शालिकराम आत्महत्या काण्डमा अल्पविराम लागेपछि

रवि लामिछानेको नयाँ अवतार : हिरासतमुक्त भएपछि चितवनमा समर्थकहरूलाई धन्यवाद दिदै । तस्बिर : सामाजिक सञ्जाल

केही महिना पहिलेसम्म सहकर्मी रहेका अनुज पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा गिरफ्तार गरिएका टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’ का विवादास्पद एवम् हाई प्रोफाइल एङ्कर रवि लामिछानेलाई पक्राउ गरिएको ११ दिनपछि चितवन जिल्ला अदालतका न्यायमूर्ति हेमन्त रावलको इजलासले ५ लाख रूपैयाँको धरौटीमा रिहा गर्ने आदेश दिएको छ । सोही अभियोगमा रविसँगै गिरफ्तार गरिएका उनका अर्का सहकर्मी युवराज कँडेल पनि ३ लाख रूपैयाँको धरौटीमा थुनामुक्त भएका छन् । सोही सरकारवादी मुद्दाकी अर्की प्रतिवादी, मृतक पुडासैनीकी पूर्वप्रेमिका रुकु पनि भनिने अस्मिता कार्कीलाई भने अदालतले साधारण तारेखमा छोडिदिने आदेश गरेको छ । उनलाई तारेखमा छोडेको यस घटनाले ‘आत्महत्याका लागि दुरुत्साहन’ को यस मुद्दामा आरोपी अस्मिता कार्की कसूरदार ठहरिने छैनन् भन्ने कुरामा न्यायाधीश रावल विश्वस्त भएको कुराको संकेत गर्दछ ।

चितवन जिल्ला अदालतले गरेको यो आदेशको आआफ्नै किसिमले व्याख्या गरेर मानिसहरू मुद्दाका प्रमुख प्रतिवादी संचारकर्मी रवि लामिछानेको जीत वा हार भएको मनमाफिक निश्कर्ष निकाल्न स्वतन्त्र छन् । रविको भक्त समुदायले चितवनको कडा गर्मीमा सशरीर उपस्थित भई हल्ला मच्चाएर मात्र होइन आआफ्ना डिभाइस प्रयोग गरेर डिजिटल्ली पनि अदालती आदेशको स्वागतमा हर्षबढाइँ गरेका छन् । तर अदालती फैसलाको शब्द र मर्म बुझ्न प्रयास गर्ने हो भने न्यायमूर्ति रावलको यो आदेशबाट रवि लामिछाने स्वयम् वा उनका संसारभरि छरिएर रहेका भक्त समर्थकहरू खुशी हुनुपर्ने कुनै कारण देखिँदैन । अदालतको यो आदेशको सार भनेको इजलासका दृष्टिमा यस मुद्दाका मुख्य आरोपी रवि लामिछाने शत प्रतिशत निर्दोष देखिएनन् भन्ने नै हो । अदालतको यो आदेशले रवि लामिछानेको समर्थनमा चितवनमा जम्मा भएका उनका अन्धभक्तहरूलाई घर फर्किने बाटो भने खुला गरिदिएको छ ।  

साथै सम्मानित अदालतले यस सरकारवादी मुद्दाका प्रतिवादीद्वय रवि लामिछाने र युवराज कँडेलमाथि थप केही प्रतिबन्ध पनि लगाएको छ । अदालतद्वारा जारी आदेशमा भनिएको छ ‘प्रतिवादीहरू रवि लामिछाने र युवराज कँडेल न्युज २४ टेलिभिजनको ‘सिधाकुरा जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मी रहेको र प्रस्तुत मुद्दाको विषयवस्तु पनि ती दुईले चलाउँने सोही कार्यक्रमसँग सम्बन्धित पनि भएकोले ती प्रतिवादीले ‘अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म प्रस्तुत मुद्दाको विषयवस्तुलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दामा सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू, प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वसनीयतामा अन्यथा असर पुर्याउँने उद्देश्यले अदालतभन्दा बाहिर कुनै पनि कार्यक्रम सार्वजनिक गर्न, टेलिभिजन कार्यक्रम प्रसारण गर्न, फेसबुक लाइभ, ट्विटर, युट्युब लगायतका सामाजिक सन्जाल वा अन्य सार्वजनिक सञ्चार माध्यमबाट विचार वा प्रतिक्रिया स्वदेश वा विदेशबाट व्यक्त गर्न’ पाउने छैनन् । साथै अदालतले प्रतिवादीद्वयलाई ‘प्रस्तुत मुद्दा किनारा नलागुन्जेल आफूखुशी देश छोडेर बाहिर जान नपाउने, औषधोपचारका लागि विदेश जानै पर्ने भयो भने अदालतको स्वीकृति लिनुपर्ने’ निर्देश पनि दिएको छ ।

