घरको कामलाई प्रमुख मान्ने आमाको आजभोलि सदरमुकाम आउजाउ खुब चलेको छ। यसपालीको असार/साउनको रोपाईँ र कात्तिक/मंसिरको डल्ला फोराईमा उहाँ गएल हुनुभयो। खेतबारीसँग भेटघाट नभएको पनि महिनौं पुगिसकेको छ।
आमाको अनुपस्थिति जंगलका चरामुसा अनि गाउँलेका गाई बाख्रालाई दशैं बन्यो। उनीहरूका लागि आएको दशैंले हाम्रो खुसी लुटेर लग्यो। आमाको सम्भार बिनाका बालीनाली लामो समयसम्मको रोगले थला परेको बिरामी जस्ता छन्। घर अस्तव्यस्त छ।
आमाले औषधि निल्दा पिउने गरेका पानीका हरेक घुट्कामा आँसुका थोपा घोलिएका छन्। दुःखका सुस्केरामा नछटपटिएको क्षण छैन।
छोरीको पहिलो महिनावारी नहुँदै बिहे गरी पराई घर पठायो भने पुण्य कमाइन्छ भन्ने विश्वासले राज गरेको समयमा मावली तिरको हजुरआमाको विवाह दश वर्षमा भयो। हजुरआमा पहिलो महिनावारी हुँनै नपाई आमा जन्मिनु भएको हो।
कलिलो उमेरको प्रसव पीडा र अत्याधिक रक्तस्रावले आमालाई यो धर्तीमा आगमन गराएको केही छिनमै हजुर आमा सदाको लागि गमन हुनुभयो।
उक्त घटनाले मामा घरमा केही समय सन्नाटा छाएको थियो। तर, त्यो सन्नाटा धेरै बेर टिक्नै नपाइ गायब भयो। जन्मदै गाईको दुधको भरमा हुर्किएकी टुहुरी आमा १० वर्ष पुग्न हजुरआमा गुमाएका हजुरबालाई पुण्य कमाउने समय बनेपछि पहिलो महिनावारी नहुँदै आमाको पनि बिहे भयो।
महिनावारी भइसकेकी छोरीको बिहे गर्नु भनेको महापापको भारी बोक्नु हो भनि सम्झने समाजले दुई मध्ये एक सामर्थ्य जरूर राख्थ्यो। जो, कि त कालको मुखमा पुगाएर बली चढाउने कि त कलीलो उमेरमा नै ढाडले थेक्न नसक्ने जिम्मेवारीको भारी बोकाइ दिएर सँधैको लागि कमजोर बनाइ दिने।
हजुरआमालाई बली चढायो। आमालाई जिन्दगी भर कमजोर बनायो।
बुहारी भएर बुहारीले गर्नुपर्ने घरको काममा अभ्यस्त नभएकी आमालाई बिहे भएको केही समय मात्र भएको थियो घरबाट अलग गराइयो।
सम्पत्तिको नाममा जंगलको पुछारमा रहेको एक टुक्रा पाखो र खोला किनारमा रहेको एक टुक्रा खेतसहितको गोठ भाग पर्यो। जमिन जस्तोसुकै भए पनि आमाको पाईला परेपछि उसको स्वरूप बदलिएको थियो।
तल खोला, माथि जंगल छिमेकी नभएको ठाउँको बासोबास आमाको लागि सबै अपरिचित थिए।
परिचित भनिएका बाउ धेरैजसो समय उनका बाआमा बस्ने गाउँको घरमा दिन कटाउँथे र साँझको खाना खाने समयमा घर पुग्थे। बिहान साँझको भान्सा र दिनभरको मेलापात गर्नु आमाको दैनिकी बन्यो। बाउको लागि खेतबारी जोत्नु मात्र पुरूषले गर्ने काम हो भन्ने भयो।
आमाको लागि मेलापात गर्दाको साथी कोही भएन। आमालाई उही जंगल साथी भयो। उही जंगल उपभोगको बस्तु बन्यो।
खेतबारी जोत्ने सिजनबाहेक घर नबस्ने बानीले बाउको उठबस आमाभन्दा बढी भट्टीसँग हुन थाल्यो।
