दक्षिण कोरिया एक सपनाको देश।सपना देखाउँने देश।सपना साकार पार्ने देश।यसै देशमा धेरै युवा आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय बिताइरहेको छन्।
सामान्य परिवारमा जन्मिएको म र मजस्तै धेरै नेपाली युवाका लागि गतिलो गन्तव्य बनेको छ- कोरिया। अझ अल्लारे जवानसामु निकै राम्रो नजरमा परेको देश हो- दक्षिण कोरिया।
यहाँ व्यस्त कामको बाबजुद मिल्ने बिदामा थकान मेट्न सबैको आआफ्ना रूचि छ्न्।कोही नयाँ ठाउँ घुमी आनन्द लिन्छन्, कोही कोठामै सोजु (कोरिएन रक्सी)को साथमा दिन बिताउँछन्।
कोही रेस्टुरेन्ट, क्यासिनोमा हब त कोही खेलमैदानमा रमाउँछ्न्।भेटघाट, राजनीति,सामाजिक गतिविधि, मुभी हेर्ने, अध्ययन गर्ने, सबैको आ-आफ्नो तरिका छ- बिदा बिताउने।
ठीक त्यस्तै बिदा मनाउन म पनि सुवन रेलस्टेसनको बाह्र नम्बर गेटबाट निस्केर नजिकै रहेको नेपाली रेस्टुरेन्टमा चियाको चुस्की लिँदै जीवन जगत, देश दुनियाँ केलाउँदै आफैं अन्योल जीवन बिताइरहेका मजस्तै युवाको भलकुसारीमा मिसिएँ।
कोरियामा रोजगार भिसाबाहेक विद्यार्थी भिसामा आउने नेपालीको सख्या पनि बढ्दो छ।त्यस्तै सुवन र सोल वरपरका केही विद्यार्थी भौतिक बिज्ञान, ईन्जिनिएरिङ र कमर्समा मास्टर्स तथा विद्याबारिधि गर्दै देश र देश विकासको बारेमा गफिन तल्लिन देख्दा लाग्थ्यो खास हाम्रो देशका विश्वविद्यालय, प्रयोगशाला अनि चिया पसलमा यस्ता गफ हुँदा हुन त?
त्यहीं विकासको बहसमा देश फर्केर केही गर्ने र आशातित सपना भेट्ने आशामा चनाखो बन्दै थिएँ।
चियासँगै गफिदा साँझ परिसकेको थियो। डिनर खाने निर्णय गरियो।विद्यार्थी साथीहरू भेला भएकाले सोनसिक (कोरियामा रहेको बिद्यार्थीहरुको संस्था) बारे बहस नचल्ने कुरै भएन।
त्यतिकैमा एक कलिलो केटो हाम्रो अर्डर लिएर टेबलमा आए। अस्ट्रेलिया र युरोप पछि विद्यार्थीको उच्च शिक्षापढ्ने गन्तब्य बन्दै गरेको कोरियामा भर्खरका यी युवालाई देख्दा जो कोहीले पनि विद्यार्थी भनेर लख काट्छ्न्।
सामान्य भलाकुसारी चल्यो।औपचारिक केही संवाद सकिन नपाउँदै भाइले हँस्यौली शैलीमा कोरियामा भोगेका दुःख-कष्टको वेदना सुनाए।कलकलाउँदो उमेरमा बाहिर देशमा आएको सकस साँच्चै चोटिलो थियो।
हदैसम्मको तनाव देखेर तत्काल सँगै रहेका सोनसिकका साथीसामु प्रश्न तेर्साएँ।कोरियास्थित नेपाल दूतावाससँगको रिस आफैभित्र राख्नुको विकल्प थिएन।
बागबजार र पुतलीसडकमा घरै नबिराइ रहेका कन्सलटेन्सी सम्झिएँ। बिरक्त लाग्यो।
रामेछाप घर बताउने ती भाइ भन्दै थिए- उपाय केही छैन, ११ लाख तिरेर आएको बिजोग भयो। काम पाइँदैन पाए पनि गर्न मिल्दैन, हिजोआज त इमिग्रेसनले झनै टाइट गरेको छ।
त्यतिकैमा सँगै रहेका एक मित्रले ती भाइलाई कोरियाको अर्को दृष्टान्त बताए।कोरियामा मास्टर्स र विद्यावारिधि गर्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाउँछन्।
कोरियामा बस्न र खान एउटा सामान्य कोरियन नागरिकसरह दिइने त्यस्तो छात्रवृत्तिले विद्यार्थीलाई थप काम गर्नुपर्ने बाध्यता हुँदैन। त्यसले ती विद्यार्थी बाहिरी काममा भन्दा पढाईमा केन्द्रित हुन सक्छन्।
भाइ तीन छ्क खाए। बोल्न सकेनन् ।
तर, नेपालका अधिकांश युवालाई नेपालका कन्सल्ट्यन्सीले बिदेश भनेको पढाईभन्दा पनि पैसा कमाउने थलो भनेर बुझाएका छन्। तिनलाई बिदेश आएर आफू के पढ्दैछु भन्ने ज्ञान छ न त विदेशको दैनिकी।
साथीले पुनः सोधे- ‘अनि भाइ कोरिया नै किन तिम्रो रोजाइमा पर्यो?
