प्रविधिहरु तर फर्किदैनन् कहिल्यै पनि ती दिन अनि त्यो समय। माया भट्ट पाण्डेले गाएको माथिको गीतले भनेझैं थपिरहन्छ विगतको यादले जिन्दगीको दियोमा तेल।
गौराको रौनक छाइरहेको समय। विगत सम्झिँदै बाटो नाप्दै गर्दा बज्न थाल्छ मोबाइलको घन्टी। गौरा पर्वमा सहभागीताको लागि निम्तो आउँछ धनगढीबाट। गायक एवं सांस्कृतिक अभियन्ता सुरत रावत (डोटली कान्छा) को निकै शालिन अनुरोध थियो दुई दिनलाई आइदिए हुन्थ्यो भन्ने। खल्तीमा फोन राखेर अगाडि पाइला सार्न नपाउँदै बाटैमा भेटिन्छन् पत्रकार राजेन्द्र कुँवर। सुदूरपश्चिम र गौरा पर्वको प्रसङ्ग निकाल्न नपाउँदै सुनाउछन् उनी डेउडा गीतका दुई पंक्तिः
भाइको कुर्ता फाटि गयो हाल हो दर्जी काता
काला धर्ती निला आकाश मेरो बाटो बता
चरम आर्थिक अभाव देखिन्छ पहिलो पंक्तिमा। अनि त्यो अभावले मनमा सिर्जना गरेका निराशा र विरहका धर्साहरु सल्बलाउन थाल्छन्। गीताङ्गेले सम्बोधन गर्छ आकाश र धर्तीलाई। उसको दुःख जस्तै निलो छ आकाश। अनि निराशा बढेको बेला मनभरी छाएपछि अँध्यारो बनिदिन्छ धर्ती पनि कालो अर्थात अँध्यारो। तब प्रश्न उब्जिन्छ– समाजमा आर्थिक अभावमा रुमल्लिएकाहरुको, निरिह र सोझा मनहरुको बाटो खै कहाँ छ ?
गीतले व्यक्त गरेको भाव बुझ्दैनन् तिनलाई बारम्बार आश्वासनको खेती गर्न सिकाउने सम्राटहरुले। गीतमा आफ्नो वह पोखेर भए पनि संघर्षका पाइला बिछाइरहन्छन् स्वाभिमानी मनहरु। पुराना दिनहरुको याद आइरहन्छ मनमा। जतिबेला गौरा पर्वकै लागि भनेर वर्षभरिमा पाइन्थ्यो एक जोड नयाँ कपडा। जीउमा झुण्ड्याइएका नयाँ कपडा हेर्दै आफै एक्लै मख्ख परेर बाटो नाप्दाका ती पल जति खुसी र सन्तोषका पलहरु आएनन् त्यसपछि जिन्दगीमा कहिल्यै पनि ।
हाम्रा चापर्वहरु जिन्दगीमा गतिशिलताका आयामहरु हुन्। मनोरन्जनका सुन्दर छटाहरु हुन्। आफन्त इष्टमित्र शुभचिन्तकहरुसँग भेटघाट गर्ने आत्मीयताका पछ्यौरी पनि हुन्। गीतसंगीत चाडपर्व, भेषभूषा यी सबैले बनाइरहेका हुन्छन् जिन्दगीलाई महनीय। थपिरहेका हुन्छन् पलपलमा ऊर्जा।
धनगढी पुगेर गौरा महोत्सवमा सरिक हुँदा सुनिन्छन् उस्ताउस्तै भाकाहरु। जसले मन मुटु निचोरेर ल्याउछन्। भावको भुमरीमा डुबाउँछन्। उसो त ठाडी भाकाका शब्दहरु प्रायः विरह वेदनाको स्वर सुसेल्ने खालकै हुन्छन्। कर्णप्रिय स्वरमा सुनाइरहन्छन् आलोपालो बिभिन्न कलाकारहरुले आआफ्नो स्वर।
धर्मराज जोशीको चैत गायन देखि गायिका माया भट्ट, जनक काकी र टेक बोगटीको जादुमय स्वरले लठ्ठै पारेको थियो दर्शकलाई। बिचबिचमा मन पगालिरहन्थे कुशल उद्घोषण कला समेत भएका कवि तोयानाथ भट्ट।
