२०२४ सालमा एउटा दुर्गम गाउँमा मेरो जन्म भयो। घरमा पाँच माइतीकी एक मात्र चेली थिएँ म। त्यसैले नाम नै मेरो पञ्चकन्या राखिएको थियो।
२०३६ सालमा १२ वर्षकी थिएँ, गाउँकै रहनसहनमा झ्याइँझ्याइँ पञ्चेबाजा बजाएर जन्मघरबाट कर्म घरका लागि अन्माइएँ। श्रीमान् भने मभन्दा १४ वर्ष जेठा थिए। उमेर धेरै फरक भएर होला, मलाई उनीसँग बोल्न पनि डर लाग्थ्यो र म बेलाबेला भागेर माइतिघर जाने गर्थे। बिहे भएको ७ बर्षसम्म पनि हाम्रो सन्तान भएन।
गाउँघरमा, आफन्तमा मलाई बाँझी भन्न थाले।श्रीमानले पनि कान्छी भित्र्याए। सौता घरमा पसेपछि सहन नसकेर म पनि माइतिघरमै बस्न थाले।
आमा र बाबासँग अरु केटासँग बिहेको कुरा चल्न थाल्यो।त्यही क्रममा सानी काकीले एउटा केटो हेरेर मलाई उसैको जिम्मा लगाई दिनुभयो।
यो कुरा थाहा पाएर पहिलो श्रीमान र उनका आफन्त आएर मेरो पहिलो बिहेमा लागेको बिहे खर्च र ७ बर्षसम्म म उनको घरमा बसेको सम्पूर्ण खर्च उठाए जारीस्वरुप।
समाजले पनि मलाई एक नयाँ नाम 'जारीकी जोई' भनेर चिन्न थाल्यो। गाउँमा मैले पकाएको खाना अशुभ हुन थाल्यो। बिहे भएको एक बर्षपछि पहिलो सन्तानका रूपमा छोरी जन्मिन्। छोरी जन्मी भनेर सासु-ससुरा दु:खी थिए।फेरि साँढे एक बर्षको फरकमा तीन छोरी जन्मे।
त्यसपछि चेकजाँच गराउँदै छोरी गर्भमा रहेको थाहा पाउने बित्तिकै औषधि सेवन गरेर तीन छोरीको भ्रुण मारेर उनीहरूको रगतको गामुन लिएर घर आएँ।
आमाको अर्थ बुझेर पनि एउटा रितो काख दिन नसकेर मेरी छोरीहरूको हत्याजस्तो अपराधमा सरिक भएकी आमा भएँ म।
छ छोरीपछि एउटा छोरो जन्मियो।गाउँघरमा खुशी हर्सोउल्लास फैलियो। बढा बसाल्ने, बाजासहित ७ दिनसम्म नाँचगान, देउडा गीत र अबिरजात्राले घरमा छोराको स्वागत गरियो।
तर भाग्यको खेल न हो! ११ दिनमै छोराले यो संसार छोडेर गयो। फेरि छोरा जन्माउने आशमा गर्भमा आएका दुई छोरी औषधि सेवन गरेर भ्रुणअवस्थामै मारेँ। बिचरा भ्रुणभित्र फुल्दै गरेकी छोरीहरूको के दोष थियो र ? म यति निर्दयी र हत्यारा बन्न सके।
पछि मेरो पाठेघरले बच्चा राख्न नसक्ने भयो।मेरो कोखबाट बच्चा नजन्मिने भयो।तर, मेरो श्रीमानमा छोरो जन्माउने रहर मरेन। घरमा सासु र ससुराले छोराको लागि अर्की केटी हेर्न थाले। श्रीमानले कान्छी श्रीमती घरमा ल्याएर आए।
यो घटनाले म र मेरो जेठी छोरीलाई मर्म चोट पुर्यायो। त्यसपछि घरमा दिनदिनै झैंझगडा हुन थाल्यो। छोरीहरुको पढाइ पनि खस्किदै गयो।
सौता पनि सुत्केरी भइन्। भाग्य न हो उसको कोखबाट पनि छोरी नै जन्मिई। त्यसपछि घरमा झन् झगडा हुन थाल्यो। जेठी छोरिले बिहे गरिन्। उनलाई पनि घरमा पनि अपुत्र्याकी छोरी भनेर गाली गर्न थाले र समाजले पनि उनलाई राम्रो मानेन।
जेठी छोरीले आफ्नो श्रीमान् लिएर छिमेकी राष्ट्र भारत जाने निर्णय सुनाइन्। म पनि घरमा सानि छोरी जिम्मा लगाएर छोरी ज्वाँईसँग भारतैतिरै कामकाज गरेर जीवन बिताइरहेकी छु।
अहिले पनि पेटमा मारिएका ती अवोध नानीहरुलाई सम्झन्छु।उनीहरुको चित्कार कानमा गुञ्जिरहेजस्तो लाग्छ। भक्कानिन मन लाग्छ।आफुले उनीहरूलाई मारेर पनि त सुख पाइँन। त्यसैको पाप लागेजस्तो पनि लाग्छ।
एकान्तमा आफैंलाई प्रश्न गर्छु- छोरीहरु किन यति सस्तो? बजारमा राखिएको सस्तो मालजस्तो। सँधै मोलमोलाई गरिने।गर्भाधानको पहिलो प्रहरबाट मरुन्जेल र मरिसकेपछिको काजकिरियासम्म कुनै मोल नभएजस्तो सस्तो।
मैले सुनेकी थिएँ- विज्ञानले छोरी जन्मनुमा श्रीमतीको भन्दा श्रीमानको कमजोरी बढी हुन्छ भन्ने पत्ता लगाएको छ रे।तर, पनि महिलालाई मात्र किन दोषको भारी बोकाइन्छ ?