बिक्रम सम्बतको २०७५ सकिएर २०७६ आउँनै लागेको छ।यसको उल्टो गणनाक्रम सुरू भैसक्दा अब हामीसँग हातका औलामा गन्न सकिने केही दिन र घण्टा मात्र बाँकि छन्।सामाजिक सञ्जालका भित्ताहरूमा त नया वर्षे शुभकामना छ्याप्छ्याप्ति भएको धेरै भैसक्यो।अब लगभग अरू नहुने स्थिति मात्र हो।
अमेरिकाको नेपाली डायस्पोरा पनि बिक्रम सम्बतको नयाँ वर्षको चहलपहल छ। नेपालीको बाक्लो बस्ती भएका सहरमा विभिन्न नामका नयाँ वर्ष साँंझ आयोजना गरिएका छन्। न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, नर्थ क्यारोलइनालगायतका राज्यका नाम चलेका सहरमा अक्सर केही साँझको आयोजना गरेर रमझमका साथ नयाँ वर्ष मनाउने चलन छ।
यो चलनको निर्वाह गर्दै नयाँ वर्ष मनाउँन यो सप्ताहान्त अमेरिकाको नेपाली डायस्पोरामा भ्याइ नभ्याइ छ।अमेरिकामा भएका नेपाली इन्टरटेनर बुक भैसकेका छन्, नेपालबाट केही थान स्टार इन्टरटेनर पनि ल्याइएका छन्। उनीहरूको नाममा छापिएका टिकट बिक्रीमा छन्। सानातिना व्यवसाय चलाएका नेपालीलाई प्रायोजक बन्न दबाब छ।सर्वसाधारणलाई टिकट किन्न सिधै नाइ भन्न नसक्ने अप्ठ्यारो छ। आयोजकहरूलाई कसरी टिकट सक्ने र कार्यक्रमलाई नाफामा पुर्याउने होला भन्ने चिन्ता छ।
जे भए पनि नयाँ वर्ष मनाउँन अमेरिकाका नेपाली आतुर छन्।यो वा त्यो नाममा कम्तिमा पहिलो पुस्ताका आम नेपालीले यो मौकालाई खुशी हुने र साटन् अवसरकै रूपमा लिएका छन्।
समयअनुसार नयाँ वर्ष मनाउने तरिकामा फरक आएको छ। अहिले गाना, बजाना, नाँच नचाना, कविता बाचना, प्रहसना, खाना पिना, शुभकामना आदानप्रदाना अनि फोटो खिचना र फेसबुकमा राखना। त्यसपछि लाइक र कमेन्टको आदानप्रदाना। यसरी नै नयाँ वर्ष मनाइन्छ। अघिल्ला खाले कर्म त पहिला पनि हुन्थे खालि बान्की मात्र फरक हुन्थ्यो। तर, पछिल्लो समय सामाजिक सञ्जाल प्रयोजन हाबी भएको छ। दिमाखमा इन्स्टाको फोटोभन्दा पनि फेसबुकको फोटो परेको छ। त्यही फोटो चाहना ड्राइभिङ सिटमा बस्दा नयाँ लुगाफाटाको जोहोदेखि यस्ता कार्यक्रममा सहभागी हुने मार्केटिङ फ्याक्टर पनि हावी भएको छ।
पत्रकार विजयकुमार यो युगलाई वैश्य युग भन्छन्। उनकै शव्द पैचो लिदा यो युगमा सबै कुरा देखाउन नै गर्न थालिएको छ। भनाइ नै छ- जो दिख्ता है, वही विक्ता है।जे जसरी भए पनि रमाउँने मानिसको नैसर्गिक अधिकार हो। जो जसरी रमाउँछ, उसलाई त्यसरी नै रमाउँन दिनुपर्छ। अरू तपसिलका कुरा भए पनि नयाँ वर्ष एउटा रमाउँने वहाना भएको छ।म पनि खुशी नै छु है भनेर मुखमा बत्तिसी हिमाल उघार्ने मौका भएको छ। यति हुँदा पनि अमेरिकाको दबाबलाई झेल्ने ऊर्जा मिल्छ जो आफैंमा डिप्रेसनमा जानबाट जोगाउँने अर्गानिक उपाय पनि हो।
नेपालमा बिक्रम सम्बतको नयाँ वर्षको आफ्नै मान्यता र प्रयोजन छ। किनकि त्यहाँ डे हैन बार चल्छ, डेट हैन मिति चल्छ, जनवरी हैन वैशाख चल्छ। चाहेर, नचाहेर पनि त्यहाँ बिक्रम सम्बतको बर्ष नयाँ हुन्छ, पुरानाे हुन्छ। योसँगै पात्रो फेरिन्छ। यस अर्थमा घरदेशमा यसको आफ्नै सनातनी छ, महत्व र उपालेयता पनि छ।
