बेलायतको लण्डनमा एउटा नाम नै नमिलेको नेपाली साहित्यिक संस्थाको जम्बोरी सुरू भएको छ । यसको नाम हो- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) । अनि, यसको अंग्रेजी अनुवाद हो- International Nepali Literary Society(INLS) । तस्बिरले पनि त्यही बताइरहेको छ ।
झट्ट पढ्दा त त्यति ध्यान नजान सक्छ तर दोहोर्याएर पढ्ने हो भने जो कोहीले पनि यसमा गल्ती मात्र हैन, महागल्ती नै भेट्छ । मूलत: यसमा दुईवटा महागल्ती छन् । पहिलो, नाम नै गलत छ- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज । साहित्यको समाज नै हुदैन, हुन्छ भने साहित्यिक समाज हुन्छ । दोस्रो- नाम सही हो भने अनुवाद सोह्रै आना गलत छ- यसमा साहित्यको अनुवाद Literary भनिएको छ । साहित्यको अनुवाद Literary नभएर Literature हुनुपर्ने हो ।
यो कुनै अनपढ र नजान्नेहरूको संस्था हैन, संसारभरकै आफूलाई नेपाली साहित्यका महारथि ठान्नेहरूको संस्था हो । उनीहरू नेपाली भाषा वाङ्मयको श्रीवृद्धिका लागि कृतसंकल्पित रहेको र यो भाषालाई विश्वभर पुर्याउन दिनरात लागिरहेको गुत्थी हाँक्छन् । तर, दुर्भाग्य संस्थाकै नाम नेपाली व्याकरणको हिसाबले गलत छ । जब स्थिति यस्तो हर्कते छ भने त्यस्तो नाम नै गलत भएको संस्थाले कसरी नेपाली भाषा-वाङ्मयको श्रीवृद्धि गर्छ ? यो प्रश्न नेपाली भाषा-वाङ्मयक् पक्षधर जो कोहीको पनि साझा प्रश्न हुनुपर्ने हो ।
मित्र, तपाईं त महामहिम हो । तपाईको बोली महानवाणीका रूपमा 'कोट' हुन्छ, उनीहरूले सुन्न पनि सक्छन् । म अकिञ्चनको कुरा त यिनीहरूको कानमा बतास नै लागेन । कि मित्र भनिदेऊ- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नाम पनि व्याकरणको हिसाबले ठीक छ । अनि, यसको अंग्रेजी अनुवाद International Nepali Literary Society(INLS) पनि ठीक छ । त्यसपछि म भनौला- गल्ती भएछ महामहिम, माफ पाउँ ।
यो संस्थाले आजसम्म गरेका मूलत: तीनवटा काम छन् । पहिलो, यसले संख्यामा अन्टसन्ट साहित्यकार जन्माउँछ र ताल न बेतालका सी ग्रेडेड किताव निकाल्ने व्यवसाय चलाउँछ । यसबाट नेपाली साहित्य र साहित्यकारको मानक नै स्खलित भएको छ । दोस्रो, यसले पुरस्कार र मान सम्मानको खेती गर्छ । आफैं वा आफ्ना मान्छे खोजेर ५० डलरदेखिका पुरस्कार थाप्छ र गाउँमा पर्म लगाएजस्तो कहिले वल्लाघरेले पल्लाघरेलाई दिन्छ, कहिले त्यहि पल्लाघरेले वल्लाघरेलाई दिएर पर्म तिर्छ । तेस्रो यसले जम्बोरीका नाममा मानव तस्करी पनि गर्छ । झट्ट सुन्दा यो अलि गम्भीर प्रकृतिको आरोप जस्तो लागे पनि यही संस्थाको निम्तोमा अमेरिका आएर लुकेका सयौं तथाकथित साहित्यकारको नाम सप्रमाण प्रस्तुत गर्न सकिन्छ । सबै उही ड्याङका मुला भएकाले तैं चुप मै चुप मात्र भएको हो ।
यो पनि हेर्नुहोस्