भरिभराउ थियो खुलामञ्च। जनताको तिरो बटुलेर खाइरहेका मोटरधारी सम्राटहरुको चुरिफुरि हेरि नसक्नु थियो। कुनै उच्च पदस्थ नेताहरुलाई भेट्दा चाकडी संस्कार मौलाएको दृश्य राम्रैसँग देख्न सकिन्थ्यो – कसैको भाषणमा कसैको नमस्कारमा। यी सारा कुराहरुलाई वेवास्था गरेर मञ्च छेउमा नजर डुलाउँदै जादा देखिन्थे गामन (गुन्यू) र चोलीमा सजिएका एक हुल महिलाहरु। मध्य तथा सुदूरपश्चिमको मौलिक पोषाक हो गुन्यू चोलो र कम्मरमा सेतो पटुका अनि गरगहनाहरु। बाह्रपाटे गजीको गुन्यू भन्ने उखान नै थियो उहिले उहिले। हुनेखाने वर्गका महिलाहरुले लगाउथे बाह्र पाटा भएको गुन्यू।
अहिले त बिस्तारै लोप हुँदै गइरहेको छ त्यो पोषाक। जिन्दगीका आरोह अवरोहहरु थिए त्यहाँ। सुन्दरताको पछ्यौरीले पुच्छदथे सन्तोषको पसिना। चैत, धमारी डेउडा खेलको रौनकले गुञ्जायमान बन्दथ्यो जिन्दगी। मान्छे जति जति शहरमुखि, सुविधामुखी अनि आधुनिक बन्दै गयो त्यति बढी निरिह र दुखी हुन थाल्यो। महत्वाकांक्षाका अनगन्ती टुसाहरु पलाउँदै जादा डिप्रेसनका सिकार पनि बने र बनिरहेका छन् कतिपय अहिले पनि।
त्यो समय त्यो गाउँघर अनि ती मनहरु निकै नै नूतन थिए। मनकारी थिए। अहिले त संस्कृति जोगाउनै मुस्किल भैसक्यो – दार्चुलाकी मञ्जु गिरीले सम्झिदै भनिन् पुराना दिनहरु। मञ्जु कुशल ड्यौडा गायिका हुन्। उनको प्रश्नोत्तर गर्न सक्ने प्रतिभा गजबको छ। उनी सुनाउछिन्– भावपूर्ण शब्द छनौट गर्नु पर्छ। तुरुन्तै प्रतिउत्तर दिनु पर्छ।समाज त्यही हो भन्नेले के के भनिराखेकै हुन्छन् तर आफू राम्रो भए पछि त्यस्ता भनाइप्रति खासै चासो दिनु पर्ने पनि केही हुन्न। महिलालाई दवाएर राख्ने समाज यही हो। म पनि खेल्छु तपाईँ जस्तै बन्छु भन्ने देखिन्छ कहिले काही जीवनको मोडमा खुसी पनि हुन्छु तव भावुक पनि बन्छु।
डेउडा गीतको जगेर्ना उनको अभियान नै बनेको छ। कञ्चनपुरमा उनलाई नचिन्ने कमै होलान्। माइति र घर दुबै पक्षको सपोर्ट पाएकी छन्। मञ्जु लगायत कैयौ संवेदनशील मनका लागि डेउडागायत बिभिन्न संस्कारजन्य गीतहरु जिन्दगीका अनुगुञ्ज बनिदिन्छन्। सुन्दर ध्वनी बनिदिन्छन् र त सिकाउछन् बाँच्न पनि। मनोरञ्जनका साधन बन्दाबन्दै पनि सन्देशमूलक उत्तिकै छन् हाम्रा गीतसंगीतहरु। सन्देश विरह वेदना उपासना मनोकामनापूर्ण होस् भन्ने चाहनाको एउटा सुन्दर फाँट पनि हुन् हाम्रा अधिकांश चाडपर्वहरु। फुर्सदको समयमा एक आपसमा मेलमिलाप र भाइचारा स्थापित गर्ने मन्त्र पनि हुन्।
बिडम्बना समाजका केही हैकमवादीहरुले आफू अनुकुलका नियम बनाइदिए र वर्ग छुट्याए आँकडा र सीमा रेखा कोरी दिए कतिपय सन्दर्भमा। पितृ सतात्मक समाजमा पुरुषले नै बनाए, सुनाए केही वाणीहरु र पत्याउन बाध्य तुल्याए महिलाहरुलाई कतिपय कुराहरु। भगवान शिवले सतिदेवीको मृत्यु पछाडि मात्र पार्वती भित्र्याएको कथा एकातिर छ भने कान्छी गोरा ल्याएर जेठी गोरामा मिलाई शरीर छुट्टै भए पनि आत्मा एकै हो भन्ने सन्देश दिलाए। जुन त्यति बेलाको बहुविवाहलाई सपोर्ट पुग्ने उपाए थियो।
