भारतमा कन्हैया यसरी जित्न सक्छन्, नेपालमा के प्रभाव पर्ला?

तस्बिरः बिएल

सात चरण लगाएर हुँदै गरेको भारतको लोकसभा निर्वाचनको चौथो चरण अप्रिल २९ मा समाप्त भएको छ र मे ६ मा पाँचौ चरणको चुनाव हुँदैछ।

५४३ सीटका लागि भएको यो चुनावको सात चरण सकिएको चार दिनपछि अर्थात मे २३ मा सबै परिणाम घोषणा हुने कार्यक्रम छ।

भारतीय जनता पार्टी नेतृत्वको मोदी सरकारले अर्को पाँच वर्ष पनि निरन्तरता पाउँने कि उसका बिपक्षको हातमा भारतको साँचो पुग्ने मुख्य मुद्दा रहेको यो चुनावमा अनेकौं कारण बिभिन्न उमेद्वारहरु चर्चित छन्, तिनैमध्ये एक हुन् भारतको हाम्रो निकट छिमेकी प्रान्त बिहारको बेगुसरायमा निर्वाचन लडेका भारतीय कम्युनिष्ट पार्टीका उमेद्वार कन्हैया कुमार। 

२९ अप्रिलमा मतदान भइसकेको बेगुसरायबाट ३१ वर्षका कन्हैया कुमारको जीत वा हारले भारतको सत्ता राजनीतिलाई तत्काल उति ठूलो अर्थ नराख्ने निश्चित छ। किनभने, उनले प्रतिनिधित्व गर्ने पार्टी भारतमा क्रमशः कमजोर हुँदै गएको देखिन्छ।

भारतमा समग्र बामपन्थीहरु कतिसम्म कमजोर छन् भन्ने एउटै तथ्यले स्पष्ट पार्छ कि, यो पटकको चुनावमा मोदीको भारतीय जनता पार्टीलाई हराउन अनेक प्रकारका गठबन्धन गरेका कांग्रेससहित अरु क्षेत्रीय दलहरुले पनि बामपन्थीहरुलाई गठवन्धनमा कतै सामेल गरेनन्, बिहारको आरा क्षेत्रमा दिपाङ्कर भट्टाचार्य महासचिव रहेको भाकपा मालेलाई लालु यादवको छोरा तेजस्वी यादवले अहिले नेतृत्व गरिरहेको राष्ट्रिय जनता दलको गठवन्धनले एक सीट छाडेबाहेक।

यस हिसाबले सत्ता राजनीतिमा कन्हैयाको जीत वा हारले अर्थ नराखे पनि सातै चरणको चुनाव, त्यसमा पनि चौथो चरणको चुनावमा बेगुसराय ‘हट सिट’ बन्न पुग्यो।

किन त?, धर्मको आधारमा जनतालाई बिभाजन गरेर अर्थात मुशलमानलाई सत्रु देखाएर हिन्दू धार्मिक भावना भड्काउदै मत लिएर जित्ने भारतीय जनता पार्टीको घोषित नीतिबिरुद्ध कन्हैयालाई अहिले भारतमा सबैभन्दा सशक्त आवाज मानिएको छ।

मोदी सरकार र उसका नीतिको आलोचनात्मक टिप्पणी गरेकोमा एबीपी न्यूज टेलिभिजन छाड्न वाध्य बनाइएका वरिष्ठ पत्रकार पूण्यप्रसुन्न बाजपयी भन्छन्, ‘बिपक्षका ५,६ ले जित्नुभन्दा कन्हैयाले चाहिँ नजितुन् भनेर भाजपा चाहन्छ भन्ने स्पष्ट छ।’

भाजपाविरोधी सबैमा अझ खासगरी युवामा उनको बढ्दो क्रेजकै कारण भारतीय कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले उनलाई भुपालको आफ्नो निर्वाचन क्षेत्रमा प्रचारका लागि बोलाएका छन्, जहाँ भाजपाबाट सन् २००६ मा मुशलमानहरुको कत्लेआम हुनेगरी भएको मालेगाउँ बम बिष्फोट गराउने अभियोगमा थुनामा बसिसकेकि उग्र हिन्दूवादी साध्वी प्रज्ञा उमेद्वार छिन्। 