रवि लामिछानेले चलाउँने त्यो अत्यन्त लोकप्रिय कार्यक्रम ? त्यसलाई के भन्ने ? त्यसलाई अरू जे नाम दिए पनि पत्रकारिता चाहिँ भनिहाल्न मेरो मनले मान्दैन । त्यस्तो संचारकर्मले जन्माउँने भनेको शालिकराम पुडासैनीहरूलाई नै हो जसले स्वयम् रविहरूलाई नै पनि लपेट्न सक्दछन् भन्ने कुरा भर्खरै प्रमाणित भइसकेको छ ।

चितवन जिल्ला अदालतबाट भएको यो प्रारम्भिक आदेशले यस मुद्दाका सन्दर्भमा रवि लामिछानेमाथि पूर्वाग्रह राखी कार्बाही चलाइयो भन्ने आरोपको पनि विधिवत् नै खण्डन गरेको छ । रविसहित यस मुद्दाका ३ जना प्रतिवादीविरुद्ध पुलिसले खडा गरेको चार्जशीटलाई प्रमाणपुष्ट भएको मानी मुद्दा दर्ता गरेपछि उनीहरू दोषी हुनसक्ने ठानी मुद्दालाई अगाडि बढाएर लैजाने कुराको एउटा आधार तयार भएको थियो । मुद्दा दर्ता गर्ने अनुमति दिएपछि त्यसलाई तात्विक निश्कर्षमा पुर्याउँनु अदालतको काम नै हो । त्यसैले चितवन जिल्ला अदालतले प्रतिवादीको सामाजिक हैसियत, पेशागत विशेषज्ञता वा लोकप्रियताका हिसाबले पार्न खोजिएका सबै प्रकारका अवान्छित दबावलाई चिर्दै प्रतिवादी द्वयलाई अहिलेलाई क्रमशः ५ लाख र ३ लाख धरौटीमा रिहा गर्ने र मुद्दा अगाडि बढाउँने आदेश दिएको देखिन्छ ।  

न्युज २४ टीभी च्यानलको ‘सिधाकुरा जनतासँग’ नामक टीभी कार्यक्रममा आक्रामक शैलीका सनसनीपूर्ण एपिसोडहरू प्रस्तुत गर्दै आएका भिडियो एङ्कर रवि लामिछानेले देश भित्र बाहिर दुवैतिर, अन्धभक्त पनि भन्न मिल्ने प्रशंसकहरूको ठूलो जमात बनाएको वस्तुतथ्य पनि यस पटक यस मुद्दाका सन्दर्भमा प्रत्यक्ष रूपमा सतहमा देखापर्यो । देशमा व्याप्त भ्रष्टाचार, बेथिति, जनताका समस्याप्रति शासकीय वर्गको सम्वेदनहीनता र प्रहरी प्रशासनका अत्याचार र असफलता जस्ता नकारात्मक परिसूचकले आम नेपाली जनताका मनमा पैदा गरेका क्षोभ, आक्रोश, कुण्ठा र कटुतालाई एकै झमटमा बाहिर निकाल्न खोजेझैँ रविलाई न्याय दिलाउँने निहुँ पारेर हताश र क्षुब्ध नेपाली जनता आफूसँग उपलब्ध सबै सञ्चार माध्यम प्रयोग गर्दै सरकारको विरोधमा उत्रिए । प्रहरीले देशमा प्रचलित कानूनकै आधारमा अदालतमा लगेर छिनोफानो गर्ने गरी नै रवि लामिछानेलाई पक्रेको थियो तर एक किसिमको उत्तेजक उफानमा पुगेको जनता त्यो यथार्थ सुन्न पटक्कै तयार थिएन ।

रविको मामिलामा नियम, कानून, विधि र अनुशासनको नामै सुन्न नचाहने रविभक्तहरूले संसारका हरेक कुनाबाट आधुनिक प्रविधिको सहायताले कुसूचनाको आतंक नै फैलाएर छोडिदिएका थिए ती ११ दिनमा । भिडियो खिचेर त्यसमा रविमाथि ‘आत्महत्याका लागि दुरुत्साहन हुने हदसम्म दवाव दिएको’ आरोप लगाएर आत्महत्या गर्ने कुनै बेलाका रविकै सहकर्मी शालिकराम पुडासैनीले मृत्युपूर्व दिएको बयानका आधारमा नेपाल प्रहरीले गिरफ्तार गरेका क्षणदेखि नै ‘रविलाई छुनै हुँदैन, रविले कुनै गल्ती नै गर्न सक्दैनन्, रविलाई अनाहकमा फसाएको हो, रविलाई प्रचण्ड र उनकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनका एस्पी दानबहादुर मल्ललाई प्रयोग गरी फसाएको हो’ जस्ता अनेक फत्तुर लगाउँदै उफ्रने एउटा ठूलो अराजक भीड चितवनमा जम्मा भएको थियो । त्यस भीडलाई लगातार उत्तेजित पार्ने काम गरेका थिए फेसबुक, ट्विटर र युट्युब जस्ता सामाजिक सन्जालमा लगातार सम्प्रेषण गरिएका अधिकांश गलत सूचना सामग्रीहरूले । रविले काम गर्ने च्यानल न्युज २४ ले पनि उनी हिरासतमा भएका १० दिन नै अनवरत रूपमा अधिकांश गलत र भ्रमपूर्ण सामग्री पस्केर स्थितिलाई काबूबाट बाहिर पुर्याउँन भरमग्दुर प्रयास गरेको थियो ।