अपेक्षित उत्तर आयो।अस्ट्रेलियाको भिसा लागेन अनि कन्सन्ट्यासीले यता राम्रो हुन्छ भनेर पठायो।
हामीले केही जानकारी लियौं। केही नाम चलेकै कन्सल्टेन्सी कोरियामा रहेका केही ठूला र केही गुमनाम सँगै मिलेर गुपचुप धन्धा चलाइरहेका रहेछन्।
बेजानकार नेपाली मगजमा वैदेशिक अध्ययनको भूत चढाएर भिसा ग्यारेन्टेड भन्दै काटेको केकको स्वादमा बेजोड आनन्द लिन सक्रिय जमात सम्झी आजित लाग्यो।
कुरा चल्दै थियो, एक जनाले भने- 'छोटो समयमा अरूको देशको भाषा परीक्षा (ईपीएस) मा अति उच्च अंक लिएर पास भई आएका श्रमिकको क्षमतालाई साच्चै मान्नुपर्छ।'
अर्का साथी थप्दै थिए- 'नेपालको लोक सेवा बराबरको परीक्षा हुन्छ।'
मेरो चाहीि बहसमा छैन यो भाषा परीक्षा पास गरेर आउँनु ।कमाइ नि धेरै राम्रो छ।सबैभन्दा राम्रो कुरा देशमै केही गर्नुपर्छ भन्ने माइन्ड मेकअप बोकेक युवा निकै धेरै छन्।
यसलाई देशसँग जोड्न हामीले मध्ममार्ग बाटो बनाउने र राज्यले सही गोरेटो कोरिदिने हो भने इपीएस श्रमिकको पूँजी र विद्यार्थीको रिसर्च जोडिदाँ कोरियामा रहेका प्रवासी नेपालीको देश विकासमा योगदान पुग्न सक्नेछ।
कोरियामै बृक्स इन्भेस्टमेन्ट कम्पनी नाम दिएर डा.देवी बस्नेतको टिम आज पाल्पामा बाख्रापालन गरिरहेको छ।
कोरियाबाट फर्किएका प्रो डा बस्नतेले नेतृत्व गरिरहेको उक्त फार्ममा इपिएस श्रमिकको समेत लगानी छ।
पाल्पाको माटो र मौसम बाख्रा पालनको लागि देशकै उपयुक्त रहेको बताउँदै डा. बस्नेतले च्याउखेती र माछापालन गर्ने योजना बताउँदा देशमा गर्नसके अथाह सम्भावना रहेको पुष्टी हुन्छ। तर यति मात्रले पर्याप्त छैन।ठूलो संख्यामा यी र यस्ता क्षेत्रमा लगानी गर्नु आवश्यक छ।
इपिएस शाखा ग्वार्को अनुसार,वार्षिक पाँचदेखि सात हजारसम्म सबल र समृद्ध नेपाली कोरियामा विद्यार्थी वा इपिएस प्रणालीबाट स्वतः रिटायर्ड हुन्छन्।
जसलाई देश विकासको नयाँ ब्रान्ड मान्न सकिन्छ।देश दुनियाँ बुझी कामलाई सम्मान गर्दै आफूलाई मेहेनत साथ काम गर्न सक्छु भन्ने दरिलो आत्माविश्वास बोकेर फर्किने इपिएस मजदुरसँगै आफूलाई आफ्नो विषयमा दक्ष बनाइ फर्केकाको संख्यामा लगभग एक-एकसय डाक्टर, इन्जिनियर शिक्षक, अर्थशास्त्री, एमबीए र पाँचहजार इपिएसबाट ज्ञान लिएका व्यक्ति छन्। जो अहिलेको सेवाबाट उच्च रूपमा काम गरेका छन् र उत्कृष्ट सेवा दिन चाहन्छन्।सदुपयोग गर्न सके यसले देशको सिंगो अर्थतन्त्रमै दरिलो हिस्सा बोक्ने निश्चितप्रायः छ।
समृद्धि नेपालको परिकल्पना गर्ने यो सबल र सक्षम पेशेवर जनशक्ति, राष्ट्रको विद्यालय, प्रयोगशाला र उच्च शैक्षिक संस्थामा स्वयंसेवकका रूपमा पनि काम गर्न सक्छन्।
आजको मितिसम्म यस स्रोतलाई राज्यले सदुपयोग गर्नेबारे सोचेको छैन।न कुनै निजी कम्पनी नै यिनीहरूको उपभोग गर्न चाहन्छ।