भारतको दिल्लीमा रहेको जवाहरलाल विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्ष रहेको बेला विश्वविद्यालयमै भएको भारतविरोधी एउटा नारावाजीमा संलग्न रहेको आरोपमा केही दिन थुनामा  परेका तथा अदालतमा सोही मुद्धाको सुनावाई हुँदा भाजपा समर्थक  वकिलहरुको पिटाई समेत खाएका कन्हैया त्यसपछिका तीन वर्ष भारतभरी नै हिन्दूवादी तथा सबै प्रमुख मुद्धालाई किनारा लगाएर पाकिस्तानविरोधी भावना उचाल्ने अनि त्यसैका आधारमा चुनाव जित्ने योजनामा रहेका मोदी विरोधी वक्तव्य दिँदै हिँडे।

विषयलाई सरलरुपमा प्रस्तुत गर्ने, जस्तोसुकै अप्ठ्यारो प्रश्नको पनि सहज जवाफ दिनसक्ने र सिलसिलेवार बोल्न सक्ने उनको खुबीले तीन वर्षमा उनी भारतकै सबैभन्दा प्रख्यात युवा व्यक्तित्व बन्न पुगे तथा मूलधारका मिडिया मोदी र भाजपा प्रेमी हुँदाहुँदै पनि उनी मिडियाले रुचाइएका व्यक्तित्व बने। यही कारण, बिहारमा सत्तारुढ र प्रतिपक्षी दुवैलाई टक्कर दिन नसक्ने पार्टीका उमेद्वार कन्हैया उठेको बेगुसराय भारतै एक ‘हट सीट’ बन्न पुग्यो।

जित्लान् त?

बिहारको बेगुसराय कुनै समय कम्युनिष्टहरुको गड वा बिहारको लेनिनग्राड भएपनि सन् १९९० को दशकपछि कम्युनिष्टहरु क्रमश कमजोर बन्न पुगे। विश्वमा कम्युनिष्टहरु कमजोर हुनु त्यहाँ पनि कम्युनिष्टहरु कमजोर बन्नु एउटा कारण थियो भने, उत्तर प्रदेशमा काशिराम—मायावति र मुलायम सिंह तथा बिहारमा लालु यादव र नितिषकुमारहरुले ‘सोशल इन्जिनियरिङ’ काम नाममा जातीय राजनीतिलाई बढावा दिनु अर्को कारण थियो।

 बर्ग संघर्षलाई निरपेक्षरुपमा बुझ्ने तथा त्यसकै आधारमा मात्र चल्ने कम्युनिष्टहरु जातीय राजनीतिले कमजोर बनेकै बेला उदाएको भारतीय जनता पार्टीको मुशलमानविरोधी हिन्दूवादी राजनीतिको हुरीबाट अरु कमजोर हुन पुगे। यो अवस्थामा बृद्ध कम्युनिष्टहरुको एउटा पुस्ताले निस्कृय अवस्थामा आफूलाई कायम राखेपनि युवा पुस्ताबाट उनीहरु पूरै अलगथलग हुन पुगे।

तर पनि, झण्डै पाँच लाख मतले जितिने बेगुसरायमा कम्युनिष्टहरुले अझै पनि झण्डै एक लाख मत कायम राखेको त्यहाँका राजनीतिक विश्लेषक बताउँछन्। यस्तोमा त्यहाँ निर्वाचन जित्न कन्हैयालाई आफ्नो पार्टीको मत जोगाउँदै थप ४ लाख मत ल्याउँनु पर्ने चुनौति रह्यो।

