हामी नौ कक्षाको वार्षिक परीक्षा सकिनेबेला देशमा राजाको प्रत्यक्ष शासन थियो।त्यसैको विरुद्धमा तत्कालिन सात राजनैतिक दल आन्दोलनमा थिए। उनीहरुले प्रजातन्त्रको पक्ष र निरंकुशताविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका थिए। माओवादीले जनयुद्ध कायमै राखेको थियो। सर्वसाधारण अन्यौलमै थिए। देश कतातिर जाँदैछ भनेर। हामी भने विद्यालयस्तरीय परीक्षाको तयारीमै व्यस्त थियौ।हामीले राजनीतिलाई बुझेका थिएनौ। त्यसैले कुनै चासो पनि थिएन।रेडियोमा आउने दिनहुँका समाचारमा नेपाली सेनाको कारवाहीमा माओवादीको मृत्यु र आन्दोलनमा प्रहरीको हस्तक्षेप यस्तै यस्तै विषयले स्थान ओगट्ने गरेका थिए ।
२०४६ सालको जनआन्दोलनका बारेमा कक्षा ९ को सामाजिक शिक्षामा पढेको हुनाले थोरै जानकारी भएपनि अहिले देशमा केका लागि आन्दोलन भएको छ भन्नेबारेमा हामीलाई केही थाहा थिएन।हाम्रो पढाइ कक्षामा औसत थियो। त्यसैले कहिलेकाहीँ पढाउने शिक्षकसँग सोध्ने गर्थ्यौ तर सरबाट पनि प्रस्ट जवाफ आउदैनथ्यो।
२०६२ सालको मंसिर ५ गते तत्कालिन माओवादी र आन्दोलनरत् सात राजनैतिक दलबीच भारतको राजधानी नयाँदिल्लीमा १२ बुँदे समझदारी भयो। हतियार उठाएको शक्ति र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनैतिक दल निरंकुश राजतन्त्रका विरुद्धमा संयुक्तरूपमा आन्दोलन गर्ने भए।जुम्लामा पनि आन्दोलनका गतिविधि दिन प्रतिदिन बढ्न थाले।
जुम्ला सदरमुकाममा राजनीतिक दलले आन्दोलनका कार्यक्रम गरिरहे पनि आन्दोलन जनस्तरमा पुगेको थिएन। गाउँगाउँबाट जनता स्वतस्फूर्तरुपमा आउँन तयार भैसकेका थिएनन्।सर्वसाधारणमा आन्दोलनको भय कायमै थियो। २०४६ सालको जनआन्दोलनको बारेमा थोरै पढेकाले हामीलाई भने देश र जनताका लागि आन्दोलनमा सहभागी हुनुपर्छ भन्ने लाग्दै थियो।
संयोगले त्यही वर्ष देशमा दोस्रो जनआन्दोलन चलिरहेको थियो। हामी भने उत्साहका साथ आन्दोलनमा जान्थ्यौं जुलुसको पछाडि लाग्न। जब जुलुसमा सिटी धेरै बज्थ्यो तब प्रहरी र सेना एकदम अलर्ट भैहाल्थे अनी हामीलाई लाग्थ्यो अब गोली चल्न सक्छ। त्यसपछि हामी डराउदै पछाडि सरेर भागी हाल्थ्यौ। हामीले दिनहु प्रहरीको गोली लागेर घाइते भएका समाचार रेडियोमा सुनेका थियौं। त्यसैको प्रभाव थियो यो।
अनिश्चितकालिन आन्दोलन सुरु
२०६२ सालको चैत्त २४ देखि २६ गतेसम्म ७ राजनैतिक दलहरुले देशव्यापि आन्दोलन गर्ने घोषणा गरे।त्यही बिचमा आन्दोलनकारी दल र सरकारको ठीक विपरित खालका वक्तव्य आउँने गर्थे। दलहरुले लाखौको संख्यामा जनतालाई सडकमा उतार्ने र सरकारले बल प्रयोग गरे उत्पन्न परिस्थितिको जिम्मेवार सरकार नै हुनेछ भनेर वक्तव्य निकाल्थे भने त्यही समयमा सरकारले कर्फ्यु लगाउने र कर्फ्यु आदेश उल्लघंन गरेमा कारबाही गर्ने वक्तव्य निकाल्थ्यो। सर्वसाधारण भने दुवैका वक्तव्य सुनेर के गर्ने के नगर्ने दोधारमा पर्थे।
आन्दोलनको आयोजक सात दल भए पनि माओवादीले गाउँबाट जनतालाई आन्दनेलनमा सहभागी हुन दवाव दिन्थे। सात राजनैतिक दलका नेता कार्यकर्ताले पनि आन्दोलनमा सहभागी नहुनेलेलाई राजावादीको विल्ला भिराइदिन्थे। संकटकालमा दलविहीन भएको गाउँमा जनआन्दोलनले पुन: आम मान्छेलाई विभिन्न दलमा विभाजित गर्यो।