आमाभन्दा भट्टीसँग बढी परिचित बनेका बाउको बेवास्तामै आमाले हामीलाई हुर्काउनुभयो।
दिनभरको मेलापात र साँझमा हस्याङफस्याङ गर्दै आमाले पकाएको खाना हामीले खान नपाउँदै बाउ रक्सीको घोडामा सवार भएर सिधै भान्सामा ठोकिन्थे। बाउको त्यो रूप देखेपछि हामी मात्र कहाँ होर भान्साका भाँडाकुडा पनि थरर काप्न थाल्थे।
रक्सीको तालमा खाना खाँदै आमालाई तथानाम गाली गरिरहेका बाउ देखेर डराएका हामीलाई आमाले छातिमा टाँसेर राख्नुहुन्थ्यो।
आमाले केही बोल्नै नहुने। बोल्यो की झम्टीहाल्ने। बाउको त्यो झम्टाइले तितरवितर भएका हामी भाइबहिनीहरू बुबा र आमाको झगडा पल्लो कोठाको झ्यालबाट सुन्दा सुन्दै निदाउँथ्यौं। जब बिहान हुन्थ्यो हामी आमाको नजिक पुग्थ्यौं।
बिहानी घामको चम्कीलो किरणमा पनि आमाको अनुहार भने चर्को खडेरीले खाएको मकैको पात जस्तो ओइलाएको देखिन्थ्यो।
सँधै जसो निराश र ओइलिएको अनुहार लगाइरहने आमालाई एक दिन सोधेको थिएँ, ‘बाउको कुटाइले हजुरलाई कत्ति दुख्छ है? हामी यहाँबाट भागेर कतै टाढै जाउ न? बुबाले खोज्दानि कहिल्लै नभेट्ने ठाउँमा।’
आमाले भन्नुभएको थियो, ‘कहाँ जाऊ छोरी? तेरो बाउले दुखाएको भारी शरीर लिएर। हामीले पो तेरो बाउ भागेर गयो भने भेट्न नसकौंला तर तेरो बाउ त हामी जहाँ गए नी भेटाइहाल्छ छोरी।’
'हामीलाई नि माया गर्नुहुन्न, हजुरलाई नि कुटिरहनुहुन्छ नि बुबाले फेरि पनि?'
'के गरौं छोरी! तिमीहरु मायाले जन्माइएका भए पो त माया पाउथ्यौं। तिमीहरू त बुबाआमाको प्रेमिल मायामा हुने सम्भोगले कहाँहोर? जाँडको मातले राक्षसी रूप धारण गरेर तेरो बाउले मलाई जबरजस्ती बलत्कार गरेपछि जन्मिएका हौं।'
त्यो दिन आमाले भनेको प्रेमिल माया के हो? केही बुझिनँ। बलत्कार के हो त्यो पनि बुझिनँ। बस् यत्ति बुझे बाउले हाम्लाई माया गर्दैनन्।
त्यसपछिका सबै दिनहरु हाम्रा लागि बसन्त ऋतुको आगमन पूर्वका उराठिला दिन जस्ता भए। नदी जंगको छेउ किनारमा हुँर्किएका हामी पढ्नु लेख्नु भनेको के हो? थाहा नभएका हामीलाई आमाको छोराछोरी पढेको हेर्ने सपनाले गाउँको स्कुलमा पुगायो। भाइ सानै थियो म र बहिनी सात आठमा पढ्थ्यौं दिदी दशमा पढ्थि।
बाउ घर नआएको ६ महिना जति भएको थियो।
एक दिन गाउँका काका, काकी, हजुर बा, हजुर आमा सबै जम्मा भएर दिदीको बारेमा कचहरी बस्यो। ठूल्ठूलो स्वरमा काका काकीले आमातिर हेरेर भनिरहेका थिए ‘यसलाई कस्ले दुई जिउकी बनायो? छुई हुने उमेर भएपछि ख्याल गरेर हिड्न पर्दैन? जगंलमा बस्ने, छोरीलाई छाडा छोड्ने? आमाले ख्याल गर्नुपर्दैन?’ उनीहरुका प्रश्नले आमालाई पुरै दोषि बनाइरहेका थिए।
दिदी भने सबैको बीचमा मलिन अनुहार लगाएर बसेकी छ। त्यहाँ भएका सबैले एक एक गर्दै प्रश्न सोधेका छन्।
'भन कस्ले गर्यो यस्तो?' 'थाहा छैन।'
'किन थाहाँ छैन ?' 'मुखमा टाला बाँधेका थिए।'
'कहाँ यस्तो गरेको?' 'स्कुलबाट घर आउँदा माथि जगंलमा।'
'हामीलाई किन भनिनस्?' 'कसैलाई भनिस् भने मार्दिन्छौं भनेका छन्।'
‘हैट! अब कसरी पत्ता लगाउनु। यस्ता कुहिएकालाई घरमा राख्नहुन्न! घरबाट आज नै निकाल्नुपर्छ,’ काकाले भने,'म इन्डीयाको धार्चुलामा काम गर्दा बैतडी तिरको उमेर ढल्केको मेरो साथी छ, उसैको लगाइ दिनपर्छ।'
त्यसमा सबैले सहमति जनाए। उनीहरुको कुरामा आमाले असहमति राख्नुभएन। दिदीलाई नि केही भन्न सक्नुभएन। निर्णय उनीहरुले भनेको भयो।
घरदेखि जंगलको बाटो भएर स्कुलसम्म पुग्दै गर्दा आफ्नो इज्जत जोगाउन नसक्ने मेरी दिदी अब सन्तानको इज्जत जोगाइदिन नचिनेको मान्छेको हुन नामै नसुनेको नेपाल पारी जादै थिई।
काकाले घरको आँगनबाट तानेर लिँदै गर्दा दिदीको अनुहार आकाशबाट जमिनमा खस्दा जस्तो कालो निलो थियो। पैताला तीस धार्नीको फलाम जस्ता गह्रौका देखिन्थे। फोहोरको डंगुरमा सुतेर सफा देखिन खोज्ने समाजले न आमालाई खुसी दियो न दिदीलाई नै।
दिदी र आमाले आँसुको नदी बगाए। त्यो आँसुले नै दिदीलाई घरबाट बगाएर धार्चुला पुर्यायो।
यता आमा भने 'जे हुन्छ मै अभागीनीलाई हुन्छ। न गतिलो घर पाएँ। न गतिलो लोग्ने पाएँ। मेरो भन्नु कोही छैन। म मेरो लोग्नेबाट त बच्न सकेकी छैन। त्यो कसरी बच्न सक्छे? तेरो बाउ जस्तै अरु राक्षसहरु पनि त यो समाजले जन्माएको छ नी!' छोरी मान्छे जहाँ गए पनि कालकै मुखमा त हो भन्दै छोरी हुँदाको हिनताबोधले फतफताइ रहनुभएको थियो।
घरबाट बाउ निस्किँदा हाइसन्चो मानेकी आमा दिदीको हृदयविदारक विछोडले पिरको सागरमा डुबिरहनु भएको थियो।
काका दिदीलाई धार्चुला पुर्याएर घर फर्किएको पन्ध्र दिन पुगेको थिएन। दिदी बेपत्ता भएको खबर आयो। त्यसपछि आमाको लागि रात त रात थियो, दिन पनि रातमै परिणत भयो।
वैशाख महिना, उखरमाउलो गर्मीले साँझपख हावा फिटिक्कै चलेको थिएन। म खाना पकाउँदै थिएँ। आमालाई चक्कर लागेर आमा आँगनमा पल्टीरहँनु भएको थियो। भाइ बहिनी पनि आँगनमा खेलिरहेका थिए। महिनानौंदेखि घर नआएका बाउ रक्सीको मातमा उम्लिदै घर आए। आमालाई झम्टीए।
बाउको डरले पहिले झैं हामी पल्लो झ्यालबाट झगडा सुनेर बसिरहेका थियौं। आमा एकदम ठूलो स्वरले चिच्चाउनुभयो। हतार हतार भझ्यालबाट पुरै टाउको पसाएर आमालाई हेरेको आमाको योनी भित्र त फलामको ढुङ्ग्रो घुसाइएको थियो। आमा मरेको मान्छे जस्तो उत्तानो पल्टीनु भएको थियो। बाउ नबुझीने आवाजमा आमालाई गाली गर्दै फतफताइ रहेका थिए।
त्यस्तो हबिगतमा आमालाई देखेपछि न हामी आमाको नजिक जान सक्यौं। न रात भर सुत्न सक्यौं। त्यो रातभर हामीलाई डरको पहाडले थिचेर गयो। बिहानै पारी गाउँकी काकी घट्ट झरेको देखेर दौडेर काकी नजिक पुगे र आमाको अवस्था भने। उहाँ र म आमाको नजिक पुँग्दा बाउ कतै थिएनन्। भाइ बैनीले बाउलाई नदेखे पछि आमाको नजिक बसेर आमाको हात समाएर रोइरहेका थिए। मलाई नि आमा जिउँदो हुनुहुन्न भन्ने लागेर भाइ बैनिलाई अंगालो मारेर बेस्मारी रोएँ।
काकीले आमाको नाडी छामेर आमा जिउँदै भएको कुरा बताउनुभयो। आमा जिउँदै भएको कुराले 'आमालाई बचाइदिनुस् काकी! हाम्रो कोही छैन, बाउ देखेपछि हामीलाई वनको बाघ देखे जस्तो लाग्छ भनेर खुट्टा समाएर विन्ती बिसाए काकीले म सकेको गरौंला नानी नरोउ भन्दै ढाडस दिनुभयो।
आमालाई बचाउन सकिन्छ कि भन्ने लागेर रून छाडेर भाइबैनीलाई भुलाए। काकीले ढीला नगरी आमालाई बाक्नु भो। मैले पानीको बोतल बोकेँ। चार घण्टाको बाटो हिँडेर हेल्थपोष्टमा पुगायौं। उसले हामी सक्दैनौं बाहिर लैजानुस् भन्यो। बाहिर कहाँ हो थाहा छैन। चिनेकी काकीबाहेक कोही छैन।
आमालाइ बचाउने भनेर जंगलको छेउमा भाइबैनी छोडेर आएँ। 'लौ न काकी अघि हजुर सकेको गरौला भन्नुहुन्थ्यो त' भन्दै रून थालेपछि आमालाई जिल्ला हस्पीटल पठायो। बिरामीको आफन्त नभइ उपचार नगर्ने भएपछि एउटा संस्थाको जमानतमा हस्पीटलले उपचार गर्यो।
आमा बोल्ने भएपछि पत्रकारको सहायताले बाउ पक्राउ परे। सबै प्रमाणले दोषि देखिएको बाउ हिरासतमा छन्। घटना बाहिर आएपछि उपचार खर्च गाउँपालिकाले तिर्ने जिम्मा लिएरको हो। तर, अहिले तिर्न मानिरहेको छैन।
गाउँका काकाहरु, गाउँपालिका जनप्रतितिधि सबै लागेर बाउलाई छुटाउन लागिपरेका छन्। आमालाई फकाउने र दबाब दिनेको ओइरो छ। आमा निरूत्तरित हुनुहुन्छ।
बेसहारा आमालाई साहाराको लोभ देखाइरहेका छन्। आमालाई किन्चित विश्वास छैन। हुन त आमाले उपचारको क्रममा सहयोग गर्नेहरुलाई भन्नुभएकै हो सके यतै काम दिनुस् झाडु लगाएर पनि खान्छु। तर, घर जान्न। त्यसबेला कसैले मानेनन्। घर जानुपर्यो।
ऊ बेला कहिले नजिक नआएका र नजिकैका नचिनेझैं गर्नेहरु आज आफन्त हुँ जस्तै गरि फकाउन आउँछन्। बाँकि जिन्दगीको पुरै भार आफैं थामिदिन्छु भनेझैं गरि आश देखाउँछन्।
आमालाई भन्न मन लागेको छ 'मेरा सारा दुःखका साक्षी बनेका तिमीहरु कहाँ गएका थियौं? जुनबेला मेरो सासले तिमीहरुकै आश मानेको थियो,’ तर आमाको बोली फुट्दैन। आमा केवल दबाबमा हुनुहुन्छ।
(पीडित युवतीसँगको कुराकानीमा आधारीत। हाल पीडित र बच्चा काठमाडौमा छन)