विदेशी अनुभवले हाम्रो दृष्टिकोणमा नयाँ विचार र एउटै काम गर्ने विभिन्न तरिका ल्याउँछ।स्थानीय ज्ञान र विदेशी अनुभवको संयोजनमा अक्सर बहुमूल्य नयाँ विचार जन्मछ। साध्य र साधनको सही उपयोग राज्यलाई सबैतिर समृद्धिको बाटोमा लैजाने मुल आधार हो।
सरकार मात्र होइन, सम्भवतः निजी कम्पनीले समेत गोरेटो खोल्न सक्छन्।कोरिया मात्र नभई संसारभर छरिएर विदा मनाउन नेपाल आउने ठूलो नेपाली जमातले आफूले जानेको सिप सिकाउने हो भने व्यापक रूपमा नयाँ बौद्धिक प्रवृति सिर्जना गर्नेछ।
इपिएस पास भएर मजदुर भिसामा आएका नेपाली श्रमिकको महत्त्व कमै ठाउँमा हुने गर्छ। म स्वयम् श्रमिक भिसामा भएकोले बहसको आनन्द लिँदै थिएँ।
हामीप्रतिको यो आशालाई आफ्नो राष्ट्र विकाससँग जोडिने अवसरको रूपमा पाए यसलाई मलजल गर्ने भूमिकामा आफू चुक्दिनँ भन्ने अठोट लिएँ।
गफैगफमा आगामी दिनका लागि केही बाटा कोरिए। कोरियामा रहेका श्रमिक र विद्यार्थी एक-अर्काको परिपूरक रहेको र यसलाई ठोस आकार दिन आ-आफ्नो ठाउँबाट प्रयास गरौं भन्ने निष्कर्षमा पुग्दै आ-आफ्नो बाटो लाग्यौं।
बिहान कोठा फर्कन लाग्दा टर्मिनलमा पूर्ण भाइसँग भेट भयो। कफी खान आग्रह गरेँ भाइले।अस्वस्थ शरीर रहेको बताउँदै अस्वीकार गरे। तातो हनि जुस लिएर केहीबेर सँगै बस्यौं।
केही पारिवारिक कुरा भयो। केही जोशिला कुराले आत्मबल बढाउँने प्रयास गरेँ।आफ्नो सोही दिन रातको ड्यूटी रहेको भाइलाई बताउँदा भाइ छ्क्क पर्दै गाह्रो हुन्न दाइ भन्दै थिए।
नेपालीत्व झल्कियो । भूकम्पताका घर नहुँदासम्म बूढीआमाले विदेशी नागरिकलाई केही खाएर जानू भनेको तस्बिरको याद आयो।
रंगिन शहरभित्र लुकेका आ-आफ्ना कालो कथा छन्।बाध्यता र विवसतामा जेलिएर विभिन्न बहानामा परदेसिएका युवाले चरम दुःख र केही सुख दुवै भोगेका छन्। तथापि देश छोडेपछि अन्य जे जे भए पनि सबैको अन्तिम लक्ष्य छिटोभन्दा छिटो देश फर्कने र परिवारमा सामाजिक जीवन जिउँने नै हुन्छ।
इपिएस श्रमिकबारे धेरै कलम चलिसकेका छ्न्।यति मात्र भन्छु- एकाधबाहेक नेपाली युवा दक्षिण कोरियामा संसारको सबैभन्दा राम्रो मजदूरी गरिरहेको छ्न्।
समस्या पछिल्लो समय दक्षिण कोरियामा आउने विद्यार्थीमा बढ्दो छ।वैदेशिक अध्ययनको नाममा ठूलो रकम लिने मात्र होइन, नेपाल सरकार र कन्सल्टेन्सीलगायतका सरोकारवाला सबै निकायले उचित परामर्श दिएर नेपाली युवालाई सही बाटो देखाउँन जरूरी छ। अनि मात्र आजको कर्मशील युवाले आफ्नो व्यक्तिगत जीवन सुधार्दै मुलुकको समृद्धिमा टेवा पुर्याउन सक्छन्।
खैर, विद्यार्थी जीवनमा अनेकौं समस्या झेल्दै दक्षता हासिल गरेका विज्ञ र छोटै समयमा राम्रो कमाइ गरेका इपिएसका साथीहरू मात्र मिल्ने हो भने पनि देशको आमूल परिवर्तन र दिगो विकासमा योगदान गर्दै आफ्नै माटोमा राम्रो जीवन जिउँन सकिन्छ।