प्रश्न, संस्थाको हो, कुनै व्यक्तिको हैन । सामाजिक संघ-संस्थाले जिम्मेवार हुनुपर्छ र जगतको अगाडि हरहमेसा सही किसिमले प्रस्तुत हुनुपर्छ । त्यसमा पनि 'जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि' भनेझै साहित्यिक श्रष्टाहरूको संस्था त द्रष्टा पनि हुनुपर्छ । तर, संस्थाको नाम गलत भयो भनेर यसका मठाधीशहरूको ध्यान आकृष्ट गर्दा पनि उनीहरूको ध्यान गएको छैन । अझ यसो भनौं उनीहरूमा जे गरे पनि हुन्छ भन्ने जिरिहपन र हेपाहा प्रवृति विकास भएको देखिन्छ ।
त्यसैले यो संस्थालाई अरू माथिल्लो गियरबाट सच्याउन तयारी गर्नुपर्ने स्थिति देखिएको छ । त्यही क्रममा यो संस्थामाथि यी आरोप लगाउनु परेको हो । यति गर्दा पनि यिनीहरूले नाम सच्याएनन् भने अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज नामको अर्को संस्था स्थापना गरेर त्यसको अंग्रेजी अनुवाद International Nepali Literary Society नै राख्न पनि सकिन्छ । त्यसपछि यी मठाधीशहरू सही नाम त अर्कैले लगेछ, हामी गलत नाम लिएर बसेछौं भनेर पश्चाताप गर्न सक्छन् ।
नत्र गलतलाई गलत नै भनेर सार्वजनिक रूपमा स्वीकार गर्न र गलत नामलाई सही बनाउन किन महाभारत भएको यिनीहरूलाई ? किन गलत नाम लिएर हिडिरहन मन लागेको होला यिनीहरूलाई ? किन 'जंगेले बोलेपछि बोल्यो' भएको होला यिनीहरूलाई ?
यही प्रसंगमा मेरा अनन्य मित्र दुबसु क्षेत्री (जो डा. दुर्गाबहादुर सुवेदीका नाममा बेलायतका लागि नेपाली राजदूत हुनुहुन्छ) लाई पनि विनम्र अनुरोध छ- तपाईजस्तो साहित्यिक व्यक्तित्वले नाम पनि गलत, अनुवाद पनि गलत भएको साहित्यिक संस्थाको उद्घाटन गर्नुअघि अझ भनौ जम्बोरीमा आएकालाई राष्ट्रिय ढुकुटीबाट भोजभतेर खुवाउनुअघि सोच्नुपर्थ्यो । ल ठीकै छ, त्यो पनि राम्रै मानौ तर त्यो गलत नाम भएको संस्थाको ब्यानरमुनि उभिएर भन्न सक्नुपर्थ्यो- महोदयहरू, नाम नै गलत रहेछ, सच्याउनुहोस् । मित्र, तपाई त महामहिम हो । तपाईको बोली महानवाणीका रूपमा 'कोट' हुन्छ, उनीहरूले सुन्न पनि सक्छन् । म अकिञ्चनको कुरा त यिनीहरूको कानमा बतास नै लागेन । कि मित्र भनिदेऊ- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नाम पनि वैयाकरणीय हिसाबले ठीक छ । अनि, यसको अंग्रेजी अनुवाद International Nepali Literary Society(INLS) पनि ठीक छ । त्यसपछि म भनौला गल्ती भएछ महामहिम, माफ पाउँ ।
यो पनि हेर्नहोस्
एक विदेशी भूगोलविद्को कारण फेरिएकी सुमित्रा
मित्रहरू, म भाषाको भन्दा पनि सञ्चारको विद्यार्थी हुँ । हामी पहिला सञ्चार त्यसपछि शुद्ध भन्छौं । तर, तपाईहरू त भाषासेवी, साहित्यिक व्यक्तित्व हो, तपाईहरूका लागि त भाषा शुद्ध हुनुपर्ने हो । यो तपाईहरूको साझा चासो र चिन्ताको विषय हुनुपर्ने हो । तर, किन जंगेले बोलेपछि बोल्यो बोल्यो भनेझैं गरेर नाम नै गलत लिएर काराभाना बनाइरहेका छौं । अनि, मलाई किन बाराम्बार बोल्न लगाएर छुचो बनाइरहिएको छ । मैले बुझ्न सकिरहेको छैन ।
यो अकिञ्चनको प्रतिष्ठाको लडाइँ हैन, तपाईहरूको नाम शुद्ध गरिदिने अभियान मात्र हो । यसबाट नेपाली भाषाको श्रीवृद्धि गर्छु भन्नेहरूबाटै यसको चीरहरण भएको एउटा दृष्टान्त सच्चियो भने म ठान्नेछु, नेपाली भाषाको पक्षमा सानो भए पनि योगदान पुगेछ । अरू त म के भनौं ?
आगे यहाँहरूकै मर्जी ।