समाजशास्त्र/मानवशास्त्रले भन्छ, हामी नेपाली सफ्ट-सेल प्राणी हौं । सफ्ट-सेल भन्नाले दिमाखले हैन, मनले चल्ने प्राणी भन्ने अर्थ लाग्छ । अझ यसो भनौं, हामी तथ्यमा हैन, तर्कमा बाँच्छौं, यथार्थमा हैन, भावनामा जिउँछौं । हामी कुनै पनि विषय रयासनलको आधारमा हेर्दैनौ । या त अन्ध-समर्थन गर्छौ या अन्ध-विरोध । एकपटक हैन, पटक पटक हामीले यसरी नै आफूलाई सफ्ट-सेल प्राणीका रुपमा प्रमाणित गर्दै आएका छौं ।
प्रसंग, नेपालमा राष्ट्रवादी हुने कुराको हो । जहाँ भएका पनि नेपाली राष्ट्रवादी हुने कुराको हो । नेपालीलाई राष्ट्रवादी हुन सजिलो छ । भारतको विरोध गरे पुग्छ । जति विरोध गर्न सकिन्छ, त्यति नै राष्ट्रवादी हुन सकिन्छ । इतिहासले भन्छ कि, भारत हामीप्रति अलि बढी पेलाह छ, मिचाह छ । तर, जति छ, त्योभन्दा धेरै गुणा बढी ठान्छौं, बनाउँछौं हामी । उसले जे भन्छ, त्योभन्दा धेरै गुणा बढी बुझ्छौं हामी । उसले हैन भनेको पनि हो कि हो भनेर हो भन्न लगाउँछौं हामी । हाम्रा नेतालाई लैनचौर छिराउँछौ, नयाँदिल्ली पठाउँछौं, त्यसमा हामी केही कमजोरी देख्दैनौ । तर, जब भारतले केही भन्यो कि हामी धारे हात लगाएर गाली सुरु गरिहाल्छौं । किनकि, अहिलेसम्म नेपालको राष्ट्रवाद भारत विरोधको वैशाखीमै टेकिएको छ ।
आज ओलीलाई नेपाली राष्ट्रवादको मसिहा ठानिएको छ । उनी यस्तो ठानिनुको मूल कारण भारतीय नाकाबन्दीको बेला मोदीको विरोध गरेर मात्रै हो । उनी मोदीको विरोध गर्ने नाममा जन्मिएका राष्ट्रवादी मोहरा हुन् । यसो गर्दा हामीले महाकाली सन्धी गर्दा त्यसका बुँदाबुँदामा ओलीको राष्ट्रभक्ति बगेको सबै बिर्स्यौ ।
कसैको व्यक्तित्वलाई सिद्ध्याउनु पर्यो भने पनि उसलाई भारत या रअसँग लगेर जोडी दिनुपर्छ । त्यसपछि ऊ लगभग सकिन्छ या कम्तिमा पनि अराष्ट्रवादी त हुन्छ नै । इतिहास साक्षी छ, हामीले वीपीलाई पनि भारतसँगै जोडेर सक्यौं र त्यसको बदलामा महेन्द्र जन्मायौं । पुस्पलाल र मनमोहनलाई पनि भारततिरै जोडेर सक्ने प्रयत्न भएकै हो । पछिल्लो चरणमा डा. बाबुराम भट्टराईलाई पनि उतै जोडेर आधा सकिएको छ । शायद उनी पनि भित्तैमा पुगेको ठानेर होला उपेन्द्र यादवको समाजवादी अध्यक्ष बन्न पुगेका छन् । एमाले अध्यक्ष भएकै नाताले ओली भारतबाट टाढा र समाजवादीका राष्ट्रिय अध्यक्ष भएकै नाताले डा. बाबुराम भारतसँग नजिक हुने कुरा मेरो ब्रम्हले कहिलै मानेन ।
एक छिन केपी ओलीको कुरा गरौ । आज ओलीलाई नेपाली राष्ट्रवादको मसिहा ठानिएको छ । उनी यस्तो ठानिनुको मूल कारण भारतीय नाकाबन्दीको बेला मोदीको विरोध गरेर मात्रै हो । उनी मोदीको विरोध गर्ने नाममा जन्मिएका राष्ट्रवादी मोहरा हुन् । यसो गर्दा हामीले महाकाली सन्धी गर्दा त्यसका बुँदाबुँदामा ओलीको राष्ट्रभक्ति बगेको सबै बिर्स्यौ । त्यो एउटा सन्धीले तत्कालिन एमाले दुई फ्याक हुँदा त्यसबाट माओवादीले शक्ति आर्जन गर्दा मुलुकले भोगेको त्रासदीको हिसाब गर्न पनि बिर्स्यौ । त्यसैको अर्को परिणाम राजदरवार हत्याकाण्ड र शेरबहादुरले ज्ञानेन्द्रका पाउमा लगेर प्रजातन्त्र बुझाएको घटना पनि हो । तर, हामीले त्यो पनि सबै बिर्स्यौ र ओलीलाई नै राष्ट्रभक्तिको माला बनेर जप्यौ । अझ उनले गणतन्त्रको आन्दोलनलाई 'वयलगाढा आन्दोलन' भनेको पनि बिर्स्यौ र आज दुई तिहाई लिएर देश लुट्ने लाइसेन्स दिएर उनको समृद्ध नेपाल र सुखी नेपालीको ललिपप खाएर मुख मिठ्याइरहेका छौं । दुर्भाग्य नै भनौ, हामीले राष्ट्रवादी हुन भारतको विरोधबाहेक अरू पनि धेरै चरित्र आवश्यक हुन्छन् भन्ने कुरा कहिल्यै ठानेनौ ।