संकटकालको समयमा यस्तो लाग्थ्यो कि अब सबै मान्छे माओवादीकै पक्षमा छन्।माओवादीले पनि जनमत हाम्रो पक्षमा छ। देशको ८० प्रतिशत भूभागमा हामीले जनसरकार सञ्चालन गरेका छौं भन्थे।अर्कोतर्फ प्रशासन र सेनाले पनि ग्रामीण भेगमा बस्ने सबैलाई माओवादी नै सम्झन्थ्यो।तर, जब आन्दोलन सुरु भयो त्यसपछि सबै आफ्नो दलमा क्रियाशील हुन थाले।त्यसपछि हामीलाई लाग्यो सरकार र माओवादी दुबै पक्षको आंकलन गलत रहेछ। देशमा माओवादीभन्दा बढी अरु नै रहेछन्।
२०६२ चैत्र २४ गते बिहानै ७ दलका कार्यकर्ता र माओवादी कार्यकर्ताले आन्दोलनमा सबैजना अनिवार्य सहभागी हुन आदेश दिए।सर्वसाधारणले मनभरी डरको भारी बोकी जुम्ला सदरमुकाम खलंगाको यात्रा तय गरिरहेका थिए, त्यही हुलमा आन्दोलनमा सहभागी हुन थोरै डर र धेरै रहर बोकी म पनि आएको थिएँ।
संकटकाल जारी रहेको कारण जुम्ला बजार छिर्ने जुम्लाका चारै (पुर्वमा दानसाँगु, पश्चिममा महतगाउँ, उत्तरमा कोटेसाँगु र दक्षिणमा तिला नदीको झोलुङ्गे पुल) दिशामा सुरक्षा व्यवस्था कडा गर्न बाटोमा काँडेतार बिछ्याएर अस्थायी ढोका बनाइएको थियो।सेना र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएको हुन्थ्यो।त्यहाँ पुग्दा हरेक सर्वसाधारणले सेना र प्रहरीको अनावश्यक केरकारको सामना गर्नुपर्थ्यो। हामी बिहानको ११ बजेतिर हालको ट्राफिक प्रहरीको कार्यालय नजिकै पुग्यौं।त्यहाँ नजिकै सुरक्षा चेकजाच हुदैथियो। हामीभन्दा अगाडि एक हुल मान्छे रोकिएका थिए।सेना र प्रहरीले तिनीहरुलाई बजार किन जाने? आन्दोलन गर्न हो कि माओवादी हो ? भनेर सोधिरहेका थिए।म भने 'विद्यार्थी हुँ, मेरो स्कुलको रिजल्ट आउँदैछ।रिजल्ट हेर्नलाई जान लागेको हुँ' भनेर रत्नचुडेश्वर मावि बोहोरागाउँको विद्यार्थी परिचयपत्र देखाएर निस्के।
जुम्ला बजार पुग्दा गाउँका सबै साथी मभन्दा अगाडि नै बजार पुगिसकेका रहेछन्। सबै साथीसँग भेट भयो। जिल्ला प्रहरी कार्यालय अगाडि आन्दोलनकारीको देउडा चलिरहेको थियो। त्यो दृश्य देख्दा लाग्यो, काम नपाएकाहरु गाउँगाउँबाट मान्छे जम्मा गरेर देउडा पो लगाएछन्।
पछि मात्र थाहा भयो, देउडाको मध्यमाबाट राजाको निरंकुश शासनको विरोध पो गरेका रहेछन् भनेर।त्यो दिनको देउडाले आन्दोलनलाई लिएर सर्वसाधारणको मनमा रहेको डर भगाई दियो।त्यसपछिका दिनको आन्दोलनमा सर्वसाधारण स्वतस्फुर्त रुपमा आउन थाले।चैत्र २४ गते देखि २६ गतेसम्म देशव्यापि आन्दोलन भयो।
गाविसको आलोपालो आन्दोलन
अनिश्चितकालिन आन्दोलन निरन्तर चल्यो।पछि जिल्लाको आन्दोलन परिचालन समितिले टाइम टेवुल बनायो जसअनुसार प्रत्येक दिन फरक फरक गाविसका जनता आन्दोलनमा सहभागी हुन थाले।एक दिन काम विशेषले बजार जाँदा सिंजा क्षेत्रका बुम्रमाडीचौर र मालिकावोता गाविसका जनता आन्दोलनमा सहभागी भएका थिए।त्यो दिनको आन्दोलनको नेतृत्व पनि त्यही क्षेत्रका नेताले गरिरहेका थिए।
आन्दोलनको कार्यक्रमअनुसार जुलुसले बजार परिक्रमा गरिसकेपछि आन्दोलन कोणसभामा परिणत भयो।कोणसभामा बोल्ने वक्ताले राजाको प्रत्यक्ष शासन धेरै दिन नटिक्ने ठोकुवा गरे।त्यही मञ्चबाट एकजना नेताले बोले उनको अनुहार खास याद छैन।पछि मेरो उनीसँग भेट पनि भएन। उनको नाम के हो ? उनी कुन पार्टीका नेता हुन्?, केही थाहा भएन।
