विद्यालय विश्वविद्यालयमा जब जान्छ मान्छे के पढ्ने, कहिलेसम्म पढ्ने सबै प्रकारको तालिका पाइन्छ।
औपचारिक शिक्षा आफैंमा एउटा रटान हो। मान्छे जब निस्कन्छ यात्रामा उसले धेरै कुरा सिकेर फर्किन्छ। धेरै कुराको देखाइ सुनाइ र भोगाइले उसलाई अर्कै बनाइदिन्छ।
यात्रा पनि एक प्रकारको शिक्षा हो। तर, यसको कुनै पाठ्यक्रम छैन। विद्यालय विश्वविद्यालयको जस्तो हुँदैन कुनै तालिका। तर पनि पाइन्छ धेरै कुराको ज्ञान।
यात्राले पैदा गरिरहन्छ जिज्ञाशा। जानुपर्ने ठाउँमा नपुगुन्जेलको उसको जिज्ञाशा नै अर्कै हुन्छ। त्यस्तै हरेक प्रहरको यात्राको दौरानमा यात्रीको मनमा सुन्दर कल्पनाहरुको जमघट भइनै रहन्छ।
गन्तब्यमा पुगेर फर्कँदा समेत सम्झना, अनुभव र अनुभूतिको भारी बोकेकै हुन्छ। ‘फोक्सुन्डो काव्य यात्रा’का यात्रुहरुले पनि मनमा पालेका थिए अनुकुल र प्रतिकुल मौसमप्रतिको जिज्ञाशा।
प्राकृतिक रमणीयताको तादातम्य, त्यहाँका रितिथिति, मान्छेको लवाइखवाइ र व्यवहारप्रतिको जिज्ञाशा।
यस्तै केही सम्झना केही अनुभव र केही अनुभूतिका पत्रहरु मस्तिष्कमा थुपारेर फोक्सुन्डोबाट फर्किएको पनि भन्डै महिना दिन हुन थालेछ।
अमृत भादगाँउलेको अवधारणा र संयोजनमा कन्सेप्ट नेपालले आयोजना गरेको यात्रा थियो-फोक्सुन्डो काव्य यात्रा। १४ जना कवि लेखकहरूको समूह। निकै अविष्मरणीय थियो त्यो यात्रा।
आषाढको पहिलो साता अझ भनौं वर्षायामको सुरूवाति समय। महाकवि कालिदाशद्वारा रचित मेघदूतको सम्झना भइरहन्छ यो मौसममा।
यही समयमा आजभन्दा २० वर्ष अघि नै मलाई हिन्दीमा अनुवाद गरिएको कालिदाशरचित मेघदूत दिएका थिए डा. डी.पी. भण्डारीले।
आकाशमा बादल देखिनु हुँदैनथ्यो, झ्यालबाट बाहिर हेरेर अश्रुपूर्ण बनिदिनुहुन्थ्यो भण्डारी सर। समय समयको कुरा हो। हिजो आज अस्वस्थ हुनुहुन्छ। चिन्नु हुन्न कसैलाई।
कालिदाशले आषाढको पहिलो दिनलाई नै सम्बोधन गरेर लेखेका छन्-
तस्मिन्नद्रौकतिचिदबलाविप्रयुक्तः स कामी। नीत्वा मासान् कनकबलयभ्रशरिक्तप्रकोष्ठः।
आषाढष्य प्रथम दिवसे मेघमाश्लिष्ठसानूं। वप्रक्रीडापरिणतगजप्रेक्षणीर्य ददर्श।
(चित्रकुट पर्वतमा स्त्रीलाई सम्झेर दुब्लाएको यक्षले आषाढ सुरू हुने दिन पहाडको टुप्पोमा बादल लागेको देख्यो। मक्ता हात्तीले आफ्ना तेर्सा दाँतले पहाडको ढिस्को उधिनेजस्तो थियो त्यो दृश्य।)
फोक्सुन्डो खोला किनारको यात्रा गर्दा कल्पनामा आइरहन्थे यस्ता दृश्यहरू। रामगिरि पाहाड जस्ता देखिन्थे पहाडहरु। पहाडको टुप्पोमा उस्तै घुमिरहेको देखिन्थ्यो बादल।