पराइघर जादा भाइ साथमा लैजान दिएको सुझावले छोराप्रतिको मोह र वंश धान्न देखि हरेक मोडमा छोरा चाहिन्छ भन्ने मान्यता स्पष्ट ढंगले बुझ्न सकिन्छ। यति हुँदाहुँदै पनि फागमा सुनिने छोरी पठाउदाको क्षण, आमाले गरगहना लुगा फाटो दिदाको प्रसंगदेखि जन्मभूमि प्रतिको माया, लगाव र छोरीको गुनासोका प्रसंगहरुले गहिरो काव्य बोकेका छन्।
जिन्दगीको केन्द्रीय रसधारका रुपमा लिन सकिन्छ मध्य तथा सुदूरपश्चिमका चाडपर्व र गीत संगीतलाई। तिनैको संरक्षण र प्रंवर्धनका लागि विगत केही वर्षदेखि लागिपरेका देखिन्छन् डोटेली कान्छा, दलबहादुर बोगटी, तोयानाथ भट्ट,धर्मराज जोशी, प्रेम विवश चन्द, सुरेन्द्र संगम लगायतका केही युवा मनहरु।
अछामका ड्यौडिया भोजराज भाट र गायक जनक कार्की गौरा कार्यक्रमकै लागि पुगेका थिए धनगढी। डोटेली कान्छाझै रसिक र संवेदनशील मन भएका भाट लामो समयसम्म शिक्षण पेशामा आवध्द थिए। अहिले पूर्णरुपेण तल्लिन देखिन्छन् गीतसंगीतका क्षेत्रमा। काँग्रेस, कम्युनिष्ट वा राजावादी जोसुकै हुन जो भौतिकवादमा विश्वाश गर्छन्। रातारात घुषखोरी, दुई नम्बरी धन्दा गरेर पैसा बटुल्नमा अभ्यस्त रहन्छन् तिनको सोचाइमा पैसा भएपछि सबै कुरा हुन्छ। सोच्दा हुन् तिनले मिल्ने भए चाडपर्व पनि किनि दिन्थे, केवल आफ्नै मात्रै हक लाग्ने बनाइ दिन्थे भनेर।
किनकी ती टिठलाग्दा पात्रहरुले दुनियालाई देखाउनु छ दम्भका पाटाहरु। फाइफूर्तीका गराहरु। हाम्रा संस्कृतिका छटाहरु जिन्दगीमा आवश्यक अतिरिक्त आयामका पत्रहरु हुन्। जिन्दगीलाई रसिलो भरिलो र हराभरा बनाउनमा तिनको निकै महत्व हुन आउछ। त्यो महत्व बुझेर अभियन्ताका रुपमा देखा पर्दछन् मञ्जु गिरी र डोटेली कान्छा जस्ता मनहरु।
म सम्झिरहन्छु ती गमरा पर्वहरु जो त्यसपछि फर्केनन् कहिल्यै जिन्दगीमा। कपडा फाट्दा गोरा पर्व आउन कति दिन बाँकी छ भनेर औंला भाँच्नु पथ्र्यो। नौला लुगा पाइने पर्व थियो गौरा। एक्लै बाटोमा हिंड्दा होस् वा ऐनामा भेट्दा दायाँ बाया खुब हेर्थे ती नयाँ कपडालाई तीन चार दिनसम्म पनि। गौरा पर्व सकिए लगत्तै बाकसमा सोझ्याएर राख्थें कपडा र त लगत्तै आउने दसैंका लागि पनि ती नयाँ नै बनिदिन्थे। त्यतिबेलाका धमारी चैत खेल्ने कुशल खेलाडीहरुले छोडिसके धर्ती। मांगल गीत गाउने ती कतिपय सुन्दर गाला पनि रहेनन् अब। रहेनन् ती कतिपय औंलाहरु पनि जो ढोलकको धुन निकाल्न सक्रिय हुन्थे।
त्यत्तिको रौनक भेटिदैन अहिलेका चाडपर्वमा। अहिलेका चाडपर्वहरु पनि सहरिया भैसके। कही कतै त देखावटीकै लागि पनि झुल्किन्छन्। मञ्च खोज्नका लागि पनि आइदिन्छन्। सेल्फी खिच्न र फेसबुकका वालहरु रंगाउन पनि उत्तिकै सहयोगी बनिदिन्छन् अहिलेका चाडपर्वहरु। जे होस् ती जे जसरी आइरहेका भए तापनि तिनी भित्रै जिज्ञाशाका फाँटहरु छन्। लोकमानसभित्र अतित र वर्तमानको महत्व दर्साएकै छन्। पृथ्वीको सौन्दर्यलाई बढाइरहेकै छन्। सबैभन्दा बढी त बेलाबखत सम्राइ लगाइ रहेकै छन्। आज कुशे औंसी बाको मुख हेर्ने दिन सम्झिरहेको छु ३३ वर्ष अघिको गौरा पर्व र बाले चैत धमारी खेल्दा चालेको पैतालाको चाल ।