रूखो सुखो जे भए पनि हाँसी-खुशीसाथ जीवन चलिरहेकै थियो।धनको सुखी नभए पनि मनको सुखी थियो- हाम्रो परिवार।
बिहान भएपछि दाइ र मेरो बाबा हाम्रै घरपारिको बारिमा ढुङ्गा निकाल्न जानु हुन्थ्यो।ढुङ्गा बेचेर ल्याएको पैसाले घरपरिवार चलिरहेको थियो।त्याेभन्दा ठुलाे सपना पनि थिएन।
स्वदेशमै काम गरेर खुशी हुनुपर्छ भन्ने मेरो दाइको स्वच्छ विचार थियो।काम सानाे ठुलाे नमान्ने पवित्र मन थियाे। त्यसबाट राम्राे आम्दानी भएकाे देखेर ढुङ्गा भएको जमिन मेरो हो भनी छिमेकी एकजना झगडा गर्न आइरहन्थे।
उनै छिमेकी पछि माओवादी पार्टीमा गए।मेरो बाबा र दाइलाई आर्मीको सुराकी भनेर तीन चारपटक अपहरण गरी कुटाए। एक दिन राति १२-१३ जना माओवादी घरमा आएर दाइ र बाबालाई अपहरण गरेर लगे। घरमा रूवाबासी चल्यो। कसैलाई भनिस् भने तेरो छोरा र श्रीमानलाई मारिदिन्छु भनेको कारण आमा रोएर दाइ र बाबा आउँने बाटो कुरिरहनु भयो।
दिदी र म सानै थियौ।म स्कुलबाट घर आउँदा जहिले पनि 'बाबा र दाइ आउँनु भयो आमा?' भनेर सोध्थें। तर, आमाको उत्तर भने एउटै हुन्थ्यो- ' भाेलि आउँनु हुन्छ, तँलाई नयाँ कपडा लिएर।' उत्तर यस्तो भए पनि उहाँ घरभित्र गएर रूनु हुन्थ्यो।
अपहरणको १५ दिनपछि गाउँमा बाबु-छोरा पुलबाट हाम्फालेर मरे भन्ने हल्ला फैलियो। आमालाई छिमेकीले भनेछन्- 'अपराधी भनेर कालोमोसो लगाएर नाङ्गै ३,४ गाउँ घुमाउने भन्ने कुरा सुनेर त्योभन्दा मर्नु ठीक भनेर तिम्रो बुढा र छोराले चर्पी जाने बहानामा एकैसाथ रारालिहीको पुलबाट हाम्फालेर मरेछन्।'
यो खबरले मेरी सोझी आमा दाँत बाँधेर बेहोस हुनु भयो।गाउँका सबै मानिस जम्मा भएर लासै देख्न नपाई दाइ र बाबाको बिदाई गरियो।दिदी पढाइ छोडेर गाउँमा गाई चराउन थाल्नु भयो।
बिना कारण मेरो आमाको सिन्दुर पुछियो। हाम्रा लागि बाबाको न्यानो काख लुटियो।
देशमा शान्ति आयो। नयाँ सरकार बन्यो। त्यो सरकारमा मेरो दाइ र बाबाको हत्यारा पनि सामेल छन्।
उनीहरु सबै सामेल भएकाे सरकारले मेरो घरको पीडा झन् बढिरहेको छ।पुरानाे घाउ बल्झिरहेकाे छ। त्यो सिंहदरवारभित्र मेराे घरकाे पीडा सुनुवाई हुनेवाला छैन।
मेरो निर्दोष बाबा र दाइको हत्यारा खोइ ? मेरो बाबा र दाईको आत्माले शान्ति पाउँने कि नपाउँने ? पाउँने हाे भने कहिले पाउँने ? नपाउँने हाे भने किन नपाउँने? मेरो मनमा यिनै प्रश्नहरूको ज्वारभाटा चलिरहन्छ।
कहिलेकाहीँ आफैलाई प्रश्न गर्छु- के म खुलेआम छाति फुलाएर हिडिरहेका मेरा बाबा र दाइको हत्यारालाई गोली ठाेक्न पाउँछु ? मेरो आमाको काख र सिन्दुर शत्रुकै रगतले भर्न पाउँछु ?
मलाई थाहा छ- मैले त्यसो गर्न पाउँदिन।किनकि, ममाथि कानुन लाग्छ।अनि आफैलाई प्रश्न गर्छु- के गरिब, निर्दाेष, निमुखालाई बन्दी बनाउँन मात्र यो देशमा नियम कानुन बनेका हुन् ? मलाई थाहा छ त्यो पनि हैन, कानुन सबैका लागि बराबर हो। तर, व्यवहारमा त्यस्तो छैन ।