काव्यमा बादललाई अधिकांश कविहरुले अवरोधका रुपमा उल्लेख गरे। तर, कालिदासले त्यही बादललाई सन्देशवाहकका रुपमा चुने। त्यही संन्देश वाहक बादल घुमिरहन्थ्यो डोल्पाका डाँडाहरुमा। लाग्थ्यो शायद खवर पुर्याउँदैछ त्यसले फोक्सुन्डो ताललाई, कुनै यक्षजस्ता रसिक मनहरु भावुक पाइलाहरु आउँदैछन् तिम्रो सौन्दर्यको वर्णन गर्न, रसपान गर्न भनेर।
रिग्मो गाउँलाई भनिरहेथ्यो होला लामो यात्रा पार गरेर थकित भएका केही थान प्रेमी आँखाहरु आउँदैछन् बास माग्नलाई।
प्राकृतिक हिसावले विशिष्ट छ डोल्पाको सौन्दर्यता। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक हिसावले विराट छ कर्णाली प्रदेश।
शायद प्रकृतिको यस्तै विराटता देखेर त्यस्तै सौन्दर्य अनुभूत गरेर लेखे होलान् कालिदाशले मेघदूत जस्तो अद्भूत काव्य।
वर्षा ऋतु आगमनको समय, गाउँको याद, कसैको पर्खाइमा बसेजस्ता पहाडहरु, खोला नाला र वनजंगलको त्यतिखेरको अवस्था कल्पिदा पनि अश्रुपूर्ण हुन्छन् टाढा रहेका रसिकहरू।
नेपालका प्रायः सबै जिल्ला घुमिसकेका भादगाउँले तय गरेका यस्ता यात्राहरूमा उनी कति पटक अश्रुपूर्ण बने।
कुन कुन ठाउँमा यात्रारत रहँदा सम्झे पुराना दिनहरु र आफ्नी बाल्यसखालाई, सोध्न बाँकी नै छ। मैले सोध्ने बित्तिकै सही कुरा बताउँनेछन् भन्ने ठोकुवा नै गर्ने आधार पनि त मसँग केही छैन।
भादगाउँलेको पछि लागेर दुई चार ठाउँ घुम्ने मौका पाउँदा मलाई भने कैयौंपटक अश्रुपूर्ण बनाएको छ विगतको सम्झनाले। गाउँको यादले। आषाढमा हलगोरू जोतिएका खेत र रोपाइँका दृश्यले।
डोल्पाको जुफाल छेउछाउ पाखोतिर हलगोरू जोतेको दृश्य देख्न पाए पनि देखिएन कतै रोपाई गरेको। फापर, आलु, सिमि, स्याउ, ओखरको लागि प्रसिद्ध मानिन्छ डोल्पा।
उसो त यी कुराहरु कर्णाली प्रदेशकै पहिचान हुन्। यहाँका डाँडाकाडातिर हिउँदमा हिउँ फल्छ। हिउँ फुल्छ। यार्सा टिप्न जादा बाटामा र एक महिनासम्म हिमालको फेदिमा बस्दा फल्छन् फुल्छन् कैयौं वैशालु मनहरू।
काठमाडौंबाट नेपालगन्ज पुगेका काव्य यात्रीहरू प्लेन नपाएर घुम्छन् दुई दिन नेपालगन्जमै। अन्तिममा बसको यात्रा तय हुन्छ। सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका केही ठाउँ छुँदै डोल्पाको रूपगाड पुगेर टुङ्गिन्छ सडक यात्रा। रूपगाड पुगुन्जेलसम्मको यो यात्रा अहिलेसम्मकै यादगार यात्रा बनिदिन्छ मेरा लागि।
जिपमा सबैजना नअटाउँदा पत्रकार चन्द्र काफ्ले र मेरा पाइताला बिस्तारै उक्लेका हुन् जिपको छतमा। सबैका झोलाले भरिभराउ थियो छत। तिनै झोलामाथि बसेर झोला बाँधेको नाइलनको रसी अठ्याउँदै घरि कुनातिर घरि छेउतिर झुकिरहन्थ्यो जीउ। निस्पट्ट अध्यारो रातमा भेरीको किनार हुँदै हुइकिरहेको जिप। झ्यालबाट टाउको बाहिर निकाल्दै ड्राइभरले बेलाबखत दिइरहन्थे आदेश ‘तपाईहरु राम्ररी बस्नु होला है? लड्नु होला नि!’
