युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा एउटा पुरानो शहर छ, वरदुबई। यहाँ नेपाली व्यवसायीले होटेल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी मात्र हैन, किराना पसलदेखि सुन पसलसम्म सञ्चालन गरेका छन्। नेपालीका लागि नुनदेखि सुनसम्म पाइने कारण यहाँ नेपालीको मेला नै लाग्छ।
हरेक शुक्रबार यस ठाउँमा पुग्ने हो भने, आफू दुबईमा छु कि नेपालमा ? खुट्टयाउन गाह्रो पर्छ। जोसँग ठोक्किए पनि नेपालीसँगै ठोक्किन पुगिन्छ।
रोजगारीका लागि युएई आएका नेपालीले नेपाली भेट्न जानै पर्ने ठाउँ भन्दा पनि हुन्छ, वरदुबईलाई।
वरदुबईको बसपार्क नजिकै एउटा पार्क छ। यसलाई नेपालीले आफ्नै नाम दिएका छन्, नेपाली पार्क। यो नामसँग दुबईमा रहने जो कोही परिचित छन्।
पार्कलाई नेपाली पार्क भनेर न्वारन गर्ने पुरोहित को हुन्, त्यो मलाई थाहा छैन। तर, आठ बर्ष युएई बस्दा मैले सुनेको नाम यही हो।
अहिले त नेपाली मात्र होइन, बंगाली, पाकिस्तानीलगायत दक्षिण एसियाका प्रायः सबै राष्ट्रका नागरिक यो पार्कलाई नेपाली पार्क भनेर चिन्ने गर्छन्। कुनै पनि देशको ट्याक्सी ड्राइभरलाई तपाईले नेपाली पार्क जाने भन्नुभयो भने उसले वरदुबईको यही पार्कमा ल्याएर उतारिदिन्छ।
वरदुबईको यही ठूलो पार्कसँग छुट्टिएर दक्षिण–पश्चिम भागमा एउटा सानो डाँडो उभिएको छ। यो डाँडोलाई पनि नेपालीले आफ्नै नाम दिएका छन्, लभ–डाँडा।
पहिला त्यो डाँडामा नेपालीप्रेमी जोडीको बाक्लो बसाई हुन्थ्यो अरे। त्यही भएर यस डाँडालाई लभ–डाँडा भनिएको जानकार बताउँछन्।
अहिले डाँडाको नाम फेरिएको छ। तपाईहरूले यहाँ अहिले लभकुमार र लभकुमारी होइन, जाँडबहादुर बढी भेट्नु हुन्छ।
त्यसैले यस ठाउँको नाम विस्तारै लभ–डाँडाबाट जाँडबहादुर डाँडा बन्दै गइरहेको छ।
सडकमा लम्पसार परेका जाँडबहादुर नेपालीको माथिको तस्बिर यही डाँडा नजिकको हो।
यस ठाउँमा नेपालीहरू दिउँसै रक्सी पिएर हिड्नै नसक्ने अवस्थामा सडकमा उत्तानो परेको अवस्थामा भेटिन्छन्। यस्ता जडियाँहरूलाई केही नेपालीले ब्यस्त सडकबाट उठाएर अलि परको चौरसम्म छोडिदिन्छन्।
दुबईमा बसोबास गर्ने नेपाली माझ यस्तो रमिते दृश्य हिजोआज निकै चर्चित छ।
त्यसो त दुबईमा नेपालीभन्दा बढ्ता रक्सी पिउने केहि पाकिस्तानीलाई पंक्तिकारले नदेखेको होइन। तर, जाँडरक्सी पिएपनि नेपालीले जस्तो ईज्जत लिलाम गर्दै रमिता देखाएको आजसम्म देखेको छैन।
गएको डिसेम्बर २०१८ मा युएईस्थित नेपाली दूतावासले यहाँका आठवटा जेल भ्रमण गरेर एउटा तथ्यांक सार्बजनिक गरेको थियो।
जसमा २ सय नेपाली कैदी वन्दीमध्ये ११६ अर्थात ५८ प्रतिशत नेपाली मादकपदार्थ सेवन र बिक्रीवितरणको मुद्दामा