यो पूरा प्रकरणको सम्झना गर्दा मलाई अत्यन्तै दुखित र व्यथित बनाउने कुरो चाहिँ भएको छ आजका अधिकांश नेपालीहरूले गुमाएको सहज मानवीय विवेक र कुनै पनि विषयवस्तुलाई हेर्ने समीक्षात्मक दृष्टिकोण । बहुसंख्यक जनता समीक्षात्मक चेत नभएका विवेकहीन पिछलग्गुहरू भएको देशको पूर्ण पतन अवस्यंभावी छ ।

यो सम्पूर्ण प्रकरणमा चितवनको स्थानीय प्रशासन र न्यायालयले भने पूर्ण संयमका साथ स्थितिलाई सम्हालेकोले यो अप्रिय घटनाक्रमले कुनै ठूलो विध्वंश मच्चाउँन पाएन । रविमाथि अन्याय हुँदैछ भन्ने काल्पनिक डरको मनोविज्ञानले डोरिएर चितवनमा जम्मा भएका हज्जारौँ हजार चेहराविहीनहरूको सामूहिक चेहराले फैलाएको आतंकको भीषण दबावका बीच पनि चितवन प्रहरीले जुन धैर्य र दृढ अठोटका साथ यो मुद्दाको कार्यबाहीलाई अगाडि बढायो, विधिको शासन पालनाको दृष्टिले त्यसलाई एउटा उल्लेख्य घटना मान्नु पर्दछ । यो चर्चित मुद्दामा अनुसन्धान गर्न, प्रमाण जुटाउँन, चार्जशीट तयार गर्न र अदालतमा पेश गर्न प्रहरी र सरकारी वकिलका तर्फबाट कुनै प्रकारको ढिलासुस्ती भएको पनिे देखिएन । स्थितिको सम्वेदनशीलतालाई ध्यानमा राखेरै हुनु पर्दछ, सम्मानित अदालतले पनि यस मुद्दालाई सर्वाधिक महत्व दिई द्रुतगतिमा काम गरेर थुनछेक सम्बन्धी जरूरी आदेश छिट्टै नै जारी गर्यो र सम्भावित भीषण दुर्घटनाबाट शायद पूरै देशलाई नै बचायो ।

शालिकराम पुडासैनी आत्महत्याको यस मुद्दामा प्रमुख प्रतिवादी चर्चित, विवादास्पद र अत्यन्त लोकप्रिय भिडियो एङ्कर रवि लामिछानेको कसूर प्रमाणित हुन्छ कि हुँदैन, भयो भने कतिसम्मको हुन्छ भन्ने जस्ता कुराहरूप्रति ममा कुनै उत्सुकता छैन । रविले कुनै बदमासी गरेको छैन भने उनी सजायभागी हुनुहुँदैन तर उनले बदमासी गरेका छन् भने सजायबाट उन्मुक्ति पाउँनु हुँदैन भन्ने मात्र मेरो जिकिर हो । यो पूरा प्रकरणको सम्झना गर्दा मलाई अत्यन्तै दुखित र व्यथित बनाउने कुरो चाहिँ भएको छ आजका अधिकांश नेपालीहरूले गुमाएको सहज मानवीय विवेक र कुनै पनि विषयवस्तुलाई हेर्ने समीक्षात्मक दृष्टिकोण । बहुसंख्यक जनता समीक्षात्मक चेत नभएका विवेकहीन पिछलग्गुहरू भएको देशको पूर्ण पतन अवस्यंभावी छ । रविलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको कुराकै विरोधमा उत्रेर कतिपय स्थपित कलाकार, नेता, यहाँसम्म कि विधिको क्षेत्रमा काम गर्ने अधिवक्ताहरूले समेत कानूनको राज्यको अवधारणाको धज्जी उडाउने काम गरे ।

शालिकराम प्रकरणलाई हेरौँ । डेथ डिक्लेरेशनका रूपमा पुलिसले पाएको बयानले औल्याएको व्यक्तिका रूपमा छानबीन गर्न रवि लामिछानेलाई गिरफ्तार गरेको कुराका पछाडि यत्रो बवण्डर हुनु भनेको हाम्रो समाजको पतनशील चरित्रको बलियो दृष्टान्त हो । अनि रवि लामिछानेले चलाउँने त्यो अत्यन्त लोकप्रिय कार्यक्रम ? त्यसलाई के भन्ने ? त्यसलाई अरू जे नाम दिए पनि पत्रकारिता चाहिँ भनिहाल्न मेरो मनले मान्दैन । त्यस्तो संचारकर्मले जन्माउँने भनेको शालिकराम पुडासैनीहरूलाई नै हो जसले स्वयम् रविहरूलाई नै पनि लपेट्न सक्दछन् भन्ने कुरा भर्खरै प्रमाणित भइसकेको छ ।

प्रकाशित मिति: : 2019-08-28 04:15:02

प्रतिकृया दिनुहोस्