उनको एउटा भनाइ भने आज पनि सम्झनामा छ।'यो नेपाल ३६ सालमा विग्रेको हो, ६३ बन्छ बन्छ' भने।उपस्थित सबैले ताली बजाए।सबैले ताली बजाएपछि मैले पनि बजाएँ।३६ र ६३ को अर्थचाहिँ मैले बुझिँन।उनले अर्थ्याए- '२०३६ सालमा नेपालमा जनमत संग्रह भयो।जनमत संग्रहमा बहुदल पक्षको बहुमत हुँदाहुँदै पनि हराइयो।परिणामत: देश सही दिसामा जान सकेन त्यतिबेला ३ र ६ एक आपसमा (पिठ्युँ ढल्काएर) विपरित दिशामा थिए।अव ६३ साल केही दिनमै शुरु हुदैछ।२७ बर्षसम्म विपरित दिशामा बसेका ३ र ६ आम्नेसाम्ने हुदैँछन्।यतिबेला नबनेको देश कहिले बन्ला ?' लामो ब्याख्यापछि सबैले फेरि ताली बजाए। मैले पनि मनमनै सोचेँ, 'ओहो यसले त ज्यामितिको साध्य प्रमाणित गरेजस्तैको गर्यो यार।' नभन्दै २०६३ सालमा आन्दोलन सकियो।राजाले घुँडा टेके।
राजाको घोषणा र फेरि आन्दोलन
२०६३ बैसाख८ गते हाम्रो गाउँका छिमेकी दाइको बिहे थियो।हामी बिहेमा जान तयार हुँदै थियौ।त्यतिबेला राति १० बज्न आँटेको थियो। नजिकै रेडियो बजिरहेको थियो।बीबीसी र नेपाली सेवाबाट समाचार आयो।श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मुलुकको नाममा शाही घोषणा। जनताको नासो जनतालाई फिर्ता गर्ने भन्ने मुख्य समाचार थियो।त्यसले हाम्रो ध्यान खिच्यो।
पूरा समाचार सुनेपछि अग्रज दाइहरुले आन्दोलनको जीत भयो राजाले हारे भने।बाँकि समाचारमा हाम्रो ध्यान गएन।बिहेमा सबैले आ-आफ्नै तरिकाले बीबीसीबाट प्रसारण भएको समाचारको ब्याख्या गरे र अर्थ लगाए। भोलिपल्ट रेडियो सुन्दा 'शाही घोषणा धोका हो' भनेर देशभरको आन्दोलन भएको समाचार बीबीसीले प्रसारण गर्यो। हामीले के भएको हो?, बुझ्न सकेनौं।२०६३ साल बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट संसदको पुनर्स्थापना गर्ने घोषणा भयो।त्यही दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाइन्छ।ती बीचका तीन दिन जनआन्दोलन उत्कर्षमा पुगेको थियो।
देशमा लोकतन्त्रको पुनर्वहालीपछि राजनीतिक दलले जनतालाई विभिन्न आश्वासन बाँड्न थाले। हामी पनि सुन्दर सपना देख्न थाल्यौ।राजा फालेपछि नेपाली जनताका सबै समस्या समाधान हुन्छन भन्ने भ्रम हामीमा थियो।
हिजोको एक राजाको ठाउँमा आज हजारौं राजा सत्तामा आएका छन्।देशमा तीन तहका सरकार सञ्चालनमा छन्। तीनवटै तहका सरकारले हिजो लोकतन्त्र ल्याउनमा सडकमा उत्रेका जनता बिर्सेका छन्।जनआन्दोलनका घाइतेको अवस्था नाजुक छ।जनआन्दोलनका शहीदलाई शहीद दिवशमा सम्झिने बाहेक उनीहरुले किन प्राण आहूति दिए भन्ने सबैले भुले। बाँकि केही हुन सकेन।
माओवादीले सञ्चालन गरेको जनयुद्ध, दिल्ली सम्झौता, बिस्तृत शान्ति सम्झौता।धर्म निरपेक्षता, संघीयता र गणतन्त्र सबै विदेशीको इशारामा भए भन्ने आइरहेको छ।देशको पछिल्लो अवस्था र तथ्यलाई हेर्दा यो सत्य हो कि जस्तो लाग्न थालेको छ।
राजाभन्दा कांग्रेस प्रगतिशील, कांग्रेसभन्दा माओवादी भन्ने थियो।आज उल्टो लाग्न थालेको छ। राजा र कांग्रेसले गर्न नसकेको राष्ट्रघाट कम्युनिष्ट ट्रेडमार्कबाट भैरहेको छ।शासकहरुले जनआन्दोलनको मर्म कहिल़ बुझ्ने?