जेल परेको पाइएको छ। यो तथ्यांक जाँड हर्कतको गतिलो प्रमाण हो।
युएई मात्रै होईन, खाडी मुलुक मध्य अर्को देश कतारमा पनि नेपालीको अवस्था यस्तै लाजमर्दो छ।
मुस्लिम समुदायको लागि पवित्र महिना मानिने रमादान पर्वको बेला सार्वजनिक स्थानमा पानी समेत पिउन नपाउने देशमा नेपालीले दिउँसै खुल्ला चौरमा मादकपदार्थ सेवन गरेर लडाइँ गर्दै गरेको भिडियो केही समय अगाडि सामाजिक सञ्जालमा भाइरल भएको थियो।
बुझ्दै जाँदा उक्त भिडियो कतारमा नेपालीले देखाएको रमिताको रहेछ। कतार म्युजियम नजिकै रहेको कोर्निस क्षेत्रतिर दिउँसै जाँडरक्सी पिउन नेपालीको भीड लाग्ने गर्छ। जबकि कतारमा त्यसरी मादकपदार्थ सेवन गर्नु दण्डनीय अपराध मानिन्छ।
कतार मात्र होइन, खाडीका अन्य मुलुकमा पनि सार्वजनिक स्थानमा मादकपदार्थ सेवन गर्नु गैरकानुनी हो।
यो थाहा हुँदाहुँदै पनि जाँडबहादुर नेपालीलाई कसले सम्झाउने? यी आफैंमा चुरो प्रश्न बन्न थालेका छन्।
बिदेशमा हामी आफ्नो ब्यक्तिगत नामले होइन, राष्ट्रको नामले चिनिन्छौँ। नराम्रो काम गर्योा भने वा रक्सी खाएर कुकर्म गर्योय, आत्महत्या गर्यो, ठगी गर्योा भने कुनै बिदेशीले हामीलाई हाम्रो नामले होइन, देशको नामले चिन्छन्। हामीले बिदेशमा गर्ने हरेक कर्म सिधै देशको नामसँग जोडिन्छ। हरेक नेपालीको पहिचान आफ्नो राष्ट्रसँग जोडिएको हुन्छ।
हाम्रा पूर्खाले वीर योद्धा गोर्खाली र इमान्दार सिपाहीको विरासत छोडेर गएका थिए। अहिले हाम्रो पुस्ता इमान्दारीताको त्यो विरासतमाथि रक्सी पिएर रमिता देखाउन थालेका छन्। यसले हामी र हाम्रो देशलाई कता लैजादैछरु यो आफैंमा गम्भीर प्रश्न हो।
एउटा नेपाली रक्सी पिएर बिदेशको सडकमा हल्ला गर्दै हिडेको, मेट्रोमा समातिएको , जहाजमा दुर्व्यवहार गरेको कारण यात्रुको सुरक्षाका लागि अन्य मुलुकमा डाइभर्ट गर्नु परेको घटनाले हरेक नेपालीको शिर लाजले झुक्ने अवस्था सिर्जना भएको छ।
अवस्था यही रहने हो भने, भोलि नेपालीलाई रोजगारी दिइरहेका मुलुकले रक्सीकै कारण भिसा बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न।
देशमा रोजगारीको अवसर नपाएर अर्काको देशमा आएका हामी नेपालीले सार्वजनिक स्थलमा मादकपदार्थ सेवन तथा झै–झगडा गरेर बहादुरी देखाउनुभन्दा नेपालबाट बिदेश आउनुको उद्धेश्य किन भुलिरहेका छौं?
सिङ्गो परिवारको जिम्मेवारी बोकेर आफ्नो र आफ्नाको सुनौला भविष्यको कल्पना गर्दै परदेश उडेका हामीले किन जीवन र भविष्यको बेवास्ता गरिरहेका छौं? किन यसरी अर्काको देशको कानुन मिचेर मादकपदार्थको कूलतमा फसिरहेका छौं? दुनियाँलाई रमिता देखाएर देशको र आफ्नो ईज्जत किन फालिरहेका छौं? हामीले अनुशाषन र संस्कार कहिले सिक्नेरु कहिले सुध्रने हामी?