दुरीको हिसाब गर्दा, टाढाको रोजे-विषयवस्तु।जहाँ समृद्धिको नाराले बसिसक्नु छैन।मैले लेखेको विषय यतैसम्म नछुन पनि सक्छ। तर पनि मुम्बईमा अनगिन्ति प्रवासी नेपालीहरु हुनुहुन्छ।यो विषय जान्न तपाई हामीलाई पनि जरुरी छ। राज्य कस्तो बन्यो? मतदान गरेर, छिटै मुम्बई पनि फर्किनुभयो होला?तपाईले चुन्नु भएका जनप्रतिनिधि कस्ता निस्किए?, यो भने जान्नु पर्छ।
उतिबेला राजनीतिक नेतृत्वदेखि नागरिकले आलोचना गर्ने तप्का थियो कर्मचारी।कर्मचारीले गरेका कामको टिप्पणी गर्दै दैनिक उफ्रने यो जमात आज पनि सड्कमै छ।जनप्रतिनिधि नभए भ्रष्टाचार मौलायो भन्नेहरु यतिबेला भ्रष्टाचारमै डुबेका छन्।अर्कालाई भ्रष्टाचारको आरोप लगाउन कति सजिलो रहेछ, जनप्रतिनिधिले मजाले भोगिरहेका छन्।
आजका जनप्रतिनिधि आफै कति राजनीतिज्ञ छन् ?, यो प्रश्नको उत्तर थाहा पाउँन थालिएको छ। पछिल्लो एक वर्षका गतिविधि हेर्दा केही अपवादलाई छाडेर बाँकिका लागि पहिलो प्राथमिकता राजनीति थिएन।कतै न कतै पैसा कमाउन तल्लिन, ब्यक्ति उठाएर राजनीति पार्टीहरुले उम्मेदवार बनाए।चुनाबमा धेरै पैसा खर्च गर्न सक्ने, युवा परिचालन गर्ने, धाँधली गर्न जानेका पार्टीहरुको रोजाइमा थिए। एक किसिमले भन्ने हो भने उनीहरू व्यापारी थिए, चुनाव र राजनीतिलाई पनि व्यापार नै बनाए।
गाउँमै बसेर राजनीति गरेकाहरुलाई सबै पार्टीहरुले कमै टिकट दिएका थिए। उनीहरु अहिलेपनि गाउँकै सेवामा छन् तर जनप्रतिनिधिका रूपमा हैन।चुनाबपूर्ब गाउँमै बसेका जनप्रतिनिधि कमै छन्। प्रायः गाउँ छाडेर बाहिर बस्ने, बिदेशबाट आएकाहरुको जमात देखिन्छ।
निर्वाचनताका लोकप्रियताका लागि बनाइएका चिप्ला-चिप्ला नारा कार्यान्वयनमा नआएका कारण पनि उनीहरू तिब्र आलोचित भएका छन्। उनीहरूले समाजको मापन नगरी, चुनाब जित्नकै लागि बनाएका ती नारा कार्यन्वयनमा आउने खालकै थिएनन् छन्।
चुनाब लड्दा धेरैले घर-खेतदेखि गाडी, घोडा, डोजरसम्म बेच्नु पर्याे। चुनाव जित्नकै लागि लाखौं खर्चेका, उनीहरू अहिले रकम कुम्लाउन लागिपरेका खबर कतै न कतै सत्य हुन्। सिमीत जनप्रतिनिधिहरुले मात्रै राम्रो काम गरेको सुन्न पाइन्छ। धेरैले निजी र आसेपासेकै स्वार्थका लागि काम गर्दा पनि आलोचित छन्।
स्थानीय तहमा हुने, बिकास निमार्णका हरेक काममा जनप्रतिनिधिले आफ्नै डोजर प्रयोग गर्ने क्रंमले नागरिकबाट टिप्पणी हुनु स्वभाबिक मानिन्छ।उनीहरुले टेन्डर नखोलाई आफुनिकट ब्यक्ति समेटेर समिति बनाउदा पनि यत्रो समस्या पैदा भएको हो।जनप्रतिनिधिले जनताको विश्वास जित्न सकेका छैनन्।मत जितेर मख्खै परेका उनीहरु, योभन्दा अगाडि राजनीति यात्रा देख्दैनन्।स्थानीय तहमा पुगेपछि जस्तो काम गरे पनि हुन्छ भन्ने मनसाय छ।
गाउँगाउँमा पुर्याइएका सिंहदरवारमा भ्रष्टाचारको खेती भैरहेको महालेखा परीक्षकको प्रतिवेदनले पनि देखाएको छ, अख्तियारमा परेका उजुरीको संख्याले पनि प्रष्ट पारेको छ। तर, यो त हुनु नै थियो किनभने त्यहाँ राजनीतिलाई सेवा मान्ने भन्दा व्यापार ठान्नेलाई नै उठाइएको थियो। उनीहरूका लागि चुनाव हाट र राजनीति पसल थियो, त्यसैले ब्यापार गरिरहेका छन्।