सुरुमा कन्हैयाले लालु यादवको छोरा तेजश्वीले नेतृत्व गरेको भाजपाविरोधी गठवन्धनसँग आफ्नो पार्टीको तालमेल गराउने तथा समग्र बिपक्षी गठवन्धनबाट उमेद्वार बन्ने प्रयत्न गरे। तर, कमजोर भइसकेको बामपन्थलाई गठवन्धनमा सामेल गराउँदा उसको पुनरोत्थान हुने तथा आफूभन्दा अझ युवा, तेजतर्रार वक्ता र राष्ट्रिय व्यक्तित्व बनाइसकेका कन्हैयालाई लोकसभामा पठाउँदा भविष्यमा आफ्नै तघारो बन्न सक्ने विश्लेषण गरेर तेजश्वीले त्यसलाई अस्विकार गरिदिए अनि, २०१४ मा भाजपासँग झण्डै ६० हजार मतले मात्र हारेका तनवीर हशनलाई उमेद्वार बनाए। भाजपाले बिपक्षप्रति सबैभन्दा असहिष्णु तथा मोदीविरोधीलाई बातैपिच्छे पाकिस्तान पठाइदिने धम्की दिने केन्द्रीय मन्त्री गिरिराज सिंहलाई उमेद्वार बनायो।

यसरी, त्रिपक्षीय हुन पुगेको लडाई त्यहीरुपमा तथा परम्परागतरुपमा कायम रहँदा कन्हैया हार्ने निश्चित हुनपुग्थ्यो। किनभने, कन्हैया र गिरिराज दुवै त्यस क्षेत्रको सबैभन्दा धेरै जनसंख्या भएको भूमिहार समुदायका भएपनि त्यो उच्च जातिमा भाजपाको परम्परागत पकड थियो र कुनै हालतमा त्यसको बहुमत गिरिराजविरोधी हुनसक्दैनथ्यो।

दोश्रो जनसंख्या रहेको मुश्लिम समुदाय हशनको पक्षमा हुने नै भयो अनि तेश्रो संख्या रहेको यादव जाति लालु यादवको जाति भएको र उसले जीतको सूत्र नै ‘एम वाई’ (मुश्लिम र यादव) बनाएकाले हशनकै पक्षमा हुने भयो। बाँकि झण्डै ६० हजार ब्राम्हण रहेको देखिन्छ, उनीहरु धर्मप्रति निरपेक्ष कम्युनिष्ट कन्हैयाको पक्ष र हिन्दूवादी गिरिराजको पक्षमा हुने कुरै आएन। दलित समुदायका नेता जितनराम माझी लालु यादव र रामविलाश पासवान मोदी पक्षमा रहेकाले दलित दुईतिरै बाढिने भए।

अरु जातिले पनि कन्हैयालाई पूरै मत दिने कारण रहेन। यस हिसाबले सुरुमा कन्हैयाले कम्युनिष्ट मतबाहेक अरु आकर्षित गर्न नसक्ने तथा कमजोर तेश्रो मात्र बन्ने अनुमान गरियो।

तर, झण्डै एक वर्षदेखि निर्वाचन क्षेत्रमै रहेका कन्हैयाको पछिल्लो एक महिनादेखिको तेजतर्रार निर्वाचन अभियानले नसोचेको परिणाम देखाउन थाल्यो। जवाहरलाल विश्वविद्यालयमा उनीसँग अध्ययन गरेको साथीहरु, गुजरात विधानसभाका निर्दलीय सदस्य तथा दलित युवा नेता जिग्नेश, प्रख्यात गीतकार जावेद अख्तर, उनकी पत्नी तथा चर्चित अभिनेत्री सवाना आज्मी, बलिवुडकी अहिलेकी अभिनेत्री स्वारा भाष्करलगायत भारतका चर्चितहरु उनको अभियानमा एकपछि अर्को गर्दै सहभागि भएपछि उनले बेगुसरायलाई भारतमै चर्चित बनाएको मतदातालाई महशुस हुन थाल्यो।

सेलिब्रिटीहरुको उपस्थिति र उनको व्यक्तित्वले सबै समुदायका युवालाई आकर्षित गर्न थाल्यो। भारतीय मिडियाहरुले बेगुसरायमा कि कन्हैया छन् कि गिरिराज भन्ने प्रचार गरेको गर्यै गरेपछि बिस्तारै हुशेन ओझेलमा पर्दै गए। र, सतहमै सही पहिले त्रिपक्षीय भनेको लडाई बिस्तारै दुई पक्षीय बनेको देखिनथाल्यो। कन्हैयाका लागि यो शुभसंकेत थियो।

