अमेरिकामा छोराको कर्तुत, निधन भसकेका बाबुको बदनाम

तस्बिर: बीएल

पुर्व प्रधानन्याधिसको छोरा अमेरिकामा पक्राउ'- अप्रिल ९, २०१९ मा यो शीर्षकमा समाचार छापियो एक अनलाइनमा। समाचार सन्तोष गिरीसँग सम्बन्धित थियो तर त्यसको शीर्षकमा भने उनका निधन भैसकेका बाबु तानिएका थिए। मानौ उनी फेरि सशरीर बाँचेर आए अनि भने छोरा 'तँ यो बदमासी गर'। 

समाचारमा भनिएका पुर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरी थिए। सन् २००७ अक्टोबर ५ देखि मे ७ २००९ सम्म प्रधानन्यायाधीश रहेका गिरी नेपालका १८औं प्रधानन्यायाधीश थिए। उनको सन् २०१८ को नोभेम्बर २३ मा काठमाडौंमा मृत्यु भएको थियो। 

उनै मृत्यु भैसकेका पूर्वप्रधानन्यायाधीश गिरी अमेरिकाबाट सम्प्रेषित एभरेष्ट टाइम्समा समाचार बनेर छापिए यसपटक।

समाचारमा भनिएको छ- 'क्यालिफोर्नियामा कन्सलटेन्सी र्फम सञ्चालन गदै आएका सन्तोष गिरी र दुई भारतीय मुलका नागरिकलाई नामोसिमेन्टीक नामक कन्सल्टेन्सीमार्फत् कामदारसम्बन्धी ( आइवान टवान्टीनाइन ) को नक्कली इमिग्रेसन पिटिसन गरेको आरोपमा पक्राउमा परी हाल धरौटीमा रिहा भएका छन।'

त्यसपछि भनिएको छ- '४२ बषीर्य सन्तोष गिरी नेपालको पुर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन्।'
यो समाचारका सबै तथ्यहरू सत्य हुन्। सन्तोष केदारप्रसाद गिरीकै छोरा हुन्। उनी पक्राउ परेका हुन् र छुटेका पनि हुन्। 

यो समाचार यसपटक एभरेष्ट टाइम्समा आयो । यो समाचार गलत आयो भन्ने आशय हैन। किनकि यस्तो समाचार छाप्ने नेपाली पत्रकारिताको पुरानै चलन हो, एभरेष्ट टाइम्स पहिलो हैन। यस्ता उदाहरण नेपाली पत्रकाितामा अनगिन्ती पाइन्छन् जस्तो कि प्रकाश दाहाल बाँच्दा उनका हरेक समाचारमा प्रचण्डका छोरो भनेर समाचार बनाइन्थ्यो। आज पनि प्रकाशमान सिंहलाई गणेशमान पुत्र, शशांक कोइरालालाई वीपी पुत्र भनेर नै समाचार बनाइन्छ। 

तर, पत्रकारिताको आचारसंहिताको कुरा गर्ने हो भने यो सही तरिका हैन। 

पत्रकार आचारसंहितामा पत्रकारले गर्नै नहुने १५ वटा कुरा सूचीकृत छन्। त्यसको पाँचौ क्रममा लेखिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले कुनै घटनासँग सम्बन्धित समाचार प्रकाशन–प्रसारण गर्दा घटनासँग सम्बन्ध नभएका नातेदार वा नजीकका व्यक्तिको नाम असान्दर्भिक रूपमा जोडी कसैको मर्यादामा आँच पुग्ने वा चरित्रहत्या हुने गरी कुनै पनि सामग्री प्रस्तुत गर्नुहुँदैन।' 

माथिको समाचारले गर्नै नहुने यही आचारसंहिता उलंघन गरेको छ। अर्थात् सन्तोष गिरीले गरेको अपराधमा उनका स्वर्गवासी बाबुको कुनै भूमिका छैन र यसमा उनको नाम जोड्नुपर्ने केही कारण पनि छैन। तर, पनि जोडिएको छ। यसको अर्थ स्वर्गबासी केदार गिरीको अपमान गर्ने लक्ष्य मिडियाको हो भन्ने हैन, उसले त नेपाली पत्रकारितामा चलनचल्तीमा रहेको एउटा सनातनी परम्परा थेगेको मात्र हो। त्यो के भने समाचारलाई कसरी बढीभन्दा बढी महत्वपूर्ण बनाउने/ कसरी शीर्षक बिकाउ बनाउँने ? भन्ने नै हो। त्यही क्रममा यसो भएको हुनुपर्छ। यस अतिरिक्त प्रधानन्यायाधीशकै छोरा अपराधकमर्मा भन्दा कन्ट्राडिक्सनको सिद्धान्त पनि यसमा आकृष्ट भएर शीर्षक वजनदार बन्ने लागेको पनि हुनसक्छ। पत्रकारितामा शीर्षक लेख्ने केही प्रचलित तरिकामध्ये एउटा यो पनि हो, त्यही अर्थमा पनि समाचारको शीर्षक यस्तो बनेको हुनुपर्छ। 