भारत विरोधमा राष्ट्रवादी हुने रोग नेपालमा त छ नै, नेपाल बाहिर जहाँ पुगे पनि हामी नेपालीले त्यो रोग विरासतमै बोकेका छौं । नेपाली ठुलो डायस्पोरा आज पनि इतिहासले कमनवेल्थ बनाएका भारतीय साहू महाजनकै कृपामा टिकेको छ ।अमेरिकामा आएर पनि कागजपत्र नहुने धेरैको गुजारा इण्डियन साहूको 'क्यास'मै भएको छ । तैपनि पुरानै धङ्धङेको आधारमा उनीहरूलाई 'धोती' भनेर गाली गर्न छोडेका छैनौं । किनकि, यहाँ पनि राष्ट्रवादी हुने प्रतिस्पर्धा छ र त्यसमा भारत विरोध नै राष्ट्रवादको डिग्री बनेको छ ।
हामी इतिहासको त्यो पाठबाट केही सिकिरहेका छैनौ । बरू उल्टै यो वा त्यो नाममा भारतलाई चाहिने भन्दा बढी गाली गरेर राष्ट्रवादीको डिग्री लिइरहेका छौं । तर, यथार्थमा भारतसँग पौठेजोरी खेलेर हैन, टिकल डाउन थ्यौरीमा आधारित कूटनीति चाल चालेर उसलाई माथ दिन सक्नुपर्छ । इतिहासबाट हामीले सिक्नुपर्ने पाठ नै यही हो ।
अझै पनि हामी इतिहासको त्यो पाठबाट केही सिकिरहेका छैनौ । बरू उल्टै यो वा त्यो नाममा भारतलाई चाहिने भन्दा बढी गाली गरेर राष्ट्रवादीको डिग्री लिइरहेका छौं । तर, यथार्थमा भारतसँग पौठेजोरी खेलेर हैन, टिकल डाउन थ्यौरीमा आधारित कूटनीति चाल चालेर उसलाई माथ दिन सक्नुपर्छ । इतिहासबाट हामीले सिक्नुपर्ने पाठ नै यही हो । यसको अर्थ भारतको अघि लम्पसार गरेर तम् शरणम गर्नुपर्छ भन्ने पनि हैन । न यसो भन्नु भनेको भारतपरस्त सोच हो भनेर तथानाम साइबर बुलिंगको आमन्त्रण नै हो ।
वास्तवमा हामी या त सिद्धान्त नै जान्दैनौ या जाने पनि त्यसलाई प्रयोगमा ल्याउँदैनौ । कसैले त्यसबारेमा कुरा उप्कायो कि धारेहात लगाएर ‘साइबर-बुलिंग’ या ‘सटर-जर्नालिज्म’ सुरु गरिहाल्छौं । यसैले यहाँ आफूले जानेकोे कुरा सार्वजनिक रुपमा बाँड्न पनि डराउनुपर्ने स्थिति छ। कतिबेला घरदेश वा परदेशमा चैते चाकाले मताइएका अरिंगालहरू जाइलाग्ने हुन् भन्न सकिदैन । तथ्य र तर्कका आधारमा आएका क्रिया/प्रतिक्रिया त सञ्चार प्रक्रियाको सातौं अंगकै हिस्सा हुन्, स्वीकार्नुपर्छ । तर, त्यसो नहुँदा ‘फिडब्याक’ नै काउसो जस्तो लाग्नु स्वभाविक हो ।
राज्यका तीन अंग त ठीकसँगले चलेनन्, चौथो अंग भनिने पत्रकारिता पनि सोसाइटी सेन्ट्रिक भएर चलेको देख्दा भने ताजुब लाग्छ । पत्रकारिता बाँच्ने भनेकै पत्रकारको आचरण र व्यवहारमा हो । तर, उनीहरूको व्यवहारले नेपाली पत्रकारिताले राज्यको चौथों अंगको मूलभूत चरित्र वाच-डग चरित्र नै गुमाउँदैछ । आफैं भित्र छिरेर क्रिया/प्रतिक्रियामा सहभागी भएपछि के वाच गर्ने र हुने हो वाचडग ?
यसो भनिरहदा डा. भगवान कोइरालाको एउटा भनाइ स्मरण हुनछ । उनले भनेका थिए, 'हामीलाई जे गर्नुपर्ने त्यो चाँहि आउँदैन, बाँकि सबै आउँछ । जसले जे गर्नुपर्ने हो त्यो चाँहि गर्दैनौ, बाँकी सबै गर्छौ ।'
म आफैं पनि कन्फेस गर्छु कि त्यो रोगको सबैभन्दा ठूलो शिकार म आफैं पनि हुँ । म आफूलाई पत्रकारिता र सञ्चारकर्म आउँछ भन्छु तर शायद त्यही चाँहि मलाई आएको छैन कि जस्तो लाग्न थालेको छ यतिबेला । नेपाल बाहिरको डायस्पोरा त अलि फरक होला कि भन्ने ठानेको थिए । लाग्दैछ, त्यो पनि मेरो अर्को भ्रम हो । जब भ्रमका पर्दाहरु हट्दै जान्छन्, अनि जीवन छ्यांङ्ग हुँदैजाँदो रहेछ ।
आफूले नजानेको कुरा म के भुनँ, सफ्ट-सेल नेपालीका हार्ड-सेल कुरा, आगे उनीहरु नै जानुन् ?
यसपटकको साप्ताहिक भेटघाट यति नै । अर्को सता अर्कै विषय लिएर आउँने नै छु । त्यतिञ्जेलसम्मका लागि नमस्ते ।
(यो लेखकको निजी विचार हो । यसले ब्रेक एन लिंक्सको सम्पादकीय नीति बोक्छ भन्ने हुदैन । - सम्पादक ।)