जनयुद्वका नाममा चलेको हिंसात्मक द्वन्द्व रोकिएको पनि दुई दशक नाघेछ। तर, द्वन्द्वको असर यत्रतत्र छरिएको छ।
हाल अमेरिका भ्रमणमा रहेका जनयुद्वकै नाइके पुष्पकमल दाहाल प्रचण्डप्रति सामाजिक सञ्जालमा खनिएको आक्रोश पनि त्यही द्वन्द्वको अवशेष हो। यो त्यही द्वन्द्वको असर सात समुद्र पारि पुगेको प्रमाण हो।
असरको दृश्य यस्तो बनिसक्यो कि, पीडितपक्षको पीडा र आक्रोशले पत्नीको उपचारको क्रममा रहेका प्रचण्डविरूद्ध मानवीय समवेदनाको सीमा पनि नाघिसकेको छ।
हाल अमेरिका निवासी तिलक श्रेष्ठले प्रचण्डलाई पक्राउ गर्न मेरिल्याण्डस्थित अनुसन्धान व्यूरो, एफविआईमा निवेदन दिएपछि द्वन्द्वको खाटा लागिसकेको पुरानो घाउ बल्झिन थालेको छ।
द्वन्द्वमा मारिएका १७ हजारले भोगेको त्यो घाउ पुनः दुख्न थालेको छ। अमेरिकामा मात्र होइन, विश्वका धेरै ठाउँमा द्वन्द्वमा परेका व्यक्तिसँगै त्यो पीडा पुगेको छ। नेपालमै बाँचिरहेकासँग त त्यो पीडा छँदैछ।
त्यही द्वन्द्वको विषयमा मैले दशक पहिले एउटा वृत्तचित्र बनाएको थिएँ- 'नओभाएका ऑखा' अर्थात Tears of War। न्युयोर्क फ़िल्म फेष्टिभलमा अन्तर्र्राष्ट्रिय प्रतिस्पर्धामा छानिएर पुरस्कृतसम़त भएको थियो। मैले त्यो वृतचित्रमार्फत विदेशी समुदायलाई द्वन्द्वको बारेमा जानकारी गराएको थिएँ।
नेपालको द्वन्द्वको पीडाबारे सबैले बुझ्न पाओस् र सत्यनिरूपणका क्रियाकलापमा सवैको सहयोग होस् भनेर सन्देश बाँडिएको थियो। तर, हालसम्म समस्याको निरूपण नभएको पछिल्लो घटना बन्यो- प्रचण्डको यसपटकको अमेरिका भ्रमण।
यसअघि केही महिनापहिले नीजी भ्रमणमा यहाँ आइपटगेका प्रचण्डकै तत्कालीन सहकर्मी डा. बाबुराम भट्टराईसँग द्वन्द्वको हिंसामा मारिएका १७ हजारको हत्याराको आरोप लगाउँदै आक्रोश पोखिएको थियो। यसपटक यसैगरी प्रचण्डमा खनिएको छ- एउटा पक्ष।
उनीहरूले सञ्चालन गरेको द्वन्द्वको विषयमा तयार गरिएको वृत्तचित्रले समेटेको एउटा दृश्य जसलाई संसारले चिन्छ। जसलाई संसारले नचिने पनि संसारभर पुगेका नेपालीले चिन्छन्।
पेशाले शिक्षक रहेका उनलाई रूखमा बाँधेर हत्या गरिएको छ। हो त्यही मुक्तिनाथ अधिकारीको दृश्यले शुरूमै मुटु नै चिसो बनायो। कक्षाकोठाबाट कुरा गर्नुछ भनेर पर लगेर त्यसरी हत्या गरिएको घटनाको विवरण छ।
वृत्तचित्र बनाउने क्रममा घटनास्थल पुगेका थियौं। मुक्तिनाथले पढाउने गरेको स्कुल मसानघाटजस्तै महसुस भयो। उनका सहपाठीसँग कुरा गरेर हामी फर्केका थियौं।
घरमा पुग्दा उनको परिवार त्यहाँ थिएन। घर घाँस र झारपातले पुरिएको जस्तो देखियो। पछि थाहा भयो, उनको परिवार काठमाडौं सरिसकेको रहेछ।