तर, परदेशमा अझ त्यसमा पनि अमेरिकामा यसको अर्थ र उपादेयताका बारेमा सोच्दा एकसाथ दिमाखमा अनेक बत्तीहरू जल्न थाल्छन्। वास्तवमा भन्ने हो भने यो नयाँ वर्षले यहाँ केही फरक पार्दैन। अझै पनि धेरैलाई दशै तिहार कहिले पर्छ? विवाहको लगन कहिले छ ? यी दुई कुराले विक्रम सम्बतको थोरै भए पनि अर्थ हुन्छ कि ? त्योभन्दा बढी साँचो मानेमा त्यति यसको अर्थ र उपादेयता पनि नहोला।
अमेरिकामा रहेको पहिलो पुस्तामै यस्तो छ भने दोस्रो पुस्ताको त कुरै छोडौं। यो पुस्ताले नेपाली बोल्दैन, बुझ्दैन, पढ्दैन। देवनागरी लिपि चिन्दैन, लेख्ने त टाढाको कुरा हो।उसका लागि ईश्वी सन् बाहेक अर्को सम्बत हुदैन। उसको जीवनमा डेट हुन्छ, मिति हुदैन। जब मिति हुदैन तब न बिक्रम सम्बत हुन्छ न वैशाख १ गते। जब उसको जीवनको शव्दकोशमा वैशाख १ नै हुदैन, तब उसको जीवनमा बिक्रम सम्बतको नयाँ वर्ष नै हुदैन।
यो यथार्थ हो तर हाम्रो समाज दोहोरो मानकमा बाँच्छ। त्यसैले यो सत्यलाई स्वीकार गर्दैन। खासगरी समाजका अगुवा भन्नेहरूले नै आफूलाई स्मार्ट देखाउन त्यसो भन्ने गरेको सुनिन्छ।'मेरो बाबु नेपाली पढ्छ, मेरी नानीलाई त लेख्न पनि आउँछ' सामाजिक जमघटमा यसो भन्ने गरेको सुनिन्छ।होला केहीलाई आउला पनि तर त्यो उसको रूचिले भएको छ वा बाबुआमाको कहरले भएको छ ? त्यो उसका आवश्यकताले भएको छ वा बाबुआमाको सामाजिक प्रतिष्ठा रादिखिन बाध्यताले भएको छ ? विचारणीय पक्ष चाँहि यतातिर हो।
हामी नेपालको भूगोलबाट ग्लोबल हुने क्रममा अमेरिकामा छौं।आमा बाबुको ठाउँमा धेरै त उतैबाट ममी ड्याडी भएर आएका छौं। जब हामी आमा बाबुबाट ममी ड्याडीमा पुग्छौं, त्यही दिनदेखि वैशाखबाट जनवरीतिर पाइतो सरेका हौं । ढिलो- चाँडोको कुरा मात्र हो, कसैले स्वीकार गर्ला यो सत्य कसैले अस्वीकार गर्ला - त्यो ब्यक्तिको निजी कुरा हो।
नयाँ वर्ष २०७६ को शुभकामना लेखिरहेको थिएँ, छेउमा छोरो आएर सोध्यो- बाबा यो तपाईको न्यु इयर चाहिँ किन अप्रिलमा आउँछ ? इयर सुरू भएर फोर्थ महिना भैसक्यो, न्यु इयर भनेर बाबा किन झुटो बोलेको ?
छोराको कुराले मेरो बोल्ती नै बन्द भयो, मैले केही बोल्न सकिन। मैले भनें सरी बाबु, म अब झुट बोल्दिन।
मेरी बूढी आमा भन्ने गर्छिन्-
मेरी बूढी आमा भन्ने गर्छिन्- 'काइला, फूलले हान्यो भन्दैनन् फूल चढायो भन्छन्। त्यसैले फूलमा ढुंगा राखेर चढाउनु, जसलाई हान्नुपर्ने हो उसलाई ढुंगाले दुख्छ, देख्नेले त फूल चढायो नै भन्ने हुन्।'
नयाँ वर्ष २०७६ को शुभकामना दिन मैले आमाको त्यही भनाइ शिरोधार्य गरें।यसपटक फूलमा ढुंगा राखेर मैले आफैलाई नयाँ वर्ष २०७६ को शुभकामना चढाएँ। अरू कसैलाई चढ्यो भने त्यो संजोग मात्र हो।
सबैलाई जन्मेको ठाउँ मिल्दैन, देश त पासपोर्टको लागि हो जसलाई पनि मिल्छ।२०७६ सुभ्य, फाव्य होस् - दुबै खाले सबैलाई शुभकामना ।