पत्रकारितामा शीर्षक बनाउने केही स्थापित तरिका छन्। समाचार विवरण (बडी) बाट सार इन्ट्रो निकालिन्छ र इन्ट्रोको पनि सार शीर्षक हुन्छ। यसमा किस (KISS) सिद्धान्त लागु हुन्छ अर्थात् किप इट सर्ट एण्ड सिम्पल (Keep It Short & Simple)।यसरी हेर्दा पनि यो शीर्षक सही किसिमले छनौट भयो भन्न सकिन्न। समाचारको शीर्षक इन्ट्रोबाट हैन दोस्रो अनुच्छेदको बडीबाट तानिएको छ। 

हुन त हिजोआज पत्रकारिता पढेर गर्ने कुरा पनि कहाँ रह्यो र ? सञ्चारकर्मलाई नै पत्रकारिता भन्न थालियो र अपत्रकारहरूले पत्रकारिता सिकाउँने दिन आयो। कसैले सिद्धान्तको कुरा गर्यो कि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुने दिन आयो। जान्नेभन्दा नजान्नेको संख्या बढी भएपछि उनीहरूको हुलले जे भन्छ त्यही नै सिद्धान्त बन्ने अवस्था छ अहिले। अर्थात् अहिले मिडिया सेन्ट्रिक हैन, सोसाइटी सेन्ट्रिक मिडिया चफेको छ।अर्थात् पत्रकारिता समाजले जे भन्छ, त्यही गर्न थालेको छ। उसको केन्द्रीय भूमिका दिनानुदिन स्खलित हुदैछ। त्यसमा पनि अमेरिकामा अभ्यास गरिदै आएको नेपाली डायस्परिक पत्रकारिताको त कुरै नगरौं।

यो त भयो पत्रकारिताको कुरा। यो संगै अर्को पाटो पनि छ समाचारको । त्यो हो हाम्रो समाजमा सार्वजनिक व्यक्तित्व भएका सन्तानहरूको दोहोरो जिम्मेवारी हुन्छ। एक त उनीहरू आफूप्रति पनि जिम्मेवार हुन्छन्, सँगसँगै उनीहरू सार्वजनिक व्यक्तित्व भएका आफ्ना अग्रजप्रति पनि जिम्मेवार हुनुपर्छ। यसका अर्थ अरू सर्वसाधारणलाई चाँहि त्यो लागु हुदैन भन्ने हैन।

यही समाचारको सन्दर्भमा कुरा गरौं । शायद सन्तोष गिरी पूर्वप्रधानन्यायाधीश गिरीका छोरा नभएको भए यो समाचार पनि बन्दैनथ्यो होला। यदि उनी सामान्य केदारप्रसाद गिरीका छोरा भए समाचारको शीर्षक 'केदारप्रसाद गिरीका छोरा अमेरिकामा पक्राउ' हुन सक्थ्यो, त्यस्तो शीर्षक राखेर त समाचार नै बन्दैनथ्यो। 

हुन त यो घटनामा पूर्वप्रधानन्यायाधीश गिरीको कुनै सम्बन्ध छैन। त्यसैले उनी यहाँ तानिनु हुदैनथ्यो। यो एउटा पक्ष भयो तर सँगसँगै पूर्वप्रधानन्यायाधीशका छोरा सन्तोषले त्यस्तो कर्म गर्नुभन्दा अगाडि सोच्नुपर्थ्यो, 'म त पूर्वप्रधानन्यायाधीश गिरीको छोरा पनि हुँ, मैले केही नराम्रो गरे भने त मेरा स्वर्गवासी पिताको पनि बेइज्जत हुन्छ।' तर उनले त्यस्तो सोचेनन् र पितालाई आफ्नो नराम्रो कर्मको भारी बोकाए।

मेरी बुढी आमा भन्छिन्- 'काइँला, साइनो भनेको न काट्न मिल्छ, न साट्न मिल्छ। त्यसैले कुनै काम गर्दा त्यसमा आफ्ना बाबुआमाको नाम पनि जाेडिएर आउँछ भन्ने सधैं हेक्का राख्नु है।'

जब मैले सन्तोष गिरीको समाचारमा उनका स्वर्गबासी बाबुको नाम तानिएर बदनाम भएको समाचार देखें, मलाई मेरी आमाको त्यो दिव्यवाणीको याद आयो। हुन पनि हो, केदार गिरीले न सन्तोष गिरीसँगको साइनो न काट्न न साट्न सक्छन्। 
मनमनै भनें- विचरा केदार गिरी, सन्तोष गिरीको बाबु हुनु नै उनको अपराध भयो। मरेर गए तैपनि त्यही साइनोको कारण राम्रो प्रसंगमा हैन, नराम्रो प्रसंगमा समाचार बन्नुपर्ने नियति भने बाँचिरहे। 

समाचारका लागि यो लिंकमा  पुर्व प्रधान न्यायाधीशका छोरा अमेरिकामा पक्राउ  क्लिक गर्नुहोला । 

(यो एभरेष्ट टाइम्सप्रतिको सम्मान हो। उसले नयाँ र नियोजित काम गरेको हैन, नेपाली पत्रकारिताको सनातनी परम्परा मात्र थामेको हो। पत्रकारिताको एक विद्यार्थी हुनुको नाता सबै पत्रकारप्रति सम्मान व्यक्त गर्दै यसो नगरे कसो होला मात्र भन्न खोजेको हो।- लेखक)

प्रकाशित मिति: : 2019-04-10 18:31:38

प्रतिकृया दिनुहोस्