काठमाडौमा सरेको मुक्तिनाथको परिवारसँग भेट भयो। विधवा बनेकी उनकी जीवनसंगिनी र जेठो छोरा सुमनसँग भेट भयो।
भिडियोमा केही कुरा रेकर्ड गर्ने कोसिस गर्यौं तर, परिवार विक्षिप्त थियो पीडाले। नहोस् पनि कसरी? धेरैपछिको प्रयासमा मुक्तिनाथकी जीवनसंगीनि रुक्मणीले भनिन्-‘मेरो श्रीमानलाई मार्नेको सर्वनाश होस्। सवै माओवादी नमासिन्जेल मलाई शान्ति हुदैन।’
मुख्य मुख्य घटनालाई छानेर तयार गरिएको सोही वृत्तचित्रले समेटेको अर्को घटनाको दृश्यले पनि मनमा कम्पन उत्पन्न गराउँछ।
फरक राजनीतिक विचार बोकेका रूकुम खोलागाउँ निवासी गाविस अध्यक्ष गोपाल शर्मालाई निर्घात कुटेर ढलेपछि आँखामा तेजाव हालेर छोडिदिएका थिए माओवादीले। उनले दुवै आँखा गुमाए।
त्यसपछि घर छोडेर नेपालगंञ्ज विस्तापित भएका शर्माको परिवार द्वन्द्वको असर भोग्नेमध्येको अर्को परिवार हो। वृत्तचित्रमा माओवादीको द्वन्द्वले हिंसात्मक रूप लिँदा गोरखाका ११ वर्षीय दिलबरादुर रम्तेलले स्कुलबाट घर फर्किदै गर्दा ज्यान गुमाउनुपरेको दृश्य पनि कैद छ। जुन घटनालाई माओवादीले अर्को हतियार बनाउँदै मृतक रम्तेललाई पहिलो शहिद घोषणा गरेको थियो।
द्वन्द्वको क्रममा चितवन माडीमा भएको बस दुर्घटनामात्र होईन माओवादीको उदगमस्थल मानिने रूकुमको खारा घटनाले पनि निकै बल्झाउँछ।
राज्यका सुरक्षाकर्मीले आफ्नो एक सहकर्मी गुमाउँदा माओवादीको आरोपमा सर्वसाधारणका ८०वटा घरमा आगो लगाएको थियो। १५ जना परिवार र आफन्तलाई लाइन लगाएर गोली ठोकेको घटनाबाट विक्षिप्त वली हामीमाझ पीडा आक्रोश पोख्दै थिइन् -‘जसरी आफ्नो मान्छेलाई मारिएको छ त्यसैगरी हत्याराको हत्या गर्न पाउँ।’
द्वन्द्वको पीडा संम्झाउने यो वृत्तचित्रमा समेटिएका पात्रलाई मैले नभेटेकै दशक नाघिसकेको छ। उनीहरू कस्तो अवस्थामा होलान्? पुनः भेट्ने मौका नमिलुञ्जेल मसँग उत्तर छैन। तर, बेलाबेलामा कुनै परिस्थितिमा बल्झिराख्ने द्वन्द्वको घाउले मलाई पनि तान्ने गरेको छ।
स्वयं मैले प्रत्यक्ष पीडा नभोगे पनि वृत्तचित्रकै पात्रले भोगेको द्वन्द्वको उपल्लो पीडा मैले महसुस गरेको छु। माओवादीको उद्गमस्थल भनेर चिनिएको रूकुममा चरम द्वन्द्वकालमा पत्रकार भएर काम गरेको र प्रत्यक्ष देखेका हिंसाका आला घाउको असरको महसुस मैले पनि गरेको छु।
द्वन्द्वको हिंसामा परेका व्यक्तिहरूले मात्र होईन स्वयं द्वन्द्वको नेतृत्व गरेका प्रचण्डले दुई दशकपछि असर व्यहोरिरहेका छन्।