छतमाथि अँध्यारोमै चलिरहेकै थियो हामी बीच गफगाफ। कतै खाल्डोमा चक्का पर्दा झस्किरहन्थ्यो मन। आकाशमा टल्केका देखिन्थे दुईचार वटा तारा। अँधेरी रातमा कसैले अपहरण गरेर कतै अपरिचित स्थानतिर लगिरहे जस्तो। दुस्मनमाथि आक्रमण गर्न कतै अज्ञातस्थलतिर हिँडेको फौज जस्तो।
अभिव्यक्तिबिहीन भएर एक्लै एक्लै मसानघाटतिर भौतारिएको ज्यान जस्तो कस्तोकस्तो लाग्थ्यो त्यो यात्रा।
जिप दुई घन्टा जति गुडेपछि बिस्तारै ओर्लिन्छन् पाइताला, तल्लु बगरस्थित कमल थापाको होटलको प्राङ्गणमा। छेवैमा सुसाइरहेकी भेरी नदी। थकित ज्यान खाना खाने बित्तिक्कै नशा लागेजस्तो लठ्ठिन पुग्छ बिस्तारामा।
भोलिपल्ट बिप्लब समूहको बन्दको हल्ला थियो। बिहान चार बजे नै उठेर तयारी भयो पुनः यात्राको। जसोतसो कटियो बन्द प्रभावित क्षेत्र। पाँच ठाउँमा झोलुङ्गे पुल पार गर्दै पारिपट्टि जिप समात्दै गर्नुपर्ने यात्रा। भेरीको किनारमा चट्टान खोस्रेर बनाइएको बाटो। ठाउँठाउँमा ससानो बजार। बजारमा देखिन्थे पेट्रोल र डिजेल भरिएका ठुल्ठूला ग्यालेन।
त्रिपुरासुन्दरी माताको मन्दिरबाट चारैतिर हेर्दाको रमणीय दृश्यले लोभ्याइरहेकै हुन्थ्यो। सुलिगाढ पुगिसकेपछि सुरु हुन्छ जब फोक्सुन्डो किनाराको यात्रा। देखिन्छ प्रभातकालिन भ्रमणमा निस्केको यात्री जस्तो बादल। सुसाइरहन्थ्यो फोक्सुन्डो खोलो। खोला किनारमा आइपुग्छन् छालका तरङ्गहरु। जसै सिमसिम पानी बर्सिन थाल्छ लाग्छ कतैबाट सुनिए पनि हुन्थ्यो बाँसुरीको रन्को। ठाडीभाकाको आलाप। डोटीमा गाइबाख्रा चराएको याद आइरहेको थियो मलाई त्यति बेला।
सिमसिम पानीमा भिज्दाको आनन्द, मुना (स्यापु), बर्सादी ओढेर जंगलमा हिँड्दाका ती पलहरु छाइरहेकै थिए मनमा नोस्टाल्जिक बनेर। लाग्थ्यो यतै कतै खर्क बनाएर गाई बाख्रा पालेर हराइदिन पाए नि हुन्थ्यो। यी त सब भावनाका कुरा न हुन्। कहाँ हुन्छ र सोचे जस्तो जिन्दगी।
क्यामेराको लेन्स घुमाइरहन्थे साथीहरू। बाटोमा घन्टी बजाउँदै लस्करै आइरहेका हुन्थे खच्चरहरू। ससाना काठे पुल पार गर्दासमेत घोडाबाट उत्रिदैन थिए घोडचढीहरू। त्यो दृश्य देख्दा हामी हेर्नेलाई डर लागिरहेको हुन्थ्यो।
दुई दिन एक बिहान हिँडेपछि देखिएको थियो फोक्सुन्डो झरना। केही माथि उक्लेपछि टाढैबाट लोभ्याउन थाल्छ मनमोहक ताल फोक्सुन्डोले।
ताल किनारमा औपचारिक कार्यक्रम गरेर चार जना भुइँमान्छेहरुलाई जनही दश हजार रुपया सहित सम्मान पत्र प्रदान गर्दा स्वागतका लागि झुल्केका हुन् कि जस्तो लाग्थ्यो सूर्यका किरण।
सम्मानित होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी, र सेन्दुक आइक्याल रोकायाका मुहार काञ्जिरोवा जस्तै चम्किला देखिन्थे। जस्तो कि केही समयका लागि काञ्जिवासँग मुस्कान सापटी मागे हुन् उनीहरुले।
कन्सेप्ट नेपालले पछिल्ला दिनमा प्रतिभावान भुइँमान्छेहरुलाई सम्मान दिने थालेको छ। कन्सेप्ट नेपालमा यस्ताखाले कन्सेप्ट उनै भाद्गाउँले निकाल्छन्। जो डोल्पाका डाँडामा घुमिरहने बादलभित्र एकप्रकारको आकृति खोजिरहेका थिए। लाग्थ्यो कतै आफ्ना बाल्यसखाहरुका कुनै प्रेमिकाहरुका अनुहारका आकृति त खोजिरहेका छैनन्। उनी बादलका, हिमालका अनि तालका तिनै दृश्यहरुलाई कैद गरिरहेका हुन्थे आफ्नो क्यामेरामा।
यात्रामा आफ्नै मस्तिमा मौनता साचिराख्छन् भाद्गाउँले। साँझपख बास बस्ने ठाउँमा बल्ल मुस्कुराउँछन् ठट्यौलो पारामा। कवि लेखकहरु ताल छेउतिर देखिन्थे आफ्नै मस्तिमा। हातहातमा क्यामेरा र मोबाइल सोझ्याएर कैद गरिरहेका थिए बिभिन्न खाले दृश्यहरू। समय समयमा रंग बद्लिरहने फोक्सुन्डो तालले झल्का लगाइरहन्थ्यो। फोक्सुन्डोसँग आँखा जुधाएर फर्केको धेरै दिन भैसक्यो छोडेको छैन त्यसले सम्झना र कहिलेकाही सपनीमा झल्को लगाउन।
यो पनि हेर्नुहोस्