निर्वाचनपछि, त्यहाँका पत्रकारहरुले गरेको विश्लेषण अनुसार, पछिल्लो तीन दिनमा परिस्थिति अकस्मात फेरियो। यस्तो हुनुको कारण थियो—लडाई दुई पक्षीय भएको देखिन थालेपछि मुश्लिमहरु भाजपालाई हराउनसक्ने कन्हैयाको पक्षमा एकजुट भए। कन्हैयाको पक्षमा ७० प्रतिशतभन्दा बढि मुश्लिम मत परेको त्यहाँका पत्रकारहरुको अनुमान छ। लालु यादवलाई जेल हालेकोमा आक्रोशित यादवहरु भाजपालाई जसरी पनि हराउनुपर्ने पक्षीय भएकाले उनीहरुको ठूलो प्रतिशतले कन्हैयाको पक्षमा मत हाल्यो। कम्युनिष्टहरुको मत छँदैथियो भने सबै जाति र समुदायका युवाहरुले पनि कन्हैयाको पक्षमा सोचेभन्दा बढि मतदान गरेको अनुमान छ।

तर पनि, त्यहाँका विश्लेषकहरु अझै कसको पक्षमा परिणाम आउँछ भन्ने स्पष्ट नभएको बताउँछन्। उनीहरुका अनुसार, भाजपाविरोधी मत बाढिएका कारण थोरै मतले गिरिराज जित्नसक्ने सम्भावना पनि छ भने पछिल्लो समय भाजपाविरोधी अधिकांश मत एकोहोरिएका कारण परिणाम कन्हैयाको पक्षमा आउने सम्भावना पनि छ। यी दुई सम्भावनामा उनीहरु केही अंक कन्हैयाकै पक्षमा बढि दिन चाहन्छन्।

नेपाललाई केही अर्थ होला?

कन्हैयाको जीत र हारले भारतको केन्द्रीय सत्तालाई अहिले कुनै प्रभाव नपार्ने हुँदा नेपाललाई त्यसले प्रभाव पार्ने देखिदैन, भारतमा एउटा युवा कम्युनिष्टले जितेकोमा नेपालमा कम्युनिष्टहरु खुसी हुनुबाहेक। तर, भारतीय राजनीतिमा भने त्यसको दिर्घकालिन प्रभाव पर्न सक्छ।

उनले सबै धर्म र समुदायको मत पाउनु अहिले आश्चर्यजनक मानिदैछ र उनी जितेमा भारतको भावी राजनीतिमा त्यो प्रवृति विकास हुन सक्छ। त्यसो हुँदा, अहिले कमजोर रहेका कम्युनिष्टहरुको प्रभाव विस्तार हुनसक्छ।

 भारत धेरै ठूलो तथा त्यहाँ एउटै प्रदेशमा पनि निकै फरक विशिष्ठता रहेकाले कन्हैयाको जीतले समग्र भारतमा कम्युनिष्टहरुको विस्तार हुनसक्ने अनुमान गर्नु बढि होला तर, कम्तिमा बिहारमा अहिलेभन्दा कम्युनिष्टहरु बलिया हुनसक्छन्।

बिहारको सत्ता राजनीतिलाई प्रभाव पार्नेगरी कन्हैया उदाउन सक्छन्। अनि, यो चुनाव जितेनन् भने? त्यसो हुँदा पनि बेगुसरायमा उनी बलियो दोश्रो हुने निश्चित छ। उनले त्यहाको युवा पुस्तासम्म रातो झण्डा पुर्‍याएका छन्। उनको  अपिल कम्तीमा बिहारभरी प्रत्यक्ष पुग्ने अवस्था बनेको छ। त्यस हिसाबले बिहारको भावी राजनीतिमा उनी बिर्सिन नमिल्ने पात्र बन्ने निश्चित छ। 

प्रकाशित मिति: : 2019-05-03 08:16:50

प्रतिकृया दिनुहोस्