मानवीय समवेदनालाई नाघेर जनयुद्वका नाममा गरिएका हिंसाजन्य अपराधकै कारण तत्कालीन माओवादीको नेतृत्व प्रचण्ड आजसम्म असरमुक्त छैनन्। केही समयअघि हृदयघातबाट मृत्यु भएका प्रचण्डको एक मात्र छोरा गुमाउँदा पनि द्वन्द्वमा पीडा भोगेको एउटा पक्ष समवेदनाको सट्टा सरापिरहेको देखियो।
अहिले श्रीमतीको उपचारमा हिँडेका प्रचण्डप्रति द्वन्द्वमा परेको पक्षको मानवीय समवेदनामा फर्कन सकेको छैन। त्यही द्वन्द्वकालका मानवीय समवेदना नाघेर गरेको माओवादी हिंसाको पीडा भोग्नुको कारण र त्यसको असर अहिले बल्झिएको हो।
त्यसो त स्वयं प्रचण्ड प्रधानमन्त्री बन्ने अवसर पाएका थिए। द्वन्द्वलाई बिर्साउने कर्ममा लागेको स्वयं कार्यकर्ताले महसुस गर्न सकेनन्।
विस्तारै आफ्नै सहकर्मीमध्ये केही फुटेर द्वन्द्वमा फर्किएका छन्। लडाकु समायोजनका नाममा छुट्याएको रकमको कमिशनमा मुछिए। र विस्तारै विलासितातर्फ उन्मुख भएपछि द्वन्द्वमा बाँडेको सपना साकारतर्फ भन्दा द्वन्द्व बल्झिरहने वातावरण बन्दै गयो।
सत्यनिरूपण संकटमा पर्दै गयो। उनीमात्र होईन त्यसको केही समयमा माओवादीकै नेतृत्व डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने। जनयुद्वको दर्शन र जनतालाई बाँडेको आश्वासन अनुसार काम हुन सकेन।
स्वयं जनयुद्व लडेका सन्तुष्ट हुन सकेनन्। द्वन्द्व रोकिएको दुई दशक नाघिसके पनि घाउ बल्झिरहने परिस्थिति छ। पछिल्लोपटक तत्कालीन माओवादीकै शीर्षनेता पूर्वप्रम डा. बाबुराम भट्टराई पारिवारिक भ्रमणमा आउँदा द्वन्द्वमा मारिएका १७ हजारको हत्या गरेको आरोपमा एउटा पक्ष आक्रोशमा उत्रियो।
अमेरिकाका विभिन्न सहरमा नेपालीलाई भेटघाट गर्ने क्रममा टेक्सासमा विरोधीहरूको हत्याराको आरोप खेप्नुपर्यो।
विदेशिनेसँगै द्वन्द्व बाहिरिएको छ। किनकि, विदेशिएको एउटा पक्ष हिंशा-द्वन्द्वको प्रत्यक्ष/अप्रत्यक्ष मारमा परेको छ जसलाई समेत विर्साउन सकिएको छैन।
तिलक शेष्ठको प्रचण्डलाई पक्राउ गरिदिन गरेको उजुरी पनि द्वन्द्वको असरको पछिल्लो अवशेष बन्यो। प्रचण्ड प्रकाउ पर्ने कुरा सम्भव/असम्भवभन्दा पनि द्वन्द्वको पीडा जहाँको त्यही छ भन्ने हो।
विगतमा आतंककारीको सूचीमा रहे पनि त्यसबाट हटाइसकेको अमेरिकाले त्यसमा पनि पूर्वप्रधानमन्त्री भैसकेको र सत्तापक्षको शीर्ष व्यक्तिलाई प्राविधिक कारणले पक्राउ गर्न सम्भव कति होला!
त्यसमा पनि प्रवेशाज्ञा मिलाएर आएकालाई अमेरिकाले पक्रनेभन्दा पनि नेपालमा द्वन्द्वको निरूपण नभएको कुरा बुझ्ने र बुझाउने आकांक्षी सन्देशको रूपमा यसलाई लिने कि?
(पत्रकार भोला आचार्य वृत्तचित्रका निर